डिजिटल मानववाद :प्रविधि र मानवता बीचको सहयात्रा

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

तोमनाथ उप्रेती,
उपसचिव, नेपाल सरकार

प्रविधि, विगतका यन्त्रप्रधान युगहरूमा जस्तो दक्षताको साधन मात्र रहेन, आज यसले मानव सभ्यताको अस्तित्व र मूल्यसम्बन्धी विमर्शलाई प्रत्यक्ष प्रभावित गरिरहेको छ। डिजिटल मानववादको मूलभूत अवधारणा नै यहीँबाट सुरु हुन्छ—जहाँ प्रविधि न त मानवीयताको विकल्प हो, न नै यसको प्रतिस्पर्धी। बरु, प्रविधिलाई मानव आवश्यकतासँग अनुरूप बनाउनुपर्ने सतर्क प्रयास नै डिजिटल युगको नीति(नैतिकताको केन्द्रीय तत्त्व हो।
समावेशी दृष्टिकोणको आशय यहाँ पहुँच र उपयोगको सतही परिधिभन्दा पर जान्छस यसले विविध वर्ग, लिङ्ग, भाषा, संस्कृति र क्षमताका मानिसहरूलाई प्रविधिको लाभदायी दायरामा ल्याउने संकल्प लिन्छ। जब प्रविधि मानवताको संवाहक बन्छ—अर्थात्, करुणा, न्याय, र समानताको संवेदनशीलतासँग संगालिएर विकास हुन्छ—त्यतिखेर मात्र हामी डिजिटल मानववादको यथार्थ यात्रामा छौं भन्न सकिन्छ।
यो दृष्टिकोणले प्रविधिलाई नवप्रवर्तनको साधन मात्र होइन, सामाजिक रूपान्तरणको सहयात्रीका रूपमा हेरिन्छ। यस्तो मानवमुखी प्रविधिले न विकासको रफ्तार तीव्र बनाउँछ, बरु समाजमा अन्तर्निहित असमानता, बहिष्करण र अन्यायको जरा समेत समूल उखेल्ने सामर्थ्य राख्छ। डिजिटल मानववाद, त्यसैले, भविष्यको प्रविधि(विकास होइन, मूल्य(विकासको आन्दोलन हो।
प्रविधिको अत्याधुनिक युगमा जब डिजिटल रूपान्तरणले मानव समाजलाई तीव्र गतिमा ढालिरहेको छ, त्यही क्षण एक प्रश्न उठ्छ—के प्रविधिको यो उत्कर्ष मानवीय मूल्यहरूसँग संगत छरु यही द्वन्द्वात्मक चेतनाबाट जन्मिएको अवधारणा हो—डिजिटल मानववाद। यो एक प्रविधि–सम्बन्धी विमर्श मात्र होइन, एक समग्र मानवकेन्द्रित दृष्टिकोण हो, जसले प्रविधिको विकासलाई मानवता, नैतिकता र सामाजिक उत्तरदायित्वको आलोकमा पुनःसंरचना गर्न चाहन्छ। यसको केन्द्रमा मान्छेको अस्तित्व, गरिमा र स्वतन्त्रताको सुनिश्चितता छ। डिजिटल मानववादले प्रविधिलाई अस्वीकार गर्दैन, तर प्रविधिको प्रयोगले मान्छे स्वयंको चेतना, भावना र संवेदनालाई कमजोर नपारोस् भन्ने आग्रह गर्छ।
युगान्तकारी प्रविधिहरू—कृत्रिम बौद्धिकता, बिग डेटा, एल्गोरिदम—यी सबैले निर्णय प्रक्रिया, सामाजिक अन्तरक्रिया र निजी जीवनका संरचना नै पुनःलेखन गरिरहेका छन्। तर यी विकासहरूले साथमा ल्याएका छन् गम्भीर दार्शनिक, नैतिक र सामाजिक प्रश्नहरू—के एल्गोरिद्मको निर्णय मानवीय संवेदनाको विकल्प होरु के डेटा मात्रबाट न्याय सम्भव छरु डिजिटल मानववाद यिनै प्रश्नहरूको उत्तर हो, जहाँ प्रविधिको प्रयोग मानवीय सन्दर्भमा खिचिन्छ। फ्लोरिडी, निडा(रूमेलिनजस्ता चिन्तकहरूले औंल्याएझैं, प्रविधिको उद्देश्य दक्षता वा गति होइनस त्यो सामाजिक न्याय, समावेशिता र गरिमाको संवाहक पनि हुनुपर्छ।
