नदी-किनारका उजाड सपनाहरू

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

रिसव गौतम

सुकुम्बासीको विल्लीबाठ छ अहिले। खासगरी सरकारले राजधानी लगायत देशका सहरकेन्द्रित नदीकिनारामा वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन गरिब सुकुम्बासीहरूलाई बिना पूर्वतयारी थातथलोबाट लखेटेपछि यो समस्या पेचिलो बनेको छ। र, दुनियाँले नेपालमा गरिबप्रति सरकारको वक्रदृष्टि छर्लङ्ग देख्न थालेका छन्।

लुकाएर नलुक्ने सामाजिक सञ्जालको भूमण्डलीकृत आजको दुनियाँमा गरिबप्रति पुरानाहरूभन्दा कता हो कता यो सरकार कठोर र अमानवीय देखिएको छ। सरकारले केही महिनाअघि मात्र राजधानीका नदीकिनाराबाट कीर्तिपुर, बनेपासहित विभिन्न ठाउँका होल्डिङ सेन्टरमा सुकुम्बासीहरूलाई अस्थायी रूपमा राखेको हो।

केही दिनयताको वर्षाका कारण कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पस्यो। र, ६० भन्दा बढी सुकुम्बासी परिवारको विल्लीबाठ भयो। न सुत्न पाए, न खान पाए, जाने कहाँ, गर्ने के पत्तो भएन। सुकुम्बासीहरूले के–कति हैरानी खेपे, के–कति बेइज्जती खेपे, त्यसको हरहिसाब अखबार र अनलाइनका स्क्रिनहरूमा देखिएकै छ।

कोही रहरले सुकुम्बासी हुँदै–हुँदैन यो जमानामा। कैयन् सुकुम्बासीहरू त सरकारसँग दयाको भिख माग्नुभन्दा आफ्नै हात–नङ्ग्रा खियाएर जीवन धानिरहेका छन्। सुकुम्बासी हुँ भनेर भन्नसमेत सकेका छैनन्। कैयन् मानिस गरिबीको डढेलो सहेर बसेका छन् भने कैयन् मानिस विवशताको लाजको घुम्टो उघारेर मैदानमा संघर्षरत छन्।

र, यही समाजमा साहुहरूको गुलामी गरेर गोठालो जीवन बाँच्नेहरू पनि छन्। उनीहरू नै आफूलाई लब्धप्रतिष्ठित र संसारै आफैले हाँकेका जस्तो पनि गर्छन्। स्वाभिमान रित्याएर अभिमानमा बाँच्नेहरू पैसामा बाहेक जिन्दगीको अर्थ अन्त देख्दैनन्। अनि त गरिबहरूमाथि घुमाएर अन्यायको डन्डा बर्साइरहन्छन्।

सुकुम्बासीको मात्र होइन। युवा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि गरिबप्रति व्यवहारमा मात्र होइन, नयाँ बजेटमा पनि उस्तै हेलाहोचो देखिन्छ। पुँजीवादी ग्रन्थबाट सुशोभित अर्थमन्त्रीले नेपालको परम्परागत, सांस्कृतिक तथा भौगोलिक अवस्थिति हेरेनन्। बरु अमेरिकी नवउदारवादका प्रणेता पूर्वराष्ट्रपति रोनाल्ड रेगनको सिद्धान्तलाई बजेटमा सिधै लागू गरिदिए।

उनीहरूलाई विश्वास छ, आर्थिक क्रान्ति नवउदारवादमा मात्र सम्भव छ। गरिबहरूलाई समेट्दै गरिबी उन्मूलनतर्फ अघि बढेका हाम्रा छिमेकी चीन र भारतको ताजा उदाहरणमा उनीहरूलाई विश्वास छैन। ऋणमा डुबेको अमेरिकी अर्थतन्त्र, हरेक झुटलाई सत्य सावित गर्न अनुसन्धानको पगरी गुथ्ने र गोयबल्स शैलीको प्रचार गर्ने पश्चिमा विश्वविद्यालयहरूको भाष्यलाई मात्र दुनियाँको शाश्वत सत्य ठानिरहेका छन्। तर त्यो होइन नि। कुनै पनि चीजको अन्तिम सत्य हेर्ने भनेको परिणाममा हो।

के मुगुबाट काठमाडौं आएर बाइक राइडरमार्फत आफ्नो भविष्य खोजिरहेका गरिब युवा गणेश नेपालीले त्यत्तिकै आत्मदाह गरेका हुन् र? राउत थरका व्यवसायीले किन आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरे? बजेटमार्फत उच्च आम्दानी भएकाहरूको अधिकतम करको दर ३९ बाट २९ प्रतिशतमा झारेको सरकारले आम्दानी नै नभएका गणेश नेपालीहरूको मोटरको पाङ्ग्रामा हजारौँ जरिवानाको नथ्थी किन लगाउँछ?

