‘स्वाभिमान प्रथम-समृद्धि प्रथम’

Bizness Post बिजनेस पोष्ट
|
३ मिनेट अगाडि

चुडामणि अधिकारी
जेनजी आन्दोलनपछि गत फागुन २१ को निर्वाचनबाट प्रचण्ड बहुमत प्राप्त गरेर नेपाली युवाहरुको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी १०० कार्यसुची तथा कार्यक्रम लिएर सरकार चलाउन सुरु गरेको छ । ती कार्यक्रमहरुमध्ये ‘नेपाल प्रथम, नेपाली प्रथम’को नारा निकै कर्णप्रीय र सम्मोहनयुक्त छ । के अब हाम्रो मुलुक स्वाभिमान प्रथम, सम्बृद्धि पथमा हिँड्न थालेकै हो त ? केही संकेतहरुले हो जस्तो पनि लाग्न थालेको छ । नेपाली जनताले गत फागुन २१ को निर्वाचनमा अब युवा प्रथमको भावनाले ओतप्रोत भएर रवी–बालेन नेतृत्वको रास्वपालाई झण्डै दुई तिहाई पुग्ने गरी २८२ छिट दिएर बिजयी गराए । पुराना पार्टीहरु र तिनीहरुको शासन गर्ने शैलीलाई जनताले मतदानबाटै कार्वाही गरे । राजनीतिमा उतारचढाब सामान्य रुपमा हुन्छ नै । यसलाई त्यसरी नै लिनुपर्दछ ।
झापा ५ बाट निर्वाचित काठमाण्डौका पुर्ब मेयर बालेन्द्र शाहलाई रास्वपाले संसदीय दलको नेता चयन गरेर नेपालको पहिलो युवा प्रधानमन्त्री बन्ने अवसर प्रधान गर्यो । प्रम बन्ने वित्तिकै प्रधानमन्त्री शाहले मन्त्रालयको संख्या सिमित गरेर १७ वटामा झारे । सबै छिमेक तथा मित्र राष्ट्रका राजदुतहरुलाई एउटै बैठकमा बोलाएर सन्तुलित परराष्ट्र नीतिको नेपाली जनतालाई संकेत दिए । भौतिक सम्पत्तिको रक्षाको लागि सुकुम्बासी समस्यालाई अलिकति अनुसन्धान नगरीकन समाधान गर्ने कोशिस गर्दा यसको आलोचना सर्वत्र भइरहेको छ । यो मौसम हाम्रो मुलुकमा घरटहरा भत्काउने मौसम होइन । नागरिकहरुको अभिकावक पनि सरकार नै हो । भौतिक सम्पतिको रक्षा गर्दा मानवीय पक्ष माथि आघात पुगेको छ । प्रमाणिकरण सकेपछि वास्तविक सुकुम्बासीहरुलाई स्थायी रुपले घर टहरा निर्माण गरेर वा पुनरबासको ब्यवस्था गरेर त्यहाँ राख्नु पथ्र्यो । यसको लागि उपयुक्त मंसिर, पुष तिर हुन्थ्यो । काम ठीक भएपनि शैलीको कारणले सरकारको ब्यापक आलोचना भइरहेको छ । सुकुम्बासी समस्या सामाधान गर्नै पथ्र्यो । किनकि खोला किनारमा बाढी असार साउनमा आउँदा धेरै नागरिकहरुलाई बगाएर गत सालको जस्तो ठुलो धनजनको क्षती पनि हुनसक्थ्यो । त्यसको दोष पनि सरकारमै आउँथ्यो ।
