काठमाण्डौ २० बैशाख २०८३
नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् । मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् ।
मुन्दुम ट्रेल आसपासका हरिया वन तथा घाँसेमैदान क्षेत्रमा ढकमक्क भएर फुलेका गुराँसको रातो, सेतो र गुलाबी रङ मिसिँदा देखिने दृश्यले जो कोहीको मनलाई मोहित बनाउने गरेको छ ।
खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट सुरु भएको मुन्दुम ट्रेल आसपासका वनमा फुलेका लालीगुराँस, चिमाल तथा चाँप हेर्न यतिबेला आन्तरिक तथा बाह्य पर्यटक मुन्दुम ट्रेल आउने गरेको स्थानीयले बताएका छन् ।
हालै मात्र मुन्दुम ट्रेलको पदयात्रा पूरा गर्नुभएका हिँड्ने मान्छे उपनामले चिनिनुहुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारका ओजनबाबु आचार्य नेतृत्वको टोलीले उक्त क्षेत्र निकै मनोहक रहेको बताएको छ ।
उक्त टोलीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका लालबहादुर मगर ‘एलबी’, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका सञ्जिव राई र साकेला गाउँपालिका–३ खिदिमाका सन्जित राई सहभागी हुनुहुन्थ्यो । मुन्दुम ट्रेलको चारदिने यात्रा पूरा गरेर फर्किएको टोलीले सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राममा राखेका विभिन्न रङ र प्रजातिका गुराँसका तस्वीर अहिले धेरैको रोजाइमा परेको छ ।
हिँड्ने मान्छेको टोलीले खिचेर सार्वजनिक गरेका गुराँसका तस्वीरहरु जिल्लाका प्रकृतिप्रेमीले आफ्नो फेसबुकमा राख्दै मुन्दुम ट्रेलको वर्णन गरिरहेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरका प्रभावले झनै गुराँस अवलोकन गर्नका लागि मुन्दुम ट्रेल जाने अन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
मुन्दुम ट्रेल प्रकृतिको अनुपम उपहार भएकाले हरेक वर्ष कम्तिमा पनि दुई पटक वसन्त र शरद् ऋतुमा यात्रा गर्न जाने गरेको हिँड्ने मान्छेले बताउनुभएको छ ।
‘मुन्दुम ट्रेलमा यतिबेला विभिन्न रङ तथा प्रजातिका गुराँस ढकमक्क भएर फुलेका हुन्छन् । अन्य ठाउँमा पाखामा गुराँस फुलेको पाइन्छ । तर, यहाँ घाँसै मैदानमै ढकमक्क भएर गुराँस फुलेको भेटिन्छ’, उहाँले भन्नुभयो, ‘शरद ऋतुमा लेकाली फूलहरु फुल्छन् । मुन्दुम ट्रेल प्रकृतिप्रेमीका लागि अनुपम उपहार हो । मुन्दुम ट्रेलमा ठूल्ठूला घाँसेमैदान छन् । त्यो अवलोकन गर्दा स्वर्गीय आनन्द आउँछ ।’
प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र साहसिक पदयात्राको अद्वितीय सङ्गमका रूपमा स्थापित मुन्दुम ट्रेल क्षेत्र यतिबेला गुराँसले ढकमक्क ढाकिँदै झन् रमणीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । मुन्दुम ट्रेल आसपासका क्षेत्रमा पर्ने मैयुङका फाँटमा विभिन्न १८ प्रजातिका गुराँस पहिचान भएको र अझै यकीन तथ्याङ्क आउन बाँकी रहेको अनुसन्धानकर्ताले बताएका छन् ।
कामको थकान मेटाउन र प्रकृतिसँग रम्न फुर्सदको समय निल्नेबित्तिकै मुन्दुम ट्रेलमा जाने गरेको एलबी मगरले बताउनुभएको छ । ‘मुन्दुम ट्रेल जाँदा प्रकृतिसँग रम्न पाउनुका साथै चौँरीको दूध आफैँले तताएर खान पाइन्छ । त्यहाँका घाँसेमैदानमा पालिएका घोडासमेत चढ्न पाइन्छ’, उहाँले भन्नुभयो, ‘यसपटकको मुन्दुम ट्रेलको यात्रा झनै अविस्मरणीय रह्यो । त्यति धेरै रङ र प्रजातिका गुराँस पहिलो पटक प्रत्यक्ष अवलोकन गर्न पाउँदा आनन्दित महसुस भएको छ ।’











तपाईको प्रतिक्रिया