रिसव गौतम
२०८३, भदौ १० गते नेपालको उत्तरी छिमेकी देश चीनसँगको सीमावर्ती रसुवा जिल्ला भएर बग्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले अकल्पनीय क्षति गरेको छ। बाढीका कारण नेपालले अभूतपूर्व मानवीय तथा आर्थिक क्षति बेहोरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण हालसम्म (भदौ २०, २०८३ दिउँसो १२ बजेसम्म) १ हजार ३ सय ४४ जनाले ज्यान गुमाएको र ४ हजार ९ सय ९६ जना अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ। बेपत्ता हुनेमा ५ सय ८३ विदेशी नागरिकसमेत रहेको जनाइएको छ।
सरकारले यसबीच १३ हजार ९७ जनाको सकुशल उद्धार गरेको छ। खासगरी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार प्रयास सरकारले गरिरहेको छ। यसबीच जलविद्युत् आयोजनाबाट १० दिनपछि ४ जनाको सकुशल उद्धार गरेको छ। त्यसका लागि चीन, भारत, दक्षिण कोरियासहितका विभिन्न देशका विशेषज्ञ टोलीहरू लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली र रसुवागढी क्षेत्रका सुरुङमा परिचालित छन्।
यसरी कतिपय कमजोरीका बाबजुद सरकारले बाढीमा फसेका नागरिकहरूको उद्धार प्रयास भने यथेष्ट गरेको छ। देशमा स्रोत–साधन र दक्ष जनशक्तिको अभाव भए पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत फिल्डमा खटिएकाहरूको भूमिका अहम देखिन्छ। यति हुँदाहुँदै विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा तत्काल विदेशी जनशक्तिको सहायता गुहारेको भए केही उल्लेखनीय उद्धार हुन सक्थ्यो कि भन्ने प्रश्नहरू छन्। ती स्वाभाविक किन पनि हुन् भने आज घटनाको ११ दिनमा पनि सुरुङबाट दुई जनाको सकुशल उद्धार हुन सक्यो। जलविद्युत् आयोजनाका सुरुङमा अझै सयौँ मानिस फसेका छन् भन्ने समाचार छ। त्यसकारण सरकारले उद्धारलाई अझ द्रुततर बनाओस्।
पछिल्ला वर्षहरूमा नेपालले लगातार विपद्का कहालीलाग्दा घटनाहरू बेहोर्दै आएको छ। कहिले भूकम्प त कहिले कोरोना महामारी, कहिले पहिरो त कहिले रोगजन्य प्रकोप। गत एक वर्षयता त झन् देशले जेनजी आन्दोलन भोग्यो, जसले राजनीतिक परिवर्तन त दियो तर ठूलो आर्थिक क्षति देशले भोग्नुपर्यो। र, अहिले जेनजी आन्दोलनको कहालीलाग्दो घटना घटेको एक वर्ष नबित्दै देशले विश्व इतिहासमै दुर्लभझैँ लाग्ने हिमनदी विस्फोट भएर आएको बाढीको विनाश भोगेको छ। जसले नेपाल आमाका सयौँ सन्ततीहरू चुडेर लगेको छ, हजारौँ बेपत्ता छन्, पुरै देश आँसुले भिजेको छ। यस घटनाले नेपाल मात्र नभएर विश्वका कारुणिक मानिसहरू रोएका छन्। प्राकृतिक विपत्ति भए पनि जलवायुजन्य विनाशका कारण बाढी आएको हुँदा यस घटनालाई विश्वले नियालेको छ। विश्वभरका भूगर्भविद्, चिन्तक, बुद्धिजीवी, पत्रकार र राजनीतिज्ञहरूले यस घटनाप्रति चासो देखाएका छन्। सीएनएन, बीबीसी, न्युयोर्क टाइम्स, अलजजिराजस्ता अन्तर्राष्ट्रिय मिडियाहरूमा यस घटनालाई लिएर निकै चर्चा भइरहेको छ। अन्तर्राष्ट्रिय मिडियाहरूमा नेपालको यस कहालीलाग्दो विपद्को घटनाको विषयमा लगातार समाचार आइरहँदा विश्वका देशहरूले नेपाललाई सहयोग र सहानुभूति पनि बढाइरहेका छन्। नेपालमा अहिले यस घटनालाई अन्तर्राष्ट्रियकरण गरेर विश्व जलवायु कोषबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने कुराहरू उठिरहेका छन्।
