लेखक : भुपेन्द्र थापा ( माधव )
आज फेरि मे दिवस आयो,
रातो झण्डा सडकभरि फहरायो,
तर श्रमिकको चुल्होमा आज पनि
भोकले नै आगो बलिरह्यो।
जसले शहर उठायो आफ्नै काँधमा,
उही मान्छे ओत खोज्दै भौतारिरहेछ।
जसले देशका सपनाहरु जोतिरह्यो,
उही श्रमिक आफ्नै भविष्यसँग हारिरहेछ।
कसैको पसिनाले महल बन्यो,
कसैको रगतले सडक चम्कियो,
तर श्रमिकका छोराछोरीको आँखामा
अझै अभावको अँध्यारो बलिरह्यो।
विदेशिएका युवाका आमाहरू
दैलोमा आँखा टाँसेर टोलाई रहन्छन्
देशभित्रका बेरोजगारी खाली हातहरु
दुख,कष्ट र अभाबले परदेशीन बाध्य छन्।
हे राज्य !
श्रमिकलाई भाषण होइन,
बाँच्ने आधार देऊ,
उसको पसिनालाई दया होइन,
सम्मान र अधिकार देऊ।
यो देश तब मात्र बाँच्नेछ,
जब श्रमिकको हात खाली हुनेछैन,
जब पसिनाको मूल्य हुनेछ,
जब कुनै नेपाली युवा
रोटीका लागि देश छोड्न बाध्य हुनेछैन।
आज संसारभरिका श्रमिकहरूलाई
संघर्ष र एकताको रातो सलाम,
आम उत्पीडित नेपाली श्रमिकहरुलाई
आशा,भरोसा र अधिकारको हृदय देखि सम्मान।
प्रकासित मिति २०८३-१-१९ गते











तपाईको प्रतिक्रिया