महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी माघ महोत्सव’ सञ्चालन गर्दै डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्ने

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौं ।

महालक्ष्मी विकास बैंकले माघ महिनालाई डिजिटल कारोबार प्रवर्द्धन महिनाको रुपमा मनाउँदै “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने भएको छ। यस महोत्सव मार्फत बैंकले ग्राहक सुविधा अभिवृद्धि गर्दै नगद रहित बैंकिङ्ग कारोबारलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।

बैंकका अनुसार दैनिक कुल कारोबारको ८० प्रतिशतभन्दा बढी डिजिटल माध्यमबाट भइरहेको छ। यस अभियानलाई थप आकर्षक बनाउन बैंकले मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत व्यक्तिगत मुद्धती खाता खोल्दा सामान्य ब्याजदरभन्दा ०.२५ प्रतिशत बढी ब्याजदर उपलब्ध गराउने सुविधा थप गरेको छ। ब्याजदर नेपाल राष्ट्र बैंकको नियमन भित्र प्रदान गरिनेछ।

Individual News: Banner Ad For Paragraph 2

त्यसैगरी, भर्चुअल तथा साधारण क्रेडिट कार्ड जारी गर्दा वार्षिक शुल्कमा १०० प्रतिशत छुट, डेबिट कार्ड जारी तथा मोबाइल बैंकिङ्ग दर्ता गर्दा पनि १०० प्रतिशत छुट प्रदान गरिनेछ। मोबाइल एपमार्फत फार्मेसी बिल भुक्तानी गर्दा ग्राहकले बिल रकमको २० प्रतिशत वा रु. २०० सम्म क्यासब्याक पाउनेछन्। अडियोमार्फत भुक्तानी प्राप्त भएको जानकारी दिने ‘कोइली’ सेवा दर्ता गर्दा समेत शुल्क लाग्ने छैन। यो अभियान २०८२ साल माघ महिनाभर लागू हुनेछ।

बैंकका अधिकारीहरूले यस अभियानले डिजिटल सेवा पहुँच विस्तार गर्न, प्रत्यक्ष बैंकमा उपस्थित हुनुपर्ने बाध्यता कम गर्न र नगद कारोबार घटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

महालक्ष्मी विकास बैंक देशभर १०३ शाखा कार्यालय र करिब ८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले यसअघि पनि भारतीय भुक्तानी सेवा प्रदायक जस्तै भिमपे, यु.पि.आई, फोनपे, गुगलपेमार्फत क्युआर कोडद्वारा भुक्तानी गर्ने सुविधा उपलब्ध गराइसकेको छ।

तपाईको प्रतिक्रिया