काठमाडाैँ १५ बैशाख २०८३
माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आफ्नो मुनाफामा उल्लेख्य सुधार भएको जानकारी दिएको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा खुद नाफा र प्रतिशेयर आम्दानी दुवैमा गत वर्षको तुलनामा उत्साहजनक वृद्धि देखिएको हो।
समीक्षा अवधिमा बैंकले १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.४३ प्रतिशतले बढी हो। गत वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानीमा सामान्य सुधार आए तापनि इम्पेरमेन्ट चार्जमा भएको भारी कटौतीले नाफा वृद्धिमा मुख्य भूमिका खेलेको देखिन्छ। विवरण अनुसार बैंकको इम्पेरमेन्ट चार्ज घटेर ६७ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ जसका कारण सञ्चालन मुनाफा १६.६४ प्रतिशतले बढ्न पुग्यो।
वित्तीय विवरण अनुसार बैंकको खुद फि तथा कमिशन आम्दानी २८.२३ प्रतिशत र कुल सञ्चालन आम्दानी ९.९३ प्रतिशतले वृद्धि भएको छ। नाफासँगै लगानीकर्ताका लागि महत्वपूर्ण सूचक मानिने प्रतिशेयर आम्दानी पनि ६ रुपैयाँ १४ पैसाले बढेर १८ रुपैयाँ ३० पैसा कायम भएको छ। हाल बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात १३.७७ गुणा रहेको छ।l
बैंकको पुँजीगत अवस्थातर्फ ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरेपछि चुक्ता पूँजी १५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ८ अर्ब २२ करोड रुपैयाँ सञ्चित छ। व्यवसाय विस्तारका क्रममा बैंकले चैत मसान्तसम्म २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल बैंकसँग ७६ करोड २२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ जस अनुसार वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८१ पैसा देखिएको छ।











तपाईको प्रतिक्रिया