नैतिकताको प्रकाशमा लोकतन्त्रको मार्गदर्शन

Bizness Post बिजनेस पोष्ट
|
१ महिना अगाडि
  तोमनाथ उप्रेती
  उपसचिव, नेपाल सरकार

नेपालमा संस्थागत र संरचनागत परिवर्तनको प्रक्रिया निरन्तर भइरहे पनि जनताको वास्तविक जीवनस्तरमा अपेक्षित सुधार आउन सकेको छैन। राजनीतिक खिचातानी, अस्थिर सरकार र दलगत स्वार्थले शासन प्रणाली कमजोर बनाइरहेको छ। जब मुल नीति र राजनीतिक अभ्यास नै गडबडमा छन्, तब आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रहरू पनि अस्थिर र प्रभावित हुन्छन्। संविधान, लोकतन्त्र र गणतन्त्रजस्ता संरचनागत उपलब्धिहरूको अवलम्बन जनताले प्रत्यक्ष महसुस गर्न सकिरहेका छैनन्। राजनीतिक दलहरूको आन्तरिक द्वन्द्वले नागरिकलाई राज्यका गतिविधिमा उत्साहपूर्वक सहभागिता जनाउन असमर्थ बनाएको छ।
लोकतन्त्र संवैधानिक संरचना वा निर्वाचन प्रक्रियामा सीमित छैन; यसले समाजका हरेक व्यक्तिमा नैतिक चेतना, जिम्मेवारी र पारदर्शिताको भावना जगाउँछ। यदि नागरिकहरू नैतिक मूल्य र ईमानदारीको आधारमा सोच्न, निर्णय लिन र कार्य गर्न सक्षम छैनन् भने, सबै कानुनी व्यवस्था र प्रशासनिक संरचना असफल हुने जोखिम रहन्छ। लोकतन्त्रको साँचो उद्देश्य भनेको मात्र बहुसंख्यकको शासन नभएर सबै नागरिकको समान सम्मान, न्याय र स्वतन्त्रताको सुनिश्चितता हो। त्यसैले लोकतन्त्रको दीगो आधार निर्माणमा नैतिक मूल्यको भूमिका अति महत्वपूर्ण छ।
नैतिक मूल्यले लोकतान्त्रिक समाजमा विश्वास र सहिष्णुता स्थापना गर्छ। जब नेतृत्वकर्ताहरू ईमानदार, उत्तरदायी र न्यायप्रिय हुन्छन्, तब मात्रै नीति र कार्यान्वयन समाजको दीगो विकासमा योगदान गर्न सक्छ। भ्रष्टाचार, स्वार्थ र व्यक्तिगत लाभमा केन्द्रित प्रवृत्तिहरूले लोकतन्त्रलाई कमजोर बनाउँछन्, जसले दीगो समृद्धिको मार्गमा अवरोध उत्पन्न गर्छ। यही कारणले, नागरिक, प्रशासनिक निकाय र राजनीतिक नेतृत्वबीच नैतिक समझदारी र पारदर्शिता अनिवार्य हुन्छ।
नैतिकताको प्रकाशमा लोकतन्त्रको मार्गदर्शन भन्नाले केवल कानुनी दायरा भित्रको नियमपालन मात्र होइन; यसले प्रत्येक व्यक्तिको आन्तरिक जिम्मेवारी र सामाजिक संवेदनालाई पनि समेट्छ। जब नागरिकले आफ्नो अधिकारको प्रयोग गर्दा समाज र अरूको हितलाई प्राथमिकता दिन्छन्, तब मात्र लोकतन्त्र साँच्चिकै फलदायी हुन्छ। शिक्षा, संस्कार, चेतना र मूल्य प्रणाली यस प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छन्। दीगो लोकतन्त्रका लागि केवल मतदान अधिकार पर्याप्त छैन; आवश्यक छ कि नागरिकले आफ्नो जीवन, व्यवहार र निर्णयहरूमा नैतिकता र न्यायलाई अँगाले।समानता, सहिष्णुता, दायित्व र उत्तरदायित्व जस्ता मूल्यहरूलाई व्यवहारमा उतार्न नसक्दा लोकतन्त्र केवल शाब्दिक रूपमै मात्र विद्यमान रहन्छ। यसको विपरीत, जब राजनीतिक नेतृत्व, प्रशासन र नागरिक समाज नैतिक मूल्यको मार्गदर्शनमा सक्रिय हुन्छन्, त्यहाँ दीगो विकास, सामाजिक न्याय र स्थायी शान्ति स्थापित हुन्छ।