ओइरिएको राहत : सरकारमाथि भरोसा, मिडियाको तागत
सरकारले राहत तथा सहयोगका निम्ति सार्वजनिक आह्वान गरेयता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ अर्बभन्दा बढी रकम जम्मा भइसकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्तिगत तबरमा सबैभन्दा धेरै सहयोग रकम (१ अर्ब ५० करोड) प्रदान गर्ने विश्वको अग्रणी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ जेन्सन हुआङलाई धन्यवाद दिँदै सोको जानकारी दिएका हुन्। चीन, भारतसहित विश्वका विभिन्न देशहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूले संस्थागत रूपमा दिएका सहयोगसमेत जोड्ने हो भने ५० अर्बभन्दा बढी सहयोग जुटिसकेको अवस्था छ।
सहयोगी हातहरू यसरी बढेका छन् कि सहयोग गर्न छुट्ला कि भनेर मानिसहरूले दिनहुँ कोषमा रकम गरिरहेका छन्। जोगी–साधुदेखि स्कुले साना नानी, व्यापारी, विभिन्न पेसाकर्मी संघ–संस्थासम्मले यो विपद्मा सहयोगको हात अघि बढाएका छन्। वास्तवमै नेपालीहरू संकटको घडीमा एकै ठाउँमा उभिन्छन् र आ–आफ्नो ठाउँबाट सकेको सहयोग दर्शाउँछन् भन्ने कुरा पटकपटकका यस्ता विपद्का घडीहरूमा देखिएकै छ। आवश्यक पर्दा सामूहिक एकता, सद्भावना र मनैदेखिको सहयोगी व्यवहार नेपालीहरूको मुल पहिचान बनिसकेको छ। तर कतिपय यस्तो संकटको घडीमा पनि राजनीतिक आग्रह, पूर्वाग्रह तथा संवेदनहीनता दर्शाउनेहरू पनि छन्। उल्टै सहयोगको साटो असहयोग गर्ने, हौसलाको सट्टा नकारात्मक प्रतिक्रिया जनाउने र सरकारलाई असहयोग गर्नेहरू पनि छन्। देश आँसुमा डुब्दा र संकटग्रस्त हुँदा गरिने त्यस्ता व्यवहार एउटा विवेकशील मानवले गर्ने व्यवहार हुँदै होइनन्।
रौतहटका स्कुलका साना नानीहरूले आफ्नो खाजा खर्चबाट जोहो गरेर ४ सय ७० रुपैयाँ सरकारको राहत कोषमा दिएको घटना, जोगी–साधुसम्मले बाढीपीडितको आँसु पुछ्न दान गरेको कुरा, स्वदेशी–विदेशी कलाकारदेखि अमेरिकी धनाढ्य व्यापारीसम्मले मुठी फुकाएर सहयोग गरेको घटना कम्ता मार्मिक छैनन्। सो सबै सहयोग, राहत र सद्भावना जुटाउन, विश्वका नागरिकहरूसमक्ष यस जलवायु विनाशका कारण सिर्जित अस्वाभाविक एवं अकल्पनीय बाढीको घटना विश्वभर तरंगित बनाउन मिडियाको ठूलो भूमिका छ। यो दुःखद् घटनाका वास्तविक कथाहरू संसारभर फैलाएर मानवीय भावना एकीकृत बनाउने ती देशी–विदेशी सबै मिडिया र सञ्चारकर्मी धन्यवादका पात्र हुन्। जसले गर्दा संसारको ध्यान नेपालमा केन्द्रित गरेको छ। नेपालले जलवायु न्याय पाउनुपर्छ भनेर