बिजनेस पोष्ट

काठमाण्डौ २१ चैत्र २०८१
एनआईसी एशिया बैंकले चैत २५ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।
बैंकले कुल ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्नेछ, जसको प्रतिकित्ता अंकित मूल्य १ हजार रुपैयाँ तोकिएको छ। यसमा ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि खुला गरिनेछ। सर्वसाधारणका लागि छुट्याइएकोमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्रको निष्काशन चैत २८ गते छिटोमा बन्द हुनेछ भने ढिलोमा २०८२ वैशाख ८ गतेसम्म खुला रहनेछ।
यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयरमार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई ‘आईआरएन इस्यूअर रेटिङ ट्रिपल बी प्लस’ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व समयमा पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्छ। ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्तिपछि कर कट्टी गरी भुक्तानी गरिनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया