काठमाण्डौ ७ बैशाख २०८२
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशतले बढेको छ।
बैंकले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ३ अर्ब २७ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो। खुद ब्याज आम्दानीमा ६.५० प्रतिशतको कमी आए पनि इम्पेरमेन्ट चार्ज ३ अर्ब ४ करोडबाट घटेर १ अर्ब १९ करोडमा सीमित भएकाले नाफा वृद्धि भएको बैंकले जनाएको छ।
समीक्षा अवधिमा खुद फि तथा कमिशन आम्दानी ३३.२४ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २२.२६ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, कुल सञ्चालन आम्दानी १.६५ प्रतिशतले घटेको छ। प्रतिशेयर आम्दानी गत वर्षको तुलनामा ४.९४ रुपैयाँ बढेर १७.७४ रुपैयाँ पुगेको छ।
चैत मसान्तसम्म बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। बैंकले ४ खर्ब ५५ अर्ब ८९ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २७ अर्ब ८२ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.९२ गुणा रहेको छ। वितरणयोग्य आम्दानी १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ।
बैंकले इम्पेरमेन्ट चार्जमा आएको कमी र कमिशन आम्दानीमा भएको वृद्धिलाई नाफा वृद्धिको प्रमुख कारण मानेको छ। यद्यपि, वितरणयोग्य आम्दानी ऋणात्मक रहनुले लाभांश वितरणमा चुनौती देखिएको छ।













तपाईको प्रतिक्रिया