नैतिक मूल्य र लोकतन्त्रको सम्बन्ध व्यावहारिक जीवन र नीति निर्माणको आधार पनि हो। यसले भ्रष्टाचार, अन्याय र विभाजनको सम्भावनालाई न्यून गर्छ र नीति तथा कार्यक्रमलाई दीर्घकालीन लाभप्रद बनाउँछ। लोकतन्त्रका अधिकार र कर्तव्य बीच सन्तुलन कायम रहनुपर्ने हुन्छ, र यही सन्तुलन नै नैतिकताको प्रकाशबाट सम्भव हुन्छ।
यस दृष्टिले, लोकतन्त्रको मार्गदर्शनमा नैतिक मूल्यलाई समेट्नु समाज, राष्ट्र र मानव सभ्यताको दीगो विकासको आधार हो। यदि नेतृत्व, प्रशासन र नागरिक नैतिकता, न्याय र जिम्मेवारीको आधारमा कार्य गर्छन् भने लोकतन्त्रको मूल उद्देश्य—समाजमा समानता, स्वतन्त्रता र दीगो समृद्धि—साकार हुन सक्छ।
लोकतन्त्रको मूल अर्थ जनताकै शासन हो। तर सत्तामा रहेकाहरूले ठूला आवाजलाई मात्र सम्बोधन गर्ने प्रवृत्ति देखाउँदा प्रत्यक्ष लोकतन्त्रको अभ्यासबाट जनतालाई लाभ पुग्न सकेको छैन। यसले समस्याको समाधानको सट्टा थप विकृति र असन्तुष्टिको वातावरण सिर्जना गरेको छ। त्यसैले लामो समयदेखि पिछडिएका समूह, वर्ग र समुदायको पहिचान गरी उनीहरूको न्यायपूर्ण उत्थान सुनिश्चित गर्नुपर्ने आवश्यकता छ। समावेशी लोकतन्त्रले यथार्थमा विवादमुक्त शासन, समानता र मानवअधिकारको सम्मान कायम गर्दै २१औँ शताब्दीका आधुनिक लोकतान्त्रिक अभ्यासहरूसँग मेल खाने अवसर दिन्छ। यसैबाट मात्र लोकतन्त्रको वास्तविक अर्थ—जनताको शासन, समान प्रतिनिधित्व र दीगो सामाजिक स्थायीत्व—सुरक्षित गर्न सकिन्छ।
लोकतन्त्र जनताको विश्वास, सहभागिता र मूल्य–आधारित निर्णयको प्रतिफल हो। जबसम्म नेतृत्व र प्रशासन नैतिक मूल्यमा आधारित हुँदैनन्, तबसम्म लोकतन्त्रको वास्तविकता नामको रूपमा सीमित रहन्छ। नैतिक मूल्य शासन, प्रशासन र समाजसँग सम्बन्धित सबै निर्णय, व्यवहार र नीति–निर्माणमा प्रत्यक्ष प्रतिबिम्बित हुने मूल्यहरूको समष्टि हो। सत्य, इमान्दारी, पारदर्शिता, न्याय, जवाफदेहिता, समानता र करुणा—यी नैतिक मूल्यहरूले लोकतन्त्रलाई स्थायीत्व र दीगो समृद्धिको मार्गमा अग्रसर बनाउँछन्।
नेपालजस्तो विविधता र चुनौतीपूर्ण परिवेश भएको देशमा नैतिक मूल्यको अभावले शासन प्रणाली कमजोर पार्दै आएको छ। अस्थिर सरकार, भ्रष्टाचार, नातावाद, व्यक्तिगत स्वार्थको प्रभुत्व र नीति–कार्यन्वयनमा ढिलासुस्तीले लोकतन्त्रको मूल उद्देश्यलाई कमजोर पारेको छ। परिणामस्वरूप, जनताको विश्वास घटेको छ, सामाजिक असमानता बढेको छ र दीगो विकासको गति सुस्त भएको छ। यसले स्पष्ट देखाउँछ कि नैतिक मूल्य र शासनबीचको सहजीकरण बिना लोकतन्त्रको स्थायीत्व सम्भव छैन।