नेपालको सन्दर्भमा डिजिटल मानववादले तीव्र आर्थिक–सामाजिक असमानता, पहुँचको भिन्नता र डिजिटल साक्षरताको अन्तरलाई उजागर गर्छ। काठमाडौंका विद्यालयहरूमा जुम कक्षा र स्मार्ट बोर्डको सुलभता छ भने, कर्णालीका बालबालिकाहरू अझै पनि रेडियो शिक्षामा आश्रित छन्—यिनै परिदृश्यहरू मानवतामाथिको प्रविधिक आक्रमण हो जब प्रविधिले न्याय होइन, भेद उत्पन्न गर्छ। त्यस्तै, नागरिक एप वा ई–सेवा जस्ता प्रणालीहरूले सेवा प्रवाहलाई त छरितो बनाएका छन्, तर दृष्टिविहीन, अशिक्षित वा ज्येष्ठ नागरिकका लागि ती प्रणालीहरू अझै असहज छन्। प्रविधिलाई मानव–मैत्री बनाउन, नीति निर्माणदेखि उपकरण डिजाइनसम्म समावेशिता र संवेदनशीलता अनिवार्य हुनुपर्छ। डिजिटल मानववाद यही सचेतता हो—जहाँ प्रविधि विकास भनेको सबैको लागि न्यायोचित पहुँच हो, प्रविधिको चमत्कार होइन।
सामाजिक सञ्जाल, अनलाइन शिक्षा, टेलिमेडिसिन जस्ता क्षेत्रहरूमा प्रविधिको उपयोग देख्दा प्रगतिको अनुभूति हुन्छ, तर त्यसले निम्त्याएका मनोवैज्ञानिक, नैतिक र सामाजिक असरहरूलाई बेवास्ता गर्नु खतरनाक हुन्छ। आत्मग्लानि, एक्लोपन, साइबर बुलिङ जस्ता समस्या अब शहरी पश्चिमी समाजका चिन्तन होइनन्स यी नेपालका किशोरहरूको यथार्थ बन्दै गएका छन्। ‘डिजिटल आत्मचेतना’ ले सहानुभूति र सामाजिक उत्तरदायित्वलाई विस्थापित गर्दैछ। यस्तो परिवेशमा डिजिटल साक्षरतासँगै डिजिटल नैतिकता, भावनात्मक सहिष्णुता र संवेदनशीलता सिकाउने शिक्षाको खाँचो छ। यो शिक्षा प्रविधिको प्रयोग होइन, प्रविधिको विवेकशील प्रयोगमा केन्द्रित हुनुपर्छ। डिजिटल मानववाद शिक्षामा नैतिक नेतृत्वको आग्रह हो—जहाँ प्रविधिको सीपसँग मानवीय संवेदना पनि सिकाइन्छ।
डिजिटल मानववाद कुनै प्रविधिको विरोध होइनस यो प्रविधिप्रतिको सजग प्रेम हो—जहाँ चेतनाले प्रविधिलाई निर्देशन दिन्छ, प्रविधिले चेतनालाई होइन। यो दृष्टिकोणले प्रविधिलाई उद्देश्य होइन, साधनको रूपमा हेर्छ—एक यस्तो साधन, जसले मानवताका सेवक भएर काम गर्छ। नेपालजस्ता संक्रमणकालीन समाजमा, जहाँ आधुनिकता र परम्परा बीचको द्वन्द्व तीव्र छ, डिजिटल मानववाद मार्गदर्शक सिद्धान्त बन्न सक्छ। यसले नीतिनिर्माता, शिक्षक, प्रविधिविद् र सर्वसाधारण सबैलाई एउटै साझा उद्देश्यतर्फ उन्मुख गराउँछ—प्रविधिको प्रयोग मानवताको लागि। यही हो डिजिटल मानववादको अन्तिम सत्य—जहाँ हाम्रा सबै डिजिटल निर्णयहरूमा मानव हृदयको स्पन्दन रहनुपर्छ।

प्रकासित मिति २०८२-३-४

तपाईको प्रतिक्रिया