काठमाडौं ५ जेठ २०८२
(बिजनेसपोष्ट–समाचार टिप्पणी)
गभर्नर नियुक्ति प्रक्रियामा नयाँ नयाँ अनुहारको नाम चर्चामा ल्याइएको छ । खासगरी हाल कामु गभर्नर निलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि नियुक्ति प्रक्रिया झन् जटिल बनेको हो ।
पछिल्लो पटक नेपाली कांग्रेसका तर्फबाट अर्थशास्त्री डा विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्ने प्रस्ताव कांग्रेसले गरेको चर्चा थियो । सोही अनुरुप डा पौडेलले गर्भनर सिफारिस समितिबाट राजिनामा समेत दिएका हुन् । तर उनको नाममा सार्वजनिक रुपमा ब्यापक विरोध आएको र विभिन्न मुद्धा पर्न थालेपछि सरकार हच्किएको देखिन्छ । त्यसमाथी विपक्षी राजनीतिक दलहरुले गर्भनर नियुक्तिमा बिचौलिया र स्वार्थसमुह हाबी भएको भनेर बोलिरहँदा विगतमा विभिन्न संघ-संस्था तथा व्यवसायीहरुसँग नजिक रहेर काम गरेका पौडेलको विरोध भएको हो ।
त्यसमाथी नेपाल राष्ट बैंक ऐन अनुसार गर्भनरको लागि शैक्षिक रुपमा योग्य भएर मात्र हुदैन । कुनैपनि राजनीतिक दलहरुको सदस्य वा राजनीतिक गतिविधिमा रहनु योग्य ठर्हदैन । तर विश्व पौडेल गत निर्वाचनमा नेपाली काङ्ग्रेसबाट चुनाब लडेका ब्यक्ति हुन् । उनी काङ्ग्रेस महासमिति सदस्य समेत हुन् । त्यसकारण पनि उनलाई काँग्रेसले अगाडी बढाउन थालेसँगै ब्यापक विरोध भएको हो । सो विरोधको तारो सरकारको नेतृत्व गरेको एमाले र केपि ओली नेर्तत्वको सरकार भएपछि सरकार हच्किएको देखिन्छ ।
स्रोतका अनुसार आज सोमबार बस्ने मन्त्री परिषदको बैंठक सोही कारण स्थगीत भएको हो । बालुवाटारमा अहिले गर्भनर नियुक्तिकै विषयलाई लिएर काग्रेस सभापती शेरबहादुर देउवा र प्रधानमन्त्री केपि शर्मा ओलीबीच भेटबार्ता हुने भनिएको छ । छ ।
डा. पौडेल काङ्ग्रेसबाट पटक-पटक अवसर पाएका ब्यक्ति हुन् । यसअघि पनि राष्टिय योजना आयोगको सदस्य, उपाध्यक्ष बनाइएका उनी कांग्रेसबाटै सासदको टिकट पाएपछि राजिनामा दिएर मैदानमा उत्रिएका ब्यक्ति हुन् । सार्वजनिक रुपमै उनको विरोध हुन थालेपछि पछिल्लो समय कांग्रेसवृतबाट अर्थशास्त्री डा अंगराज तिमिल्सिनाको नाम गभर्नरको रुपमा अगाडि सारिएको बुझिएको छ । ओली-देउवाको भेटमा सोही विषयमा केन्द्रित हुने अडकल गरिएको छ ।
काङ्ग्रेसका अनुयायी भएपनि हालसम्म अवसर नपाएका तिमल्सीना सार्वजनिक रुपमा निष्कलंक र भलाद्मी छबि बनाएका र अध्ययनमा पनि अब्बल दरिएका ब्यक्ति हुन् । संयुक्त राष्ट्र संघीय विकास नियोगदेखि विश्व बैंकको उच्च तहमा काम गरेर अनुभव हासिल गरेका उनी सुदुरपश्चिमको अति विकट जिल्ला बाजुराका हुन् । पछिल्लो समय उनैलाई गर्भनर बनाएर सार्बजनिक विरोधबाट उम्कने र फेसवास गर्ने सरकारको चाहना देखिन्छ । त्यही चाहना अनुसार आजको मन्त्री परिषद बैठक स्थगित गरेर प्रधानमन्त्री ओली देउवासँगको संवादमा जुटेका हुन् । त्यसकारण पनि अबको गर्भनर डा अंगराज तिमिल्सिना भए भने आश्चर्य नमान्दा हुन्छ ।









तपाईको प्रतिक्रिया