काठमाडौं २२ पुष २०८२,।
महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा बैंकका सञ्चालक समिति अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सोमबार (पौष २१, २०८२ / जनवरी ५, २०२६) काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा बाँडफाँड तथा इक्विटीमा परिवर्तनसम्बन्धी वित्तीय विवरणहरू छलफल गरी सर्वसम्मतिले स्वीकृत गरेको छ। यसैगरी, सञ्चालक समितिले प्रस्ताव गरेको १०.३७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पनि अनुमोदन भएको छ।
यो लाभांश अन्तर्गत हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गरिनेछ। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।
आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा बैंकका प्रमुख वित्तीय सूचकहरूमा सकारात्मक सुधार देखिएको छ। आधार दर ९.३९ प्रतिशतबाट घटेर ६.९४ प्रतिशत पुगेको छ भने पुँजी कोष पर्याप्तता अनुपात १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत कायम भएको छ। यस अवधिमा बैंकको निक्षेप ५६.२२ अर्ब रुपैयाँ र कर्जा तथा सापटी ४७.२१ अर्ब रुपैयाँ पुगेको छ।
सभाले बैंकको नियमावलीअनुसार संस्थापक समूह (क) बाट ३ जना र सर्वसाधारण समूह (ख) बाट ३ जना गरी कुल ६ जना सञ्चालक निर्वाचित गरेको छ। संस्थापक समूहबाट राजेश उपाध्याय, सञ्जय गिरि र ग्रोइङ प्रा.लि.को तर्फबाट सागर मल्ल निर्वाचित हुनुभएको छ भने सर्वसाधारण समूहबाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकले राजेश उपाध्यायलाई नै सञ्चालक समिति अध्यक्षमा चयन गरेको छ।
सभाका अध्यक्ष उपाध्यायले शेयरधनीहरूबाट प्राप्त सल्लाह–सुझावलाई आत्मसात गर्दै ग्राहक सन्तुष्टि र लगानीकर्तालाई उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरूलाई थप परिमार्जन र विशेषीकरण गर्दै गुणस्तरीय वित्तीय सेवा प्रवाहमा प्रतिबद्ध रहने बताउनुभयो। उहाँले शेयरधनी तथा सम्बद्ध सरोकारवालाहरूको सहयोगप्रति धन्यवाद पनि व्यक्त गर्नुभयो।











तपाईको प्रतिक्रिया