बीबीसी, सीएनएन, अलजजिरा, न्युयोर्क टाइम्स मात्र नभएर स्वदेशी मिडियाहरूमा पनि व्यापक बहस भए। मिडियाको कति तागत र महत्व छ भन्ने कुरा यस विपद्को घटनाबाट थप पुष्टि भएको छ। राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियाहरूले यस घटनालाई महत्व नदिएका थिए भने यस विषयले संसारभर बहस पाउने थिएन। नेपालजस्ता हिमाली देश, जसले प्रकृतिको दोहन कत्ति पनि गरेको छैन, बरु प्राकृतिक पर्यावरण जोगाएर राख्न भूमिका खेलेको छ। त्यस्तो देशले ठूला औद्योगिक देशहरूबाट भएको वातावरण प्रदूषण र त्यसले पृथ्वीमा सिर्जना गरेको तापमान वृद्धि तथा बहुआयामिक संकटको क्षतिपूर्ति पाउनुपर्छ भनेर अहिले आवाज उठेका छन्। नेपालको मात्र नभएर विदेशी मिडिया, जलवायु विज्ञ तथा बुद्धिजीवीहरूले त्यो खालका आवाज उठाएका छन्। संयुक्त राष्ट्रसंघको सभामा नेपालका प्रधानमन्त्रीले अब त्यो आवाजलाई दाबीका रूपमा प्रस्तुत गर्नुपर्छ। नेपालले अब विदेशी सहयोग होइन, जलवायु न्याय पाउनुपर्छ, क्षतिपूर्ति पाउनुपर्छ।
यो विपद्मा बाढीमा फसेकाहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मन्त्री तथा कर्मचारी तथा विभिन्न राजनीतिक दलका स्वयंसेवकहरूले जे जसरी लागिपरे, त्यो साँच्चै तारिफयोग्य छ। कमीकमजोरीहरू रहन सक्छन्। हुन्छन् पनि। तर सरकारको पहलकदमी सराहनीय छ। सरकारले अब घरबारविहीन नागरिक, उद्धार गरिएकाहरूको औषधि उपचार, खानपिन तथा राहत वितरणमा समान ढंगले न्यायिक रूपमा गर्नुपर्छ। अहिले जेजति रकम राहत तथा सहयोगका रूपमा जुटेको छ, त्यो तिनै रसुवा, नुवाकोट, धादिङ तथा चितवन, तनहुँजस्ता बाढी प्रभावित ५ जिल्लामा खर्च गरिनुपर्छ। मानिसहरूले त्यही जिल्लाका बाढी प्रभावित मानिसहरूको आँसु पुछ्न आर्थिक सहयोग गरेका हुन्। संकलित रकम तिनै क्षेत्रका मानिसहरू, जसको घरगोठ, जग्गाजमिन बगेको छ, आफन्त, छोराछोरी गुमाएका छन्, तिनैका लागि सो रकम दायाँबायाँ नगरी खर्च गरिनुपर्छ। राहतस्वरूप संकलित ती रकम अन्यत्र जिल्लाका लागि खर्च गरिनु महापाप हो। त्यसकारण राहतलाई घटना भएकै जिल्लाहरूमा केन्द्रित गरिनुपर्छ। त्यस ठाउँका विद्यालय, पुलपुलेसा, पाटी–पौवा, भौतिक संरचना, मानिसहरूको घरजमका लागि संकलित रकम खर्च हुनुपर्छ। अबको पुनर्संरचना र बस्ती विकास कुनै पनि खालका बाढीले नभेट्ने सुरक्षित जग्गाजमिनमा बनाइनुपर्छ। भदौ १० को दर्दनाक विपद्लाई ध्यानमा राखेर गरिने दीर्घकालीन सोचसहितको पुनर्निर्माणले त्यस ठाउँ फेरि उठ्नेछ। बाढीले चुडेर लगेकाहरू त गइगए, जो बाँचेका छन् तिनले फेरि त्यो हिजोको त्रासदी भोग्न नपरोस्।
बाढीबाट अनाहक ज्यान गुमाउने आमा–बुवा, दिदी–बहिनी र दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली तथा बाँचेकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना।
प्रकासित मिति २०८३, भदौ २०











तपाईको प्रतिक्रिया