सर्वाधिक नाफा कमाउने बैंक बन्यो नबिल, वितरणयोग्य मुनाफा ३ अर्बभन्दा बढी

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाण्डौ १५ माघ २०८२

नबिल बैंक लिमिटेड चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूमध्ये सर्वाधिक खुद नाफा कमाउने बैंक बनेको छ । पुस मसान्तसम्म बैंकले ४ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ४६.७१ प्रतिशतको उल्लेख्य वृद्धि हासिल गरेको हो ।

समीक्षा अवधिमा बैंकले ४ करोड ८८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । यसले सञ्चालन मुनाफालाई निकै बलियो बनाएको छ । खुद ब्याज आम्दानी २.४२ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी ६.६१ प्रतिशत र कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा भने २६.९५ प्रतिशतले वृद्धि भएको छ ।

नाफा वृद्धिसँगै बैंकका अन्य प्रमुख सूचकांकहरू पनि सकारात्मक देखिएका छन् । प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६ पैसाले बढेर ३५ रुपैयाँ ४ पैसामा पुगेको छ । प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा कायम रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) १३.९१ गुणा रहेको छ । वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ पुगेको छ र वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५० पैसा छ ।

बैंकले हालै ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुर्‍याएको छ । जगेडा कोषमा ३६ अर्ब ७० करोड रुपैयाँ सञ्चित रहेको छ । पुस मसान्तसम्म बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

तपाईको प्रतिक्रिया