रिसव गौतम
हुन त हामीले रााणा शासन देखेनौं, भोगेनौ, पञ्चायत देखेनौं, भोगेनौं । हाम्रा बुवा, हजुरवुवाहरुले देखे, भोगेको त्यो समयमा सामन्तहरुले कतिलाई प्रताडित बनाएका थिए ? हामीलाई के थाहा !
बहुदलसँगै जन्मिएका हामीहरुले राजसंस्था सहितको बहुदलीय व्यवस्था अनि आजको लोकतान्त्रिक भनिएको गणतन्त्र भोगिरहेका छौ । र, देखिरहेका छौ । आखिरीमा लोकतन्त्र भनेपनि, गणतन्त्र भनेपनि धनीहरुका लागि, शाहुहरुका लागि फलिफाप छ । त्यो आम गरिव तथा दिनदुखीहरुले भोगिरहेका र महसुस गरिरहेका छन् ।
गरिवका लागि न बहुदल न त गणतन्त्र करिव उस्तै उस्तै छ । सरकार सरकारजस्तो छैन, लोकतन्त्र लोकतन्त्र जस्तो छैन । समाजवाद नेताहरुको नारामा छ । मानवता मानब अधिकारकर्मीहरुको प्रतिवेदमा छ । छ त केवल चरम पुँजीवाद मडारिएको छ । पुँजी छ, सबै छ र पुँजी छैन समाजमा केही पनि छैन । धन र सम्पिती नभएका, पाखुरामा बल नभएकाहरु आजपनि समाजमा पिडादायी जिवन बाँचिरहेका छन् ।
त्यसैका एउटा उदाहरण हुन्् सुगम तराइमा दुर्गम जिवन बाँचिरहेको सत्यनारायण साफीको परिवार । आज त्यहि साफीको गरिवीमा जकडिएको परिवारमा नसोचेको खुशी भित्रिएको छ । अर्थात गरिवको झुपडीमा एउटा फुल फुलेको छ । अकस्मात आज त्यो फुलको पछाडी हजारौं हैन, लाखौ मानिसहरुको नजर छ । अचम्बीत भएको छ सारा संसार ।
सत्यनारायण साफी सिराहा जिल्लाको बरियारपट्टी गाउँपालिका २ श्रीपुर गाउँका जेनजी युवा हुन् । दैनिक ९ घण्टा मजदुरी गरेर एमबिबिएसको प्रवेश परिक्षामा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल उनको यतिवेला पुरा देशमा चर्चा छ । नहोस् पनि किन, किनकी यस्तो रेर्कड यसअघि कसैले बनाउनै सकेका थिएनन् । उनको संर्घष यति हृदयविदारक रहेछ कि कसैले त्यस्तो संर्घष चाँही नभोगोस् । त्यसकारण उनी एउटा गरिवको आँगनमा फुलेका फुल हुन् । उनले हृदयमा सजाएका सपना कठिन परिश्रमले आज पुरा भएको छ । उनी डाक्टर हुने भएका छन् । भयंकर आर्थिक अभाव, चरम गरिवी र चुनौतीका पहाडलाई पन्साएर अध्ययन प्रति उनले देखाएको अठोट प्रेम, निरन्तर मेहनत र अदम्य शाहसले प्राप्त उपलब्धी जेनजी युवाहरुलाई एउटा नयाँ सन्देश प्रवाह गरेको छ । उनको असाधारण सफलतालाई लिएर समाजमा अहिले बहस चुलिएको छ । तारिफ भइरहेका छन् । मान्छेहरु उनलाई जेनजी पुस्ताका रोल मोडल भन्न थालेका छन् । र, समाजका विभिन्न क्षेत्रका समाजसेवी मानिसहरुले उनको परिवारलाई सहयोग पनि गरिहेका छन् ।
शहरमा एकाथरीहरु यस्ता छन् आफना थामतिगे्र छोराछोरीहरुलाई विहानै ओछ्यानमा चिया, कर्फी सर्ब गर्छन् । थोरै भात कम खाएछ भने ढाड कन्याउँदै ‘के भो बाबु तँलाई किन हजिोआज खान छोडेको छस्’ भन्छन् । आफ्ना छोराछोरीले चाहेजति सुबिधा दिएका छन् । कति त सुबिधै सुविधा बढी भएर छोराछोरी भने गँजडी र रक्यास्याहा भइरहेको हुन्छ । उ डिजे र र्यापमा रमाइरहेको हुन्छ । त्यस्ताहरुको लक्ष्य अक्सर विदेशमा भासिने मात्रको हुन्छ । विदेश गएर पढने, कमाउने र स्वदेश फर्केर राष्ट सेवा गर्ने भन्ने हुदैन । हो, त्यस्ता शहरीया जेनजीहरुलाई सत्यनारायणले संर्घष र अभावमा पाएको सफलता ब्यङग जस्तै हो । गाँजा, चुरोट, रक्सी खाएर अरुलाई गाली गर्नु, दोष मात्र दिनु र देशलाई गाली गर्नु, राष्ट्रिय सम्पत्तिमा आगजानी गर्नु र अराजकता फैलाउनु त्यस्ताहरुको आदत हो । जो आवश्यकता भन्दा बढी सुविधा र पैसाले मात्तिएका छन् । हो, त्यस्ताहरुका लागि सत्यनारायणको सफलता एउटा दरिलो झापड हो ।
४ धुर जग्गामा बनेको फुसको झुपडीमा सत्यनारायणले डाक्टर बन्न गरेको संर्घष काठमाण्डौमा पिज्जा र अम्रीकानो खाएर हुर्केका जेनजीहरुलाई के थाहा ? शहर बजारमा हुक्का तानेर र्याप शैलीमा जिन्दगीका योजना बनाउनेहरुलाई सत्यनारायणहरु मान्छे नै लाग्दैनन् । काला, पोषण र खाना नपुगेका अनुहार । त्योपनि दलित परिवारलाई मध्ये तराइमा कस्ता ब्यवहार गरिन्छन् त्यो त समाचारमा आइरहेकै हुन्छ ।
समाचारमा आए अनुसार दिँउसो मजदुरी र साँझ राती पढाई नै सत्यनारायणको दैनिकी थियो । मजदुरीबाट जोगिएको पैसाले किताब किनेर दैनिक ६–७ घण्टा उनले पढाइलाई नै समय दिए । निरन्तरको अध्ययन र संर्घषले उनले सफलता पाएका छन् । र, अहिले उनको सफलतासँगै तारिफ गर्नेहरु बढेका छन् ।
वास्तम्वमा आजको पुँजीवादको विश्वव्यापिकरणको युगमा गरिवी एउटा नरक भन्दा पनि खराब चीज हो । धनीहरुको समाजमा गरिवहरुको कहाँ मुल्य हुन्छ र? अलिसान महलमा बस्ने, महंगा गाडीघोडा चड्नेहरुले बाटामा हिँडने गरिव गुरुवाहरुलाई करिव करिव मान्छे नै ठान्दैनन् । आजका धनी मानिसहरुले जति आफ्नो घरमा पालेका कुकुरलाई श्रद्धा गर्छन् गरिवहरुलाई त्यो बराबर पनि मुल्यवान ठान्दैनन् । बरु पैसा र शक्तिको आडमा गरिवहरुलाई दमन गर्छन्, हेप्छन्, दुत्र्काछन् अनि सकेसम्म उपयोग मात्र गर्छन् । धनीहरुले आफनो आम्दानी घट्दा, काममा ह्याम्पर हुँदा रुन्छन् । मिडियाबाजी गर्छन् । तर गरिवहरु परिश्रम गर्छन् र हाँसेर बाँच्छन् । हो, त्यहि मजदुरीमा हाँसेर बाँचेको परिवार हो सत्यनारायण साफीको परिवार ।
हालै संयुक्त राष्ट्र संघको सहकार्यमा तयार गरिएको विश्वब्यापी असमानता प्रतिबेदन २०२६ अनुसार आज संसारमा १० प्रतिशत मानिसले बाँकी ९० प्रतिशत मानिसले गर्ने आम्दानी भन्दा बढी आम्दानी गर्छन् । संसारको ८ अर्ब जनसंख्यामा ९० करोड मानिस भोकमरीमा छन् । १ करोड १० लाख बढी मानिस निरपेक्ष गरिवीको मारमा छन् । नेपालमै पनि ६० लाख बढी मानिस निरपेक्ष गरिवीमा छन् । १७ लाख भन्दा बढी त एक प्रकारको भोमकरीमा छन् । एकाथरी मान्छेहरु अकुत सम्पत्ति कुम्ल्याएर पृथ्वीको साझा प्राकृतिक स्रोत साधनमाथी कब्जा जमाइरहेका छन् । एर्कोथरी मानिस मनमा सपना संगालेर भोकै, नाङगै संर्घष गर्नु परेको छ । एउटा असन्तुलित समाज व्यवस्थाले विश्वभर मानिसहरु प्रताडित छन् । त्यसैले त प्रगतीशिल बौद्धिकहरु पुजीँवादको विकल्प खोजिरहेका छन् । हामीले प्रगतीशील ब्यवस्था अबलम्बन गर्न सकेनौं, नीतिहरु फेर्न सकेनौं, बजेट र कार्यक्रमहरु गरिव तथा उपेक्षितहरुलाई उकास्ने गरी बनाउन सकेनौ भने सत्यनारायण साफीहरुको जस्तो बेदना धेरैले भोग्नेछन् । र, प्राणि जगतको यो साझा धर्ती, यो पृथ्वीमा युगौं युग नयाँ नयाँ कलेवरको दासता र अन्यायले बास गरिरहने छ ।
प्रकासित मिति २०८२-९-१५












तपाईको प्रतिक्रिया