कोही एउटा नेपाली फाइभ स्टार होटलमा खाजा खाएर कुल्ला गर्ने अनि कोही जिउँदै मर्नुपर्ने? यसैका लागि हो र जनताले पुराना भ्रष्ट भनिएकाहरूलाई मिल्क्याएर रवी–बालेन्द्रहरूलाई रोजेको?

सरकारले आगामी आर्थिक वर्ष ०८३–८४ को बजेटमार्फत गरिब किसानहरूलाई झन् हेपेको छ। बजेटको आकार ३० प्रतिशतले बढाएको सरकारले एकातिर कृषि बजेट नै १० अर्ब घटाएको छ। अर्कोतिर, २ करोडभन्दा माथि लगानी गर्ने किसानलाई मात्र ४० प्रतिशत अनुदान दिने भनेको छ। साना र लगानी गर्न नसक्ने गरिब किसानलाई खाली हात बनाएको छ। बेवास्ता गरिएको छ।

व्यक्तिगत आम्दानीमा लाग्ने करमा पाँच लाखबाट सिधै बढाएर १० लाखसम्म करै नलाग्ने बनाएको सरकारले गरिब तथा बेरोजगारलाई बजेटमा हिस्सेदार नै बनाएन। बजेटले जे दियो, धनीहरूलाई दियो। अरू त अरू श्रमजीवी पत्रकारहरू, साना लगानीका मिडिया, जो देशका हरेक राजनीतिक परिवर्तनमा राजनीतिक दलहरूका सहयात्री पनि हुन्। जसले निमुखाका आवाज बोल्छन्, लेख्छन्। तिनीहरूलाई सरकारी विज्ञापन नदिने निर्णयले अहिले आहत बनाएको छ। भलै, हिजो मात्रै सर्वोच्च अदालतले सरकारको उक्त प्रेस स्वतन्त्रताविरोधी निर्णय उल्टाएको छ।

परिवर्तनको बेगवायु चलिरहेका बखत चिल्ला रेस्टुराँहरूमा पिज्जा–स्याण्डविच चपाइरहेका भिजेका मुसाहरू अहिले जंगबहादुर बन्न खोजिरहेका छन्। तर तिनीहरूले थाहा पाउनुपर्छ—गरिब तथा बेरोजगारहरूको रगत उम्लियो भने फेरि के होला? गरिब सुकुम्बासीहरू रिसाए भने ध्रुवेहात्ती हुन सक्छन्। के सम्भावित ध्रुवेहात्तीहरूलाई सरकारले थेग्न सक्छ?

मैले भावनाको गीत गाइरहेको छैन। वर्षौंदेखि गरिब तथा निमुखाको मात्र होइन, इमानदार र राष्ट्रिय उद्यमशीलताको पक्षमा लेखिरहेको छु। दलाल पुँजीपति र गोठालो पुँजीवादको होइन, प्रगतिशील पुँजीवादको पक्षमा लेखिरहेको छु। कोही प्रतिभा, क्षमता, बल र बुद्धिका कारण सक्षम होलान्। के तिनीहरूको मात्र साम्राज्यले संसार चलोस् भन्ने हुन्छ र? प्रतिभा, क्षमता वा बल नहुनेहरू प्रकृतिका उपज होइनन् र? मानव होइनन् र? प्रकृति सबैको साझा होइन र?

सिस्टमको नाममा गोठालो पुँजीवादले दुनियाँमाथि अन्याय गरिरहेको छ। एकातर्फ केही मानिसहरूले संसारका अधिकांश स्रोत, साधन र सम्पत्तिमाथि एकाधिकार जमाइरहेका छन्। सामाजिक न्यायविनाको पुँजीवादको पक्षपोषण, विकास र समृद्धिको नाममा मान्छेले मान्छेमाथि गर्ने अदृश्य अन्याय आजको आधुनिक युगमा स्वीकार्य छैन। पैसा नै सबै हो भन्ने सामन्ती नवउदारवादी पुँजीवादी व्यवस्थाले प्रकृतिको स्वरूप बदल्न सक्छ त? पृथ्वीको आकार नै फेरिदिन सक्छ त? सक्दैन नि।

