लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५ प्रतिशत माथि, लाभासं क्षमता कमजोर

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

काठमाडौँ २९ बैशाख २०८३ ।

लक्ष्मी बैंक र सनराइज बैंकको मर्जरपछि बनेको लक्ष्मी सनराइज बैंक आकारका हिसाबले ठूलो बने पनि यसको वित्तीय स्वास्थ्य र जोखिम व्यवस्थापनप्रति प्रश्न उठ्न थालेका छन्। सिइओ अजय बिक्रम शाहको नेतृत्वमा बैंकले विस्तार र डिजिटलाइजेसनमा जोड दिएपनि कर्जाको गुणस्तर र लाभांश क्षमतामा देखिएको कमजोरीले समग्र प्रदर्शनलाई छायामा पारेको छ।

२०७५ मा अपेक्षाकृत सानो र व्यवस्थित रहेको लक्ष्मी बैंक, २०८० असारको मर्जरपछि ठूलो संरचनामा परिणत भयो। तर, दुई फरक कार्यसंस्कृति र प्रणाली एकीकृत गर्ने क्रममा देखिएका चुनौतीहरू अझै पूर्ण रूपमा समाधान हुन सकेका छैनन्। मर्जरको ‘सिनर्जी’ अपेक्षा अनुसार हासिल हुन नसकेको संकेत बैंकका वित्तीय सूचकांकले नै देखाउन थालेका छन्।

डिजिटल बैंकिङ र ‘ओरेन्ज माइन्डसेट’ जस्ता अवधारणालाई आक्रामक रूपमा अघि बढाए पनि त्यसले प्रत्यक्ष रूपमा वित्तीय गुणस्तर सुधार गर्न सकेको देखिँदैन। शाखा विस्तार, कर्जा प्रवाह र निक्षेप वृद्धिले बैंकको आकार बढाए पनि जोखिम व्यवस्थापन पक्ष भने कमजोर देखिएको छ।

बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि रहनु चिन्ताजनक अवस्था हो। यद्यपि केही घटेर ५.२९ प्रतिशतमा झरेको दाबी गरिए पनि यो अझै नियामक दृष्टिले उच्च जोखिमको संकेत हो। यसकै कारण बैंकले ‘इम्पेयरमेन्ट चार्ज’ बापत ३ अर्बभन्दा बढी रकम छुट्याउनु परेको छ, जसले नाफाको वास्तविक गुणस्तरलाई कमजोर बनाएको छ।

नाफा संख्यात्मक रूपमा बढेको देखिए पनि यसको गुणस्तरमा प्रश्न उठ्ने आधारहरू प्रशस्त छन्। खुद नाफा २ अर्ब नाघेको देखिए पनि वितरणयोग्य नाफा भने अत्यन्त न्यून—करिब ५१ करोड रुपैयाँमा सीमित छ। यसले लगानीकर्तालाई तत्काल आकर्षक लाभांश दिने बैंकको क्षमता निकै कमजोर रहेको स्पष्ट संकेत गर्छ।

त्यसैगरी, मर्जरपछि प्रारम्भिक चरणमा बढेको सञ्चालन खर्च र संरचनागत जटिलताले बैंकको दक्षतामा दबाब सिर्जना गरेको देखिन्छ। लागत घट्ने अपेक्षा गरिए पनि व्यवहारमा अझै त्यसको प्रभाव स्पष्ट रूपमा देखिएको छैन।

सिइओ शाहले ‘एग्रेसिभ ग्रोथ’ भन्दा स्थायित्वलाई प्राथमिकता दिएको भनिए पनि तथ्यांकहरूले भने बैंक अझै जोखिम र संरचनागत दबाबबाट मुक्त हुन नसकेको देखाउँछन्। ठूलो आकारमा पुगेको बैंक अब गुणस्तर, दक्षता र जोखिम नियन्त्रणमा सफल नहुने हो भने दीर्घकालमा थप चुनौतीको सामना गर्नुपर्ने अवस्था आउन सक्ने संकेत देखिन्छ।

समग्रमा, लक्ष्मी सनराइज बैंकको वर्तमान अवस्था ‘ठूलो तर दबाबमा रहेको’ संस्थाको रूपमा देखिएको छ—जहाँ विस्तार र मर्जरको उपलब्धिभन्दा पनि खराब कर्जा, कम वितरणयोग्य नाफा र उच्च जोखिमले भविष्यप्रति चिन्ता बढाएको छ। कतै यो सिइओ शाहको कमजोर कार्य सम्पादनको परिणाम त हैन ? बैंक सञ्चालक समितिले शाहको कार्यसम्पादनलाई लिएर सुक्ष्म मुल्यांकन गर्ने बेला भइसकेको छ ।

तपाईको प्रतिक्रिया

Advertisement