काठमाडौं, १३ भाद्र २०८३
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले सर्कुलरमार्फत उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ।
बाढी तथा डुबानका कारण दर्जनौँ नागरिकले ज्यान गुमाउनुका साथै कैयौँ बेपत्ता भएका छन्। बाढीका कारण बस्ती तथा पूर्वाधारमा क्षति पुग्दा सयौँ परिवार विस्थापित भएका छन्।
यस्तो कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको जनाएको छ।
कम्पनीले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघ–संस्थाबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाएको छ।
प्रभु महालक्ष्मी लाइफले स्थापनाकालदेखि नै विभिन्न राष्ट्रिय संकट, प्राकृतिक विपद् तथा महामारीका समयमा सहयोग गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार ‘ढुकढुक होइन, ढुक्क होऔँ’ भन्ने मूल भावनाअनुरूप प्रदान गर्न लागिएको सहयोगले बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनःस्थापनामा थप सहयोग पुग्ने विश्वास गरिएको छ।
कम्पनीले बाढीमा परी ज्यान गुमाउने नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, बेपत्ताको शीघ्र खोजी तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।











तपाईको प्रतिक्रिया