त्यसकारण चरण पुँजीवाद र नवउदारवाद अन्यायपूर्ण व्यवस्था हुन्। यसले असक्षमहरूलाई पेलेर अघि बढ्छ र पृथ्वीका स्रोत–साधनलाई गुटमुट्याएर सीमित वर्गको नियन्त्रणमा पुर्‍याउँछ। हो, यस्तै सिद्धान्तलाई अवलम्बन गर्न अभिप्रेरित देखिन्छन् सरकारका प्रभावशाली अर्थमन्त्री स्वर्णिम वाग्ले।

वाग्लेले बुझेकै हुनुपर्छ—बढ्दो गरिबी र असमानता समकालीन विश्वको सर्वाधिक चिन्ताको विषय हो। तर पछिल्लो दशकमा विश्वभर गरिबी र असमानता झाँगिँदै जाँदा धनीहरू झन् धनी बन्दै गएका छन्।

खासगरी बितेका केही वर्ष विश्व समुदायलाई अत्यधिक प्रभावित तुल्याएको कोभिड–१९ महामारी र विभिन्न देशबीच भएका युद्धका कारण विश्वमा गरिबी तथा असमानता थप गहिरिएको छ। युएनडीपी लगायतका संस्थाहरूका अनुसार विश्वमा अझै करिब एक अर्ब मानिस गरिबीको रेखामुनि छन्। एकातिर विश्वको जनसङ्ख्या पृथ्वीले धान्न कठिन हुने गरी बढिरहेको छ भने अर्कोतिर न्यून उत्पादन, भोकमरी, गरिबी र असमानताको दारुण अवस्था अझै घट्न सकेको छैन।

यही कारणले सन् २०३० सम्म विश्वबाट गरिबी उन्मूलन गर्ने दिगो विकास लक्ष्य (एसडीजी) हरू पूरा नहुने संकेत विभिन्न प्रतिवेदनहरूले गरिसकेका छन्। मानिस, पृथ्वी र समृद्धिका लागि तयार गरिएको दिगो विकास कार्ययोजनाले गरिबीको अन्त्यलाई अपरिहार्य मानेको छ। शून्य भोकमरी, आरोग्यता तथा कल्याण, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, सफा पानी तथा सरसफाइ, स्वच्छ ऊर्जा, मर्यादित रोजगारी, आर्थिक वृद्धि, उद्योग तथा नवीन पूर्वाधार, असमानताको अन्त्य, जिम्मेवारीपूर्ण उत्पादन र उपभोग, जलवायु कारबाही, जलमुनिको जीवन, जमिनमाथिको जीवन, शान्ति, न्याय, सशक्त संस्था तथा साझेदारीजस्ता १७ वटा लक्ष्य हासिल गर्न विश्व प्रतिबद्ध भए पनि हालसम्मको प्रगति अपेक्षाअनुसार छैन।

एकातिर रुस–युक्रेन, अमेरिका–इरान तथा इजरायल–लेबनानजस्ता द्वन्द्वका कारण विश्वका अर्बौँ मानिसले खाद्यान्नको महँगी, अभाव र भोकमरी झेलिरहेका छन् भने अर्कोतर्फ यही अवधिमा विश्वमा अर्बपतिहरूको सङ्ख्या निरन्तर बढिरहेको छ। फोर्ब्सको पछिल्लो सूचीअनुसार सन् २०२६ मा विश्वमा ३,४२८ जना डलर अर्बपति छन्। अथाह सम्पत्ति कमाउने स्वतन्त्रता दिएको अमेरिकी पुँजीवादी व्यवस्थाकै उदाहरणका रूपमा एलन मस्कको सम्पत्ति एक ट्रिलियन डलर नाघिसकेको उल्लेख गरिन्छ।

एकातिर करोडौँ मानिस भोकै–नाङ्गै बाँच्न बाध्य हुने, अर्कोतर्फ एउटा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा कैयौँ गुणा बढी सम्पत्ति एउटै व्यक्तिले थुपार्न सक्ने व्यवस्था के साँच्चै आदर्श व्यवस्था हो? त्यस्तो व्यवस्थालाई आदर्श मान्नेहरू सरकारको चालक सिटमा पुगेपछि त्यसको प्रभाव कस्तो पर्ला? कतै नेपालले आज त्यही नियति भोग्न सुरु त गरेको छैन?

तर चेतना होस्—गणेश नेपालीहरूको अग्नि विद्रोह वा नदी किनारका उजाड सपनाहरू त्यही गरिबमारा नीतिहरूको परिणाम हो।

तपाईको प्रतिक्रिया