स्वयम्भू शाक्य

म गरिब, आधारभूत आवश्यकताबाट वञ्चित छु । न खान पाउँछु, न लाउँन पाउछु । न बस्न पाउँछु , न उपचार गर्न पाउँछु । पढ्न त परेको कुरो हो, मेरो निम्ति रोजगारको अभावले मसधैं निरपेक्ष गरिबको रेखामुनि सुतिरहेको छु । मेरो केही काम छैन । मेरो केही दाम छैन । म त सानो मान्छे । मान्छे–मान्छेभित्र सिमलको भूँवाझैँ बाँचिरहेको छु । खिया लागेको फलामजस्तै म त मान्छे भएर पनि पशुभन्दा नीच रहेछु । त्यसैले गरिबभित्र दुःख छ । पीडा छ । आँसु छ । कष्ट छ । एक छाक खान पनि धौधौ छ । जीवन यापन गर्न नसक्ने व्यथा छ । जोखिम र चुनौतीपूर्ण भएर जताततै प्वालैप्वाल छ । एकजोर लुगा लाउन वषैं कुर्नुपर्ने बाध्यता छ । त्यसैले म छानो नभएको घरमा सुत्छु । बिरामी हुँदा ईश्वरकै शरणमा जान्छु । समाजबाट बहिष्कार भएको मान्छेले कहाँ गएर पढ्न सक्छु र ? त्यसैले मनमा थुप्रै कुराहरु खेलेर एक्लोपनको महसुस गर्छु । अशक्त र शक्तिहीन भएर शरीरमा रगतको अभाव भएजस्तो हुन्छु ।
आज युगकवि सिद्धिचरणको मनमा पीडा छ । आगो बलेर होला गरिबीका कुरा गर्दैछन् । युद्ध र शान्तिका प्रश्नगर्दै जनजनमा चेतनाको ज्योति फैलाउँदैछन् । त्यसैले आज युगकवि आँसु बनी बगिरहेको बेला मेघ गज्रेर घनघोर वर्षा होला जस्तो छ । आकाश अँध्यारो अनि कालो भएर कहिल्यै नचम्किने बिजुली चम्केला जस्तो छ । मान्छेको जूनी न हो । तारामूनि यो धरतीमा बसेर युगैयुगदेखि पिरती गाँस्दैैछन् । प्रेम, माया र स्नेह पाएर क्या राम्रा फूलहरु फुल्दैछन् । मन चोखो हुनुपर्छ । निर्मल अनि कञ्चन बन्नुपर्छ । एउटा मान्छे–मान्छे बनेर सृष्टिको ज्यानमा आभा फुल्नुपर्छ । ब्रह्मज्ञान बुझेर एउटा आत्मालाई अर्को आत्माले पनि ईश्वरलाईझैँ पूजा गर्न सक्नुपर्छ । उचित स्थान दिएर सदाका लागि बासस्थान दिनुपर्छ । किनकि ममात्र मान्छे होइन । मान्छे त हामी सबै हौ । त्यसैले मान्छेले मान्छेलाई पुजिनुपर्छ । आदर, सत्कार र सद्भावले हेर्नुपर्छ । ममात्र बाँच्ने होइन हामीहरू सबै बाँच्नुपर्छ भनी हृदयले आत्मसाथ गर्नुपर्छ । तब पो यो संसारमा सिरिसिरी बतास चल्न सक्छ । मनलाई आनन्द पार्न रूखका पातहरुले गीत गाउन सक्छ । जताततै मन हलुँको भएर यो जीवनले सार्थकता पाएजस्तो लाग्न थाल्छ । दिन त आउँछ, जान्छ । रात त त्यसैत्यसै हराएर जान्छ । तर यो सुतेको माटोलाई व्यूझाई दिने हो भने हाम्रो जीवन धन्य हुनेछ । जीवनभर पुग्ने थुप्रै उपहार दिनेछ । मान्छे हाँस्न थाल्छ । जीवन बदलिएर रङ्गीबिरङ्गी भई आफ्नो परिचय दिन खोज्छ । तब पो संसार राम्रो देखेर मान्छे बाँचेको सार हुनेछ । मान्छे मरे पनि मान्छेहरुले मान्छेलाई सम्झिने गर्छ ।
