काठमाडौं ८ आश्विन २०८३।
चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामा नेपालका २० वाणिज्य बैंकहरूको कर्जा लगानीमा उल्लेख्य सुधार देखिएको छ। असार मसान्तदेखि भदौ मसान्तसम्म बैंकहरूको कुल कर्जा लगानी करिब ६१ अर्ब रुपैयाँले वृद्धि भएको हो।
असारको अन्त्यसम्म ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कुल कर्जा लगानी भदौ मसान्तसम्म आइपुग्दा ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकहरूले थप ६० अर्ब ९७ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन्।
साउनमा भने बैंकहरूको कर्जा लगानीमा केही संकुचन देखिएको थियो। उक्त महिनामा कर्जा लगानी १ अर्ब ७१ करोड रुपैयाँले घटेको थियो। तर भदौमा कर्जाको मागमा उल्लेख्य सुधार आएपछि एकै महिनामा ६२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको देखिन्छ।
कर्जा विस्तारमा ग्लोबल आइएमई सबैभन्दा अगाडि
दुई महिनाको अवधिमा सबैभन्दा धेरै नयाँ कर्जा विस्तार गर्ने बैंक ग्लोबल आइएमई बनेको छ। बैंकले असार मसान्तको तुलनामा भदौ मसान्तसम्म आफ्नो कर्जा लगानी २० अर्ब १ करोड रुपैयाँले बढाएको छ।
यसैगरी एभरेष्ट बैंकले १२ अर्ब ८८ करोड र लक्ष्मी सनराइज बैंकले १० अर्ब ३१ करोड रुपैयाँ थप कर्जा लगानी गरेका छन्। कुमारी बैंकको कर्जा ७ अर्ब ६५ करोड, नबिल बैंकको ७ अर्ब ६ करोड, सिद्धार्थ बैंकको ४ अर्ब ८० करोड, माछापुच्छ्रे बैंकको ४ अर्ब ७४ करोड तथा एनएमबि बैंकको ४ अर्ब २९ करोड रुपैयाँले बढेको छ।
कुल कर्जामा ग्लोबल आइएमई र नबिलबीच झिनो अन्तर
भदौ मसान्तसम्मको कुल कर्जा लगानी हेर्दा ग्लोबल आइएमई बैंक र नबिल बैंकबीच पहिलो स्थानका लागि निकै नजिकको प्रतिस्पर्धा देखिन्छ।
ग्लोबल आइएमई बैंकको कुल कर्जा लगानी ४ खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। नबिल बैंक भने ४ खर्ब ९५ अर्ब ४ करोड रुपैयाँ कर्जासहित दोस्रो स्थानमा छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल कर्जा ३ खर्ब ५९ अर्ब ७९ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३ खर्ब ४९ अर्ब ७१ करोड र लक्ष्मी सनराइज बैंकको ३ खर्ब ३० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यी बैंकहरू कुल कर्जा लगानीका आधारमा शीर्ष पाँचमा छन्।
सात बैंकको कर्जा लगानी घट्यो
समग्रमा बैंकिङ क्षेत्रमा कर्जा विस्तार सकारात्मक देखिए पनि २० मध्ये सात बैंकको कर्जा लगानी भने समीक्षा अवधिमा घटेको छ।
सबैभन्दा ठूलो गिरावट एनआईसी एशिया बैंकमा देखिएको छ। बैंकको कर्जा लगानी ६ अर्ब ६९ करोड रुपैयाँले घटेर २ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ।
सानिमा बैंकको कर्जा ३ अर्ब ४६ करोड, प्रभु बैंकको २ अर्ब ७९ करोड र प्राइम कमर्सियल बैंकको १ अर्ब ४१ करोड रुपैयाँले घटेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा लगानीमा पनि केही कमी आएको छ।
बैंकरहरूका अनुसार चाडपर्वको मौसम नजिकिँदै जाँदा सवारीसाधन तथा उपभोग्य वस्तुको आयातसँगै व्यापारिक गतिविधि बढ्न थालेकाले कर्जाको मागमा सुधार आएको हो। बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध हुनु र ब्याजदर तुलनात्मक रूपमा घट्दै जानुले पनि कर्जा विस्तारलाई थप गति दिने अपेक्षा गरिएको छ।











तपाईको प्रतिक्रिया