लोकतन्त्रमा दीगो समृद्धि तब मात्र सम्भव हुन्छ जब नीति–निर्माणमा नैतिक मूल्यलाई प्राथमिकता दिइन्छ। पारदर्शिता, जवाफदेहिता, समानता र सामाजिक न्याय जस्ता मूल्यहरूको पालनाले नीति प्रभावकारी र दीगो हुन्छ। यसले आर्थिक विकास नभई, सामाजिक समरसता, सांस्कृतिक सहिष्णुता र मानव अधिकारको सुनिश्चितता पनि गर्दछ। जब नीति र नियम नियमका लागि नियम नभई मूल्यमा आधारित हुन्छन्, तब जनता र सरकारबीचको विश्वास बलियो हुन्छ।
आधुनिक युगमा शासन प्रणालीमा नैतिक शिक्षा र मूल्य–आधारित प्रशिक्षणको महत्त्व बढेको छ। नियम–कानून र प्रक्रियामा निर्भर भएर शासन सुधार सम्भव छैन। कर्मचारी र नेतृत्वले आफ्नै आचार, मूल्य र नैतिक प्रतिबद्धता अभ्यासमा ल्याउनुपर्छ। यसले संस्थागत पारदर्शिता, जवाफदेहिता र सकारात्मक कार्यसंस्कृति विकास गर्न सहयोग पुर्याउँछ। जब कर्मचारी र नेतृत्वले नैतिक मूल्यलाई व्यवहारमा लागू गर्छन्, तब मात्र नीति र कार्यक्रम प्रभावकारी र दीगो हुन्छ।
सांस्कृतिक दृष्टिले पनि नैतिक मूल्य लोकतन्त्रको आधार हुन्। सहिष्णुता, समानता, करुणा, सत्य र न्याय जस्ता मूल्यहरूले मात्र समाजमा स्थायी शान्ति र सामाजिक समरसता स्थापित हुन्छ। नेपालजस्तो बहुलता र विविधता भएको देशमा यी मूल्य बिना दीगो समृद्धि असम्भव छ। सामाजिक विभाजन, जातीय असमानता, राजनीतिक द्वन्द्व र भ्रष्टाचार यी समस्याहरूलाई नैतिक मूल्यको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ।
दीगो समृद्धिको मूल आधारमा नैतिक प्रतिबद्धता र नेतृत्वको एकरूपता अत्यावश्यक भूमिका खेल्छ। जब उच्च नेतृत्व नैतिक मूल्यमा प्रतिबद्ध हुन्छ, तब तल्लो तहका कर्मचारी र संस्थाहरू त्यसको अनुकरण गर्छन् र शासन प्रणाली पूर्ण रूपमा पारदर्शी र मूल्य–आधारित बन्छ। दीगो विकासका लागि नीति–निर्माणमा सामाजिक न्याय, समानता र दीगो विकास सुनिश्चित गर्नुपर्ने, नेतृत्वमा नैतिक शिक्षा अनिवार्य गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण र पारदर्शिता कायम गर्न कानूनी संरचना आवश्यक हुन्छ। सत्य, न्याय, इमान्दारी र करुणालाई शासनमा समावेश गर्दा मात्र लोकतन्त्र स्थायी, न्यायपूर्ण र दीगो समृद्धिमार्गमा अग्रसर हुन्छ।
लोकतन्त्र जीवनशैली, सामाजिक व्यवहार र नैतिक मूल्यहरूको मिश्रण हो। यदि लोकतन्त्रलाई स्थायी र समृद्ध बनाउनु छ भने त्यसको मूलाधार नैतिक प्रतिबद्धता र मूल्य आधारित जीवन हो। नैतिक प्रतिबद्धता व्यक्तिगत, सामाजिक र राजनीतिक जीवनमा सत्य, न्याय, जिम्मेवारी, इमानदारी, पारदर्शिता, करुणा र परोपकार जस्ता मूल्यलाई पालन गर्नु हो। जब व्यक्तिहरू र नेतृत्व स्तरमा यी मूल्य स्थिर हुन्छन्, तब मात्र लोकतन्त्र सुदृढ, न्यायपूर्ण र दीर्घकालीन रूपमा चल्न सक्छ।