यो कुरो सत्य हो, मान्छेकै निम्ति चन्द्रमा हाँस्ने गर्छ । मान्छेकै निम्ति हिमाल खुल्ने गर्छ । मान्छेकै निम्ति समुद्र बग्ने गर्छ । मान्छेकै निम्ति संसार चल्ने गर्छ । यदि यो धरतीमा मान्छे नहुँदो हो त चन्द्रमा किन हाँस्नु पप्र्यो ? हिमाल किन खुल्नु पप्र्यो ? समुद्र किन बग्नु पप्र्यो ? धरर्ती किन चल्नु पप्र्यो ? यो त सब मानव जीवनका निम्ति हो । नत्र यो संसार अँध्यारो भएर प्राणीहरू सब मर्नेछन् । संसारकै अस्तित्व सकेर प्रलयकाल हुनेछन् । त्यसैले यो दिनरातको संसारमा रातमा चन्द्र हाँसेर जनजनलाई सन्देश दिन खोज्दैछन् । भोलि बिहान कुशल कर्म गर्न सुनौला किरणसँगै हिमाल हाँस्नेछन् । भाग्यका कुरा मात्र होइन पाखुराका कुरा गर्नेछन् । सत्यमा अडिक भएर नैतिकताको पाठ सिकाउने छन् । जीवन समुद्रझैँ एकनाशले बगेर गन्तव्यको शिक्षा दिनेछन् । हामी सबै प्राणी जगत्को कल्याणको निम्ति संसारमा आएको कुरा गर्नेछन् । यो संसार चल्नुपर्छ । जन्म र मृत्युको बीचको जीवनमा आफूले गर्न सक्ने सबै कामहरु फत्य गरेर जानुछ । नत्र यो राम्रो संसार एकक्षणमै तहसनहस भएर जानेछ ।
वायु त चञ्चल छ । न रोक्न सक्छ, न छेक्न सक्छ । उ त स्वतन्त्र भएर जहाँ जुनसुकै ठाउँमा पनि जान सक्छ । त्यसैले यो पवित्र वायुलाई प्रदूषण पारेर पापको वायु नबनाइदेऊ । नत्र मानव जीवनमा अस्तव्यस्त हुनेछ । हावाहुरी चलेर जताततै भत्किन सक्छ । यस्तो खलबल हलचल कहिल्यै नगरुन् । यतिको राम्रो मान्छेको जीवनमा सपना, गीत, प्रेम र आशामा लहर नउठाई देऊन् । नत्र जीवन भत्ताभुङ्ग भई यो राम्रो संसार एकक्षणमै तहसनहस भएर जानेछ । त्यसैले समयको लामो छेऊ र पुच्छरमा घामको तापले रापिलो भइरहेछ । दिनहु गर्दै आएको यो श्रमको सिन्चनमा मान्छेले सुन्दर सिर्जन पाएपछि मान्छेलाई के चाहियो र ? यतिको राम्रो मान्छेको जीवनमा स्वच्छ र शान्ति हुने नै भो ।
ताराको मुनि मान्छेको जूनी
भावको धनी पिरतीको पनि
क्या राम्रो फुल्दछ ।
धर्तीको प्राण सृष्टिको ज्यान,
मान्छेको ज्ञान, बस्ने यो थान,
संसार धन्य छ !
सिरिरसिरि बतास बग्छ
दिनले घुमी रातले चुमी
सुतेको माटो जगाई दिन्छ
मान्छेलाई उपहार
यो राम्रो संसार ।
मान्छेकै निम्ति चन्द्रमा हाँस्ने
मान्छेकै निम्ति हिमाल खुल्ने
मान्छेकै निम्ति समुद्र बग्ने
मान्छेकै निम्ति संसार छ नि !
पापको हावा, शैतानी हावा
ल्याएर यहाँ, मान्छेको जूनी
नबिगार, नबिगार ।
नगर खलबल, नगर हलचल
यतिको राम्रो मान्छेको जीवन
सपना, गीत, प्रेम र आशा
उठेर जसमा लहर लहर
समयको लामो छेउ र पुच्छर
रसाइरहन्छ पहर पहर ।
दिनहु गर्दै श्रमको सिञ्चन
मान्छेले पा¥यो सुन्दर सिर्जन
शक्तिको पनि यहीँ छ राम्रो
कतिको राम्रो मान्छेको जीवन ।
प्राणी जगत्लाई चाहिने सबै कुराहरू यो संसारमा पाएपनि मान्छेहरु किन गोलमाल र कसमकस गर्न चाहन्छ ? यो राम्रो संसारमा सबैको निम्ति यथेस्ट भण्डार भएपनि मान्छे किन आफैमात्र खान खोज्दैछ ? यो लोभीपापीको संसारमा सुन्दर सपनाहरु नभएका होइनन् । एउटा फूललाई एउटा पुतलीले नचुमेको पनि होइनन् । सृष्टिको पानामा मान्छेले प्रेम नगरेको पनि होइनन् । ढुकुरको जोडीजस्तै प्रेमको गीत नगाएको पनि होइनन् । त्यसैले यो बुझ्ने नसक्ने जीवनमा रूपको छहारीमा ओत लागेर पहाडमाथि बादल लागेझैँ यो मान्छेको जीवन क्या मजा छ । क्या राम्रो संसार छ ।
