काठमाडौँ ०४ साउन २०८३
लुम्बिनी विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सुमन आचार्यलाई दिएको छ। सञ्चालक समितिको निर्णयअनुसार नियुक्त भएका आचार्यले शुक्रबारदेखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका हुन्।
बैंकिङ, व्यापार विकास तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका आचार्यले अब बैंकको समग्र रणनीतिक नेतृत्व गर्नेछन्। बैंकले उनको अनुभव र नेतृत्व क्षमताले संस्थागत सुशासनलाई थप सुदृढ बनाउनुका साथै व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ।
पदभार ग्रहणपछि आचार्यले ग्राहक–केन्द्रित सेवा, प्रविधिमैत्री बैंकिङ तथा दीर्घकालीन व्यावसायिक लक्ष्यलाई प्राथमिकतामा राख्दै बैंकलाई थप प्रतिस्पर्धी र विश्वासिलो संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले शेयरधनी, निक्षेपकर्ता, कर्मचारी तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै बैंकको दिगो विकासमा केन्द्रित भएर काम गर्ने बताए।
बैंकले नयाँ नेतृत्वसँगै सेवा प्रवाहलाई अझ प्रभावकारी, छरितो र प्रविधिमैत्री बनाउने रणनीतिलाई अघि बढाउने जनाएको छ। ‘निरन्तर सहयात्रा’ भन्ने नारासहित सञ्चालनमा रहेको बैंकले आधुनिक बैंकिङ सेवामार्फत ग्राहकलाई सुरक्षित र सहज सेवा प्रदान गर्दै आएको छ।
हाल लुम्बिनी विकास बैंकले देशभर सातै प्रदेशमा फैलिएका ८९ शाखा कार्यालय तथा एक विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा उपलब्ध गराइरहेको छ।











तपाईको प्रतिक्रिया