काठमाण्डौ १३ जेठ २०८३
चालु आर्थिक वर्षको पहिलो १० महिनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय उल्लेख्य रूपमा विस्तार भएको छ। नेपालमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले वैशाख मसान्तसम्म कुल १ खर्ब ५६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.०६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा जीवन बीमा कम्पनीहरूले १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए।
बीमा शुल्क आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले १० महिनामा ४१ अर्ब १६ करोड ६६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ, जुन गत वर्षको तुलनामा १२.५१ प्रतिशतले बढी हो।
दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीको बीमा शुल्क आर्जन १०.६१ प्रतिशतले वृद्धि भई १९ अर्ब २ करोड ५९ लाख रुपैयाँ पुगेको छ।
तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ। कम्पनीले ८.१४ प्रतिशत वृद्धि गर्दै १६ अर्ब ८४ करोड २८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।
त्यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्स को व्यवसाय ५.५२ प्रतिशतले बढेर १४ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी ले १६.४३ प्रतिशत वृद्धि गर्दै १० अर्ब ९ करोड रुपैयाँ आर्जन गरेको छ।
अन्य कम्पनीतर्फ सूर्यज्योति लाइफ इन्स्योरेन्स ले ११.४७ प्रतिशत वृद्धि सहित ९ अर्ब ५० करोड ९० लाख, एशियन लाइफ इन्स्योरेन्स ले १२.२५ प्रतिशत वृद्धि सहित ८ अर्ब १ करोड ५२ लाख र सिटिजन्स लाइफ इन्स्योरेन्स ले १९.४९ प्रतिशत वृद्धि सहित ६ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को व्यवसाय १२ प्रतिशतले बढेर ५ अर्ब ९८ करोड ४ लाख पुगेको छ भने आइएमई लाइफ इन्स्योरेन्स ले सबैभन्दा उच्च ३१.३० प्रतिशत वृद्धि गर्दै ५ अर्ब ५० करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ।
त्यस्तै, मेट लाइफ ले १०.२८ प्रतिशत वृद्धि सहित ५ अर्ब ४९ करोड ९९ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले १९.१३ प्रतिशत वृद्धि सहित ४ अर्ब ९४ करोड १४ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ले १४.५९ प्रतिशत वृद्धि सहित ४ अर्ब ७० करोड ७ लाख तथा सन नेपाल लाइफ इन्स्योरेन्स ले ३.८८ प्रतिशत वृद्धि सहित ३ अर्ब ५५ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।
समग्रमा जीवन बीमा क्षेत्रमा दोहोरो अंकको वृद्धिदर कायम रहँदा बजार विस्तार, बीमा सचेतना वृद्धि तथा नयाँ उत्पादनहरूको प्रभाव देखिन थालेको विश्लेषण गरिएको छ।











तपाईको प्रतिक्रिया