म नमरुन्जेलसम्म मेरो नित्यले कुशलताका चाङहरू लगाउन सकूँन् । राम्रो–नराम्रो छुटाउन सक्ने जति मेरो शक्तिले भ्याएसम्म छुट्याएर जानूँन् । तसर्थ यो ईश्र्या र कलह मानव जीवनका लागि दाग हुन् भनी बुझ्दाबुझ्दै पनि आखिर किन मान्छेहरु त्यसैले टाँसिन पुग्छन् । थाहा छैन, यहाँ थुप्रै थिचोमिचो भएर होला, छुन हुने र नहुने मान्छेकाबीच भेदभाव छन् । यो त राक्षसी चाल हो । जहाँ लुकेर मान्छेले मान्छेको रगत चुस्ने गर्छन् । जहाँ सज्जन बनेर अँध्यारोमा छुरा घोच्ने गर्छन् । जहाँ मान्छेले मान्छेको मासु खाने गर्छन् । जहाँ ठूलाबडाहरूले थिचोमिचो गर्ने गर्छन् । मान्छेलाई टुक्राटुक्रा पारेर शासक र दास बनाउन खोज्छन् । यो सम्भव छैन । असम्भव कुरालाई पनि राक्षसहरुले सम्भव बनाइरहेका छन् । छोटो समयको लागि नै किन नहोस् आफ्नो रामराज्य चलाइरहेका छन् । राक्षसले मान्छेमाथि शासन गरेर फेरि शान्तिका निम्ति डरलाग्दो युद्ध निम्त्याइरहेका छन् ।
मानव जीवनमा खान र लाउँनु, हाँस्न र गाउँनु मात्र शान्ति होइनन् । पसिना काट्नु पनि शान्तिको पूजा हो । त्यसैले युगौँयुगदेखि श्रमका पसिनाहरु यो धरतीमा लगाइरहेका छन् । ढुङ्गालाई गिलो बनाई त्यसमाथि बोटबिरुवाहरु रोपिइरहेका छन् । यो अन्नपानीको शरीरमा एकमुठी खान र लाउँन पाएपनि मान्छे त्यसै खुसी भएर मानवताका गीत गाउन थालेका छन् । शान्तिका पुजारी बनेर यस धरतीलाई पूजा गरेका छन् । किनकि यो धरती हाम्रो जननी हो । जननीको काखमा हुर्केर आज हामी बाँचिरहेकाछौं । माया, ममता र सद्भावले आज हामी पसिना चढाइरहेकाछौ । हामीलाई थाहा छ, अल्छी मान्छेले भोलि भन्छ । आज बेसरी मोजमञ्जा गरी आरामले दिन बिताउँने भन्छ । किनकि यो शरीर मेरो लागि बनेको हो । म छैन भने मेरो निम्ति कोही छैन । भोलि कसले देखेको छ र ? भोलि त शुन्य छ । समय आउँन पनि सक्छ, नआउँन पनि सक्छ । जे छ आजै छ । आज शरीरलाई आराम नभए भोलि पीडादायी जीवन बिताउनु पर्नेछ । त्यसैले जसले जेसुकै भनुन्, मलाई अल्छी, डरपोक र काम नलाग्ने मान्छे किन नभन्नुन् । मलाई कसैसँग कुनै गुनासो छैन । जसले जे भने पनि मलाई कुनै फरक पर्ने छैन । किनकि यो शरीर मेरो मनले जे भन्छ त्यसै गरी चल्नुपर्छ । अरुको इशारामा होइन । अरुको कब्जामा होइन । मान्छे त स्वतन्त्र प्राणी भएर हिँड्नुपर्छ, बाँच्नुपर्छ । मलाई अभागी र अशान्तिको छायानै किन नभन्नुन् । म त आफैले आफूलाई शासन चलाउनुपर्छ । मान्छे शान्तिको निम्ति जिउँनुपर्छ । सधै अशान्ति र अर्काको लागि मात्रै जिउँने हो भने त्यो त जिउँदो लास हो । चाहे देशको अवस्थानै किन नहोस् । लडाई, कलंह र झगडाले अहिलेसम्म कुनै पनि देशको कल्याण भएको थाहा छैन । युद्ध त विनाश हो । यो संसारबाट लाखौंलाख मान्छेहरूको नरसंहार भैसक्यो । आखिर युद्धविराम भएपछि मान्छेले के पायो ? दुःख, कष्ट र वेदना बाहेक लडाई, कलंह र झगडाले के दियो ? यो त हामी सबैले बुझेकै कुरा हो । मनमा राखेर शान्तिको मार्ग खोज्नुपर्ने हो । मान्छेको जूनीमा आकाश र धरतीले राज्य चलाउन दिनुपर्ने हो । यो फूलैफूलको संसारमा पाएजति सबै फूलहरु फुलाएर मान्छे धन्य भई बाँच्नुपर्ने हो ।
