पद्मराज तिमल्सिना
२०८३ भदौ १० गते गण्डकी रिभर बेसिनअन्तर्गत त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा लेदोसहित आएको अकल्पनीय बाढीले ठूलो क्षति पुर्याएपछि नेपालमा जलवायु न्यायको बहस पुनः तरङ्गित भएको छ। सम्झने र बिर्सने हाम्रो विशेषता नै हो। तर यही घटनालाई आधार बनाएर जलवायु न्यायको आवाजलाई निरन्तर र सघन बनाउँदै लैजान सकियो भने केही उपलब्धि हासिल हुने अपेक्षा गर्न सकिन्छ।
‘न्याय’ शब्द आफैँमा गहन अर्थ बोकेको हुन्छ। न्यायको कुरा गर्दा जोन रल्स (John Rawls) को ‘थ्योरी अफ जस्टिस’ अर्थात् न्यायको सिद्धान्तसम्म पुग्नैपर्छ। रल्सको वितरणात्मक न्यायको दृष्टिकोणबाट जलवायु न्यायलाई हेर्नुपर्ने हुन्छ। न्याय प्राप्त गर्न अधिकार स्थापित गर्नुपर्छ र अधिकार स्थापित गर्न आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ।
हामीले न्याय मागिरहँदा पृथ्वीप्रति मानिसले गरेको अन्यायको आवाज भने मलिन हुनुहुँदैन। ‘हामीले केही गरेका छैनौँ’ भन्ने दाबीको दसी केवल कार्बन उत्सर्जनको ग्राफ मात्र होइन। जलवायु न्यायको क्षतिपूर्ति केवल पैसा वा वित्तीय सहयोगमा सीमित हुँदैन। बरु उत्सर्जनको स्रोत नै घटाउने गरी विश्वव्यापी आवाज बुलन्द गर्ने अवस्था आजको आवश्यकता हो।
जलवायु वित्तका लागि Climate Attribution सम्बन्धी प्रावधानहरूले कारण र प्रभाव (Cause and Effect) स्थापित गर्नुपर्ने मान्यता राख्छन्। तर आजसम्म विकसित अर्थमितिका (Econometrics) सिद्धान्तहरू जलवायु परिवर्तनले कुनै निश्चित घटना वा क्षतिमा पुर्याएको प्रभावलाई ठ्याक्कै स्थापित गर्न पर्याप्त देखिएका छैनन्। जलवायु परिवर्तनको प्रभाव कतै प्रत्यक्ष हुन्छ भने कतै अप्रत्यक्ष र बहुआयामिक। यही कारण क्षति र त्यसको जिम्मेवारीबीचको सम्बन्ध स्थापित गर्नु अझै चुनौतीपूर्ण छ।
हालै सम्पन्न अतिकम विकसित देशहरू (LDCs) का ४४ देशहरूको ‘दिल्ली डिक्लेरेसन’ मा समेत यस्तै विषय उठाइएको छ। LDC देशहरूले ‘यति क्षति भयो, त्यसैले यति क्षतिपूर्ति चाहियो’ भनेर कपाली तमसुक बनाएजस्तो सजिलै दाबी गर्न सक्ने अवस्था छैन। ‘Loss and Damage’ को गणना गर्ने सर्वमान्य विधिसमेत अझै स्थापित भइसकेको छैन।
जलवायु परिवर्तन विश्वव्यापी समस्या हो र लामो समयदेखिको औद्योगिकीकरणको उपउत्पादन (By-product) का रूपमा यो संकट देखापरेको हो भन्ने कुरामा भने विश्वका अधिकांश पक्ष सहमत देखिन्छन्। जलवायु परिवर्तनको मुद्दा कूटनीतिबाट भू–राजनीति हुँदै भू–अर्थशास्त्र (Geo-economics) सम्मको विषयवस्तु बनिसकेको छ।