लोकतन्त्रको मूल सिद्धान्त नागरिकको स्वतन्त्रता, समानता र बहुसंख्यकको अधिकारको सम्मान हो। तर यी अधिकारको सही प्रयोग नैतिकता र जिम्मेवारीमा आधारित हुनुपर्छ। यदि नागरिक आफ्नो व्यक्तिगत स्वार्थ, लोभ, अहंकार र स्वेच्छाले मात्र निर्णय लिन्छन् भने लोकतन्त्र नाम मात्रको रहन्छ। व्यक्तिगत अहंकार र स्वार्थले सामाजिक असमानता, द्वेष, असहिष्णुता र भ्रष्टाचार जन्माउँछ, जसले लोकतन्त्रको आत्मा नै कमजोर बनाउँछ। उदाहरणका लागि, जब नेतृत्वमा रहेका व्यक्ति आफ्नो शक्ति र पदलाई व्यक्तिगत लाभका लागि प्रयोग गर्छन्, तब समाजमा विश्वास र सहयोगको कमी हुन्छ, नियम र संविधानको महत्व घट्छ, र लोकतन्त्र संकटमा पर्छ।
नैतिक प्रतिबद्धताको अभावले नेतृत्वमा मात्र होइन, नागरिक तहमा पनि लोकतन्त्रलाई कमजोर बनाउँछ। नागरिकले जिम्मेवारी र अधिकारको सन्तुलनमा ध्यान नदिँदा सामाजिक विभाजन, असमानता र हिंसाको वृद्धि हुन्छ। उदाहरणका लागि, मताधिकार प्रयोग गर्दा व्यक्तिगत स्वार्थ वा दलगत प्राथमिकता हेर्ने प्रवृत्ति लोकतन्त्रको लक्ष्यलाई कमजोर बनाउँछ। यस्तो अवस्थामा नागरिकहरू स्वतः नैतिक जिम्मेवारी र विवेकपूर्ण निर्णय गर्न असमर्थ हुन्छन्, जसले शासन, कानून, न्याय र विकास प्रक्रियामा बाधा पुर्याउँछ।
लोकतन्त्रमा स्थायित्व सुनिश्चित गर्न व्यक्तिगत नैतिकता मात्र पर्याप्त छैन; नेतृत्व तहमा नैतिक प्रतिबद्धता अत्यन्त आवश्यक छ। एक जिम्मेवार नेता शक्ति र पदको लोलुप नहुनु, न्याय, समानता, पारदर्शिता र परोपकारको मूल्यलाई जीवनमा अनुशासित रूपमा पालन गर्नु पर्छ। जब नेतृत्व नैतिक मूल्यका आधारमा कार्य गर्छ, तब नीतिहरू दीर्घकालीन, न्यायपूर्ण र सर्वसमावेशी हुन्छन्। यसले नागरिकमा विश्वास र सकारात्मक सोच जगाउँछ, सामाजिक सहकार्य र सहयोगलाई प्रवर्द्धन गर्छ, र लोकतन्त्रको दीर्घायु सुनिश्चित गर्छ।
लोकतन्त्रको समृद्धिका लागि शिक्षा र चेतना पनि अत्यन्त आवश्यक छ। नागरिकलाई अधिकार र स्वतन्त्रता मात्र सिकाउने होइन, नैतिक मूल्य र सामाजिक जिम्मेवारी पनि सिकाउनुपर्छ। शिक्षा नैतिक चेतना र विवेक विकसित गर्ने प्रमुख माध्यम हो। जब युवाहरू नैतिक मूल्यमा दृढ, विचारशील र जिम्मेवार हुन्छन्, तब उनीहरू व्यक्तिगत लाभको लागि होइन, समाज र राष्ट्रको हितका लागि निर्णय गर्छन्। यस्ता चेतनाशील नागरिकहरू नै लोकतन्त्रलाई स्थायी र समृद्ध बनाउने आधार हुन्।
