कुमारी बैंकद्वारा गौमुलका ६ विद्यालयलाई स्मार्ट टेलिभिजन सहयोग

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

काठमाडौं २६ असार २०८३।

कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्रमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले ६ वटा सामुदायिक माध्यमिक विद्यालयहरूलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ। बैंकको गौमुल शाखाले गाउँपालिकासँगको समन्वयमा सो डिजिटल प्रविधि हस्तान्तरण गरेको हो।

यो सहयोगबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। यसले विद्यार्थीहरूको डिजिटल शिक्षामा पहुँच विस्तार गर्दै गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयहरूमा यस सहयोगले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, रोचक र प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा छ। यो कार्यक्रमबाट गाउँपालिकाका विभिन्न वडामा रहेका ६ वटा माध्यमिक विद्यालयहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

बैंकका अनुसार वडा नम्बर ५ को श्री मानाकोट माध्यमिक विद्यालय, वडा नम्बर २ को श्री जनज्योति माध्यमिक विद्यालय र वडा नम्बर १ को श्री अम्दिश माध्यमिक विद्यालयले स्मार्ट टेलिभिजन प्राप्त गरेका छन्। त्यस्तै वडा नम्बर २ को श्री फूलपाता माध्यमिक विद्यालय, वडा नम्बर ६ को श्री कीर्तिचौर माध्यमिक विद्यालय र वडा नम्बर ३ को श्री बालविकास माध्यमिक विद्यालय पनि यस कार्यक्रममा समेटिएका छन्।

शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार भएको विश्वास गर्दै कुमारी बैंकले ग्रामीण तथा सहरी क्षेत्रबीच रहेको शैक्षिक अवसर र स्रोत–साधनको असमानतालाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। उपलब्ध गराइएको स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीहरूलाई डिजिटल सामग्री, श्रव्य–दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित शिक्षासँग जोड्न सहयोग पुग्ने बैंकले जनाएको छ।

यसबाट दुर्गम क्षेत्रका विद्यार्थीहरूले पनि सहरी क्षेत्रका विद्यार्थीसरह प्रविधिमैत्री सिकाइको अवसर प्राप्त गरी गुणस्तरीय शिक्षामा समान पहुँच हासिल गर्न सक्ने अपेक्षा गरिएको छ। बैंकले “समुदायका लागि कुमारी बैंक” भन्ने मूल भावनाअनुरूप शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

शिक्षा क्षेत्रमा गरिएको यस सहयोगले भविष्यका पुस्ताहरूलाई डिजिटल युगअनुकूल ज्ञान र सीप हासिल गर्न प्रेरित गर्नुका साथै स्थानीय स्तरमा शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बैंकले विश्वास व्यक्त गरेको छ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर फैलिएका २ सय ८६ शाखा, ४१ विस्तारित काउन्टर, ३ सय ४ एटीएम र ४० शाखारहित बैंकिङ एकाइंमार्फत लाखौँ ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।

नेपालको जुनसुकै स्थानमा बसोबास गर्ने प्रत्येक नेपालीलाई सहज, सुरक्षित तथा गुणस्तरीय बैंकिङ पहुँच सुनिश्चित गर्ने प्रतिबद्धतासहित बैंकले सहरी, अर्ध–सहरी तथा ग्रामीण क्षेत्रसम्म आफ्नो सेवा विस्तार गरेको छ। साथै, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमार्फत समाजको दिगो विकासमा योगदान पुर्‍याउने कार्यलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

Advertisement