जलवायु परिवर्तन अवश्यम्भावी नियतिका रूपमा देखा परिरहेको अवस्थामा यसबाट जोगिन नवीन प्रविधि (Technology) को आवश्यकता झन् बढेको छ। तर जोखिम बढ्दै जाँदा नवप्रवर्तनमा पछि परेका LDC देशहरूलाई विकसित देशहरूले हाताहाती सहयोग गर्छन् भन्ने सुनिश्चितता भने छैन। त्यसैले औद्योगिक क्रान्ति भएका देशहरूमा जलवायु परिवर्तनको असर किन तुलनात्मक रूपमा कम देखिन्छ वा उनीहरू किन त्यति आत्तिएका देखिँदैनन् भन्ने प्रश्नको पनि गम्भीर अध्ययन आवश्यक छ।
हाम्रै भूगोल नेपाल कुनै समय टेथिस सागर थियो भनेर भन्ने गरिन्छ। हामी त्यति टाढाको इतिहासमा जान नसके पनि औद्योगिकीकरणपूर्वको युग (Pre-Industrialization Era) सम्म पुग्ने ‘टाइम ट्राभल’ गर्ने प्रयास भने पेरिस सम्झौतामार्फत १.५ डिग्री सेल्सियसको तापक्रम वृद्धिको लक्ष्य तय गरेर गरिरहेका छौँ।
संयुक्त राष्ट्रसंघको पछिल्लो महत्वाकांक्षी घोषणा ‘Pact for the Future (2024)’ मा पनि जलवायु वित्तको विषय उठाइएको छ। तर यसलाई दिगो विकास लक्ष्य (Sustainable Development Goals) को एउटा सानो अंशभित्र सीमित गरिएको देखिन्छ। नेपालको संविधानले विकास सहायता आवश्यकता र प्राथमिकता (आप्रा) का आधारमा परिचालन गर्ने व्यवस्था गरेको छ। हालै जारी गरिएको ‘विकास सहायता परिचालन नीति, २०८२’ ले पनि जलवायु कोषलगायत जलवायु वित्तका अन्य स्रोत परिचालन गर्दै जलवायु न्यायको मान्यताका आधारमा नेपाललाई लाभ हुने गरी उपलब्ध जलवायु वित्तको अधिकतम परिचालन गर्ने नीति लिएको छ।

त्यसैले जलवायु परिवर्तनको जोखिम चरम अवस्थामा पुगेपछि मात्र पर्खेर बस्ने र क्षति भइसकेपछि ‘हामीमाथि अन्याय भयो’ भन्नुभन्दा निरन्तर बहस, पैरवी र अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्नु आवश्यक छ।
UNFCCC अन्तर्गत हरेक वर्ष आयोजना हुने COP को ३१औँ संस्करणसम्म आइपुग्दा पनि नेपालमा यसको आयोजना हुन सकेको छैन। जलवायु न्यायका लागि यो मञ्च हालसम्मकै भरपर्दो अन्तर्राष्ट्रिय मञ्च देखिएको छ। तर अमेरिका जस्तो शक्तिशाली देश पेरिस सम्झौताबाट बाहिरिँदा एउटा विज्ञप्तिसम्म निकाल्न नसक्ने अवस्था रहन्छ भने जलवायु न्यायको विश्वव्यापी अभियान कति प्रभावकारी छ भन्ने प्रश्न पनि उठ्छ।
अमेरिकी महादेशले अमेजनको जंगल मात्र देखाएर आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन। अर्कोतिर, न्यून उत्सर्जन गर्ने नेपालजस्ता देशहरू पनि अत्यधिक ऊर्जा खपत गर्ने डाटा सेन्टर (Data Centre) स्थापना गर्न लालायित देखिन्छन्। यस्तो महत्वाकांक्षा पूरा हुँदै जाँदा त्यसले घरेलु वातावरण र ऊर्जा प्रणालीमा पार्ने असरलाई केवल ‘Climate Justice’ को लोरी गाएर सम्बोधन गर्न सकिँदैन।
एकातिर तटीय राष्ट्रहरू डुब्ने जोखिम बढिरहेको समाचार सुनिन्छ भने अर्कोतिर समुद्र किनार पुर्दै नयाँ बस्ती बसाइँदै गरेको पनि देखिन्छ। विकासको यस्तो असन्तुलन देशभित्रै पनि देखिन्छ। नेपालमा जलवायु परिवर्तनलाई केन्द्रमा राखेर समग्र र जलवायु–मैत्री विकास योजना अझै पर्याप्त रूपमा बन्न सकेको छैन।
अब बन्ने नेपालको १७औँ आवधिक योजनाको एउटा प्रमुख आधार नै जलवायु परिवर्तन र जलवायु न्याय हुनुपर्छ। विकास र वातावरणबीचको सन्तुलन, जोखिम न्यूनीकरण, अनुकूलन, विपद् व्यवस्थापन, हरित प्रविधि र जलवायु वित्तलाई योजनाको मूलधारमा राख्न सकिएन भने जलवायु परिवर्तनका असरहरू अझ गहिरिँदै जानेछन्।
अन्यथा जलवायु न्यायका कुरा मिठा निबन्धमा मात्र सीमित हुनेछन्, अथवा कुनै सेमिनारको PPT मा सुन्दर अक्षरमा देखिनेछन्। जलवायु न्याय भाषण र दस्तावेजमा होइन, नीति, स्रोत र व्यवहारमा देखिनुपर्छ।











तपाईको प्रतिक्रिया