लोकतन्त्रमा नैतिक प्रतिबद्धताको महत्व अपरिहार्य छ। व्यक्ति आफ्नो मन, विचार र क्रियाकलापमा अनुशासित र संयमित रहेमा मात्र समाजमा स्थायित्व र सद्भाव कायम रहन्छ। अहंकार, लोभ, द्वेष र असहिष्णुताले लोकतन्त्रको मूल उद्देश्य, जसले समानता, न्याय र स्वतन्त्रता सुनिश्चित गर्ने हो, त्यसलाई कमजोर बनाउँछ। यसको विपरीत, प्रेम, करुणा, सहिष्णुता र परोपकारको भावनाले लोकतन्त्रलाई मात्र होइन, समाजको वातावरणलाई पनि सकारात्मक बनाउँछ।
लोकतन्त्र स्थायी र समृद्ध बनाउनको लागि अधिकार र स्वतन्त्रताको प्रयोग मात्र पर्याप्त छैन; तिनको सदुपयोग नैतिकताको आधारमा हुनु पर्छ। जब व्यक्तिको चेतना र समाजको संस्कार नैतिक प्रतिबद्धतामा केन्द्रित हुन्छ, तब मात्र लोकतन्त्रले वास्तविक अर्थमा समाजलाई समानता, न्याय, स्थायित्व र समृद्धितर्फ लैजान सक्छ।यसैले, लोकतन्त्रमा स्थायित्व र समृद्धिका लागि नैतिक प्रतिबद्धता विकल्प होइन, अपरिहार्य आधार हो। व्यक्तिको जीवन, सामाजिक व्यवहार, नेतृत्वको नीति र राष्ट्रिय शासन सबै क्षेत्रहरूमा नैतिक मूल्यको पालनले मात्र लोकतन्त्र दीर्घकालीन, न्यायपूर्ण र सर्वसमावेशी बन्न सक्छ। नैतिक प्रतिबद्धता र जिम्मेवारीपूर्ण नागरिकता बिना लोकतन्त्र नामको मात्र रहन्छ; तर जब यसलाई जीवनका प्रत्येक क्षेत्रसँग जोडिन्छ, तब लोकतन्त्र मानव सभ्यताको महान उपलब्धि र विश्वको स्थायी शान्ति र समृद्धिको स्रोत बन्न सक्छ।
नेपालमा लोकतन्त्रको वास्तविक अभ्यास र अनुभव अझै पर्याप्त रूपमा नागरिकसम्म पुग्न सकेको छैन भन्ने तथ्य गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्छ। सैद्धान्तिक रूपमा हामीसँग लोकतन्त्र स्थापित छ—संवैधानिक व्यवस्था, बहुदलीय प्रणाली, मताधिकार, संघीयता, गणतन्त्रात्मक र धर्मनिरपेक्ष संरचना जस्ता कानुनी आधारहरू उपस्थित छन्। तर व्यवहारिक रूपमा जनताले दैनिक जीवनमा यसको फाइदा महसुस गरेका छैनन्। मुख्य कारण राजनीतिक नेतृत्वको स्वार्थपरता, नैतिकताप्रतिको उदासीनता र सार्वजनिक सेवाप्रति जिम्मेवारीको अभाव हो।
राजनीतिक दल र नेतृत्वले परिवर्तन ल्याउन सक्दो भए पनि त्यसलाई व्यवहारमा अनुबाद गर्न नसक्नु लोकतन्त्रका लागि ठूलो चुनौती हो। सत्ता र कुर्सीप्रति लोलुपता, देश र जनताको हितभन्दा व्यक्तिगत लाभमा केन्द्रित सोच, विलासी जीवनशैली र पारदर्शिताको अभावले लोकतन्त्रलाई प्रायः ‘लुटतन्त्र’मा परिणत गरेको छ। निर्वाचन प्रक्रिया पनि प्रायः यान्त्रिक र कर्मकाण्डीय माध्यममा सीमित रहँदा जनताले आफ्नो अधिकारको वास्तविक प्रयोग गर्न पाउँदैनन्।