सकेको जति संसार बीच
राम्रोको चाङ्ग लगाई दिनु
मान्छेको काम हो
कलह झगडा नराम्रो ल्याई
थिचो र मिचो गरेर बस्नु
राक्षसी चाल हो ।
खानु र लाउनु हाँस्नु र गाउनु
पसिना काढ्नु शान्तिको पूजा हो
न खानु न लाउनु रुनु र कन्नु
अल्छी नै बस्नु अशान्ति छाया हो ।
शान्तिकै निम्ति जिउनु हो जिउनु
अशान्ति मर्नु हो
देशका देश बिग्रेको अर्थ
लडाई, कलह, झगडा गर्नु हो ।
आकाशमुनि धर्र्तीको माथि
मान्छेको जुनी छ
आकाश, धर्र्ती दुवैको राज
मान्छे नै गर्दछ ।
मनुष्य जीवन धरती र आकाशकै जिम्मामा छ । धरतीको पोशाक र आकाशको गहना लगाउने हो भने मान्छेको जीवन सुखमय् हुनेछ । पानी पनि सेरो र फेरो मान्छेकै हातमा हुनेछ । यो गाउँले जीवनमा डाँडाकाँडा वनपाखा फुलेर एउटा सानो छाप्रोमा प्रेमले स–परिबार बाँचिरहेकैछ । काखमा सानो नानी बोकेर लोग्नेस्वास्नीको लामो पिरतीको कथा छ । पौरखमा बाँचिएका ती लोग्नेस्वास्नीले आफ्नै पाखुराको बलले पसिना काढी यो सुन्दर गाउँमा सुख र दुःखले बसिरहेकै छन् । एकाबिहानै मेलापात गरेर प्रेमका जोडी डिँडो र खोले खाएर भएपनि हाँसीखुसी जीवन निर्वाह गरेकै छन् । जीवन कति मिठो, चोखो थियो । कतै दाग लागेको थिएन । हिमालसरि अटल भएर हाँसिरहेको थियो । हावापानीले कहिल्यै छुन्दैनथ्यो । दिन र रातले कहिल्यै गलाउँदैनथ्यो । एउटा सुन्दर, शान्त अनि विशाल ठाउँमा उनीहरूको आफ्नै पहिचान थियो । गरिब भए पनि मन असाध्यै धनी थियो । कसैले पैचो माग्न आए भने आफूहरु नखाएर भएपनि सेवा गर्थे । आफू डुबेर भएपनि सहयोग गर्थे । मनमा हरियो थियो । सबैलाई दयामायाको दृष्टिकोणले हेर्ने गर्थे । जे छ त्यसैमा सन्तुष्टि भएर अमृतजस्तो गुलियो परिवार थियो । इच्छा आकांक्षा थोरै थिए । अर्काको लागि कामना धेरै थियो । मनमा सबै कुराहरु अटेर होला, उनीहरुको परिवारमा आज सुख थियो । शान्ति थियो । जताततै हरियैहरियो भएर हरियाली छाएको थियो ।
डाँडाको बीच एउटा छाप्रो
लोग्ने र स्वास्नी काखमा नानी
पिरतीले बस्दथे ।
पाखुरा चाली पसिना काढी
सृष्टिको मज्जा आफूमा तानी
सुखले बस्दथे ।
बिहान साँझ मेलामा जान्थे
क्यै दाना जोडी प्रेमले खान्थे
ढिँडो र खोले जे जस्तो मिल्थ्यो
अमृतजस्तै स्वादिलो बन्थ्यो
चाहना छोटो, कामना मिठो
परेवा जोडा सुखले बस्दथे ।
हामी बिरानो देशमा गएपनि आखिर आफ्नो जन्मभूमिमा फर्किनै पर्छ । मिठा–नमिठो जेसुकै भएपनि आफ्नो देशको माया लाग्दोरहेछ । त्यसैले होला हामी आकाशमा उडे पनि, पातालमा गई बसे पनि आफ्नो देश भनेपछि मुटुदेखि नै राष्ट्रप्रेमको भावना जागृत हुन्छ । हो, हामी गरिब छौ । धनी देशमा गएर धन कमाउने धोको कान्छाले पनि सोचेको थिएन । संसारमा कति प्रगति गरिसकेको छ भन्ने कुरा एउटा गाउँलेलाई थाहा छैन ? किनकि उ त खनजोतमै व्यस्त छ । अन्नपात रोपेरनै खुसी छ । उसलाई आफ्नै कुरो त थाहा छैन भने विदेशको कुरा कहाँ थाहा हुन सक्छ र ? इच्छा र आकांक्षा धेरै नभएपछि जीवनमा कहाँ दुःख पाइन्छ र ? त्यसