काठमाडौं २१ वैशाख २०८३।
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै शेयर बिक्री सुरु गरेको हो।
कुल ३४ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले त्यसको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि अनुमति पाएको थियो। यसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले बैशाख २४ गतेसम्म आवेदन दिन पाउनेछन्। तोकिएको अवधिसम्म पूर्ण आवेदन नपरेमा म्याद जेठ ४ गतेसम्म थपिनेछ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिन चाहनेहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रयोग गरेर आवेदन दिन सक्नेछन्।
आईपीओका लागि गरिएको मूल्याङ्कनमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
विशेषगरी विदेशमा कार्यरत नेपालीलाई लक्षित गरी शेयर निष्काशन सुरु हुनु पूँजी बजारमा नयाँ लगानीकर्ता आकर्षित गर्ने प्रयासका रूपमा हेरिएको छ।






तपाईको प्रतिक्रिया