लोकतन्त्र जनताको जीवनस्तर, सामाजिक न्याय र अवसरको सुनिश्चितता पनि हो। जब नागरिक आर्थिक रूपमा सबल र सशक्त हुँदैनन्, तब उनीहरूले लोकतन्त्रको अनुभव गर्न सक्दैनन्। शान्तिपूर्ण जीवन, आधारभूत सुविधा, शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित नहुँदा लोकतन्त्र नामको मात्रै रहन्छ। यस अर्थमा, लोकतन्त्रको सफलता नागरिकको भौतिक, सामाजिक र मानसिक सशक्तीकरणमा निर्भर छ। लोकतन्त्रमा नागरिकले नैतिक मूल्य, सामाजिक दायित्व र पारस्परिक सम्मान अनुभव गर्नुपर्छ। जब राजनीतिक नेतृत्व आफ्नो स्वार्थमा मात्र केन्द्रित हुन्छ र नागरिकको आवश्यकता र अपेक्षालाई नजरअन्दाज गर्छ, तब लोकतन्त्र औपचारिकतामा सीमित रहन्छ। यसले नागरिकमा असन्तुष्टि, अविश्वास र लोकतन्त्रप्रति उदासीनता सिर्जना गर्छ।
आधुनिक लोकतन्त्रको मूल उद्देश्य नागरिकको सहभागिता, अधिकारको सम्मान, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्नु हो। त्यसका लागि सरकारले जनतासँग प्रत्यक्ष संवाद, पारदर्शिता, जिम्मेवार नीति र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्छ। जब जनताको जीवनस्तर उकासिने, शिक्षा र स्वास्थ्य पहुँचयोग्य हुने, रोजगारीका अवसर बढ्ने, सामाजिक सुरक्षा सुनिश्चित हुने—त्यसबेला मात्र जनताले लोकतन्त्रको वास्तविक अनुभूति गर्न सक्छन्।
नेपालमा हालसम्म भएको राजनीतिक परिवर्तनले संविधानको रूप दिन त सफल भयो, तर त्यसको व्यवहारिक कार्यान्वयनमा अझै कमजोरी छ। नेतृत्वको नैतिकता, प्रतिबद्धता र पारदर्शिता बिना लोकतन्त्र कागजी रूपमै सीमित रहन्छ। निर्वाचन प्रणाली, दलगत राजनीति र प्रशासनिक संरचना सुधारको आवश्यकता निरन्तर छ। साथै, नागरिकमा सचेतता, जिम्मेवारी र सहभागिता बढाउनु पनि समान रूपमा आवश्यक छ।
लोकतन्त्रलाई जीवन्त र दीगो बनाउनु भनेको देशको वास्तविक अवस्था, जनताको आवश्यकता र सामाजिक अपेक्षालाई बुझेर नीति, नेतृत्व र व्यवहारमा समग्र दृष्टिकोण अपनाउनु हो। नेपालजस्तो बहुलता, विविधता र चुनौतीपूर्ण परिवेश भएको देशमा नागरिकले दैनिक जीवनमा लोकतन्त्रको अनुभव गर्न पाउनु अत्यावश्यक छ। लोकतन्त्र चुनाव र विधानसम्म सीमित नराखी शान्ति, समृद्धि, न्याय र सामाजिक समानताको आधारमा व्यवहारिक बनाउनु पर्छ।
देशमा लोकतन्त्रको स्थायित्व र प्रगतिका लागि नेतृत्वको नैतिक प्रतिबद्धता अनिवार्य छ। जब नेतृत्व सत्य, इमान्दारी, न्याय र पारदर्शितामा प्रतिबद्ध हुन्छ, तब मात्र नीति र कार्यक्रम प्रभावकारी र दीगो हुन सक्छ। त्यस्तै, नागरिकको सचेत सहभागिता र सामाजिक न्यायको सुनिश्चितता लोकतन्त्रको मूल आधार हुन्। भ्रष्टाचारमुक्त प्रशासन, पारदर्शी नीति कार्यान्वयन र सबै वर्ग–समुदायलाई समान अवसर प्रदान गर्नेतर्फ ध्यान दिनु आवश्यक छ।

प्रकासित मिति २०८२-१२-१

तपाईको प्रतिक्रिया