प्रम शाहले आफनो सरकारको छविलाई स्वच्छ राख्न आफना मन्त्रीमण्डलका सदस्यहरु माथि सप्रमाण प्रश्न उठ्दा तत्काल राजिनामा गराउने हिम्मत गरेको देख्दा नेपाली जनताको मन जितिरहेका छन् । सरकार विदेशी राजदुतहरु, विदेशी दुतहरु भेटघाट गर्न आउँदा आफनो प्रोटोकल भन्दा तलका जुनसुकै शक्ति राष्ट्रका भएपनि भेटेका छैनन् । राष्टको स्वाभिमानलाई प्रथम स्थानमा राख्न थालेका छन् । ‘नेपाल प्रथम’ भनेको स्वाभिमान प्रथम हो जस्तो लाग्छ । नेपाली प्रथम भनेको समग्र नेपालीको रक्षा र सम्बृद्धि प्रथम भन्ने अर्थ पनि लाग्छ । हाम्रो मुलुक पनि स्वाभिमान प्रथम, सम्बृद्धि प्रथमको पथमा हिँड्ने हिम्मत गर्न थालेको देख्दा सरकारको छवि जनता माझ माथी माथी उठिरहेको छ । राष्ट्रको सम्बृद्धिले मात्र सबै नेपालीको जीवन उत्पति हुने, हुर्कने, फुल्ने, फल्ने पोषण उर्जा प्रदान गर्छ । स्वाभिमान प्रथमको नाराले हाम्रो उत्तरको छिमेकी मित्र राष्ट्र चिनले सन् १९४९ देखि मुक्त भएर आज २१ ट्रिलियन डलरको अर्थतन्त्र निर्माण गरेको छ । अब विश्वको प्रथम धनी राष्ट्र हुने दौडमा दोश्रो स्थानमा पुगेको छ । स्वाभिमान प्रथमपथमा हिँड्न सक्दा मुलुकभित्र जनताको विश्वास बढ्ने र अन्र्तराष्ट्रिय जगतले पनि सलाम र कदर गर्दो रहेछ । टायम म्यागेजिनको विश्वको १०० प्रभावशाली व्यक्तिको लिष्टमा प्रधानमन्त्री बालेन शाह पनि आफनो ठाउँ राख्न सफल हुनु भएको छ । विश्वमा नेपाल र नेपाली प्रति आज आर्कषण बढेको छ । यो आर्कषण र कदरले सधै प्रधानमन्त्रीलाई ठीक बाटोमा हिँडन प्रेरित गरिरहन्छ । यो कदर एउटा उर्जा हो । कुनैपनि मानिस आफनो स्तर माथि गएपछि तल झर्न चाहन्न । यो मानवीय गुण हो । सरकारको सम्पति शुद्धिकरणको अभियानले नेपाल अब छिट्टै ग्रे लिष्टबाट हट्ने सम्भावना पनि बढीरहेको छ । ’नेपाल मेरो बृहत घर होः, राजनीति मेरो त्यो बृहत घरको घर ब्यवहार होः, सबै बर्गका नेपाली जनता मेरो परिवार होः, म सबैको अभिभावक र संरक्षक हुँ‘ भन्ने भावनाले प्रधानमन्त्रीले काम गर्नु पर्दछ । सुकुम्बासी समस्या समाधान गर्ने क्रममा देखिएको मानवीय त्रुटीहरु देख्दा राष्ट्रको अभिभावकीय भुमिकामा प्रधानमन्त्री केही कमजोर देखिनु भएको छ ।
विश्वको कुनैपनि शैन्य गुटमा संलग्न नगराइकन नेपाललाई असंग्लन परराष्ट नीतिको पथमा हिँडाउने हिम्मत र आँट प्रधानमन्त्रीले गर्न थालेको देख्दा स्वाभिमानी नेपालीहरु प्रमको परराष्ट्र कुटनीतिक अक्कलको प्रसंशा पनि भइरहेको छ । नेपालको मणि वा आलोक भनेकै असंग्लन परराष्ट्र नीति हो । यो मणि र आलोकको गरिमा सधैं उज्वल भइरहोस् भन्ने राष्ट्रको सबै जीवनबाट अभिलाशा राखिएको छ । ‘स्वाभिमान प्रथम’मा हिँडन जानेमात्र सम्बृद्धि प्रथमको बाटो पनि वास्तम्वमा खुल्ला हुँदै जानेछ । प्रधानमन्त्रीको ब्यवहार यस क्षेत्रमा सन्तुलित देखिन थालेको छ । यस्तो संन्तुलन राष्टिय ब्यवहारमा सबैतिर देखियोस् भन्ने सोचिएको छ ।

प्रकासित मिति २०८३-१-१९ गते

तपाईको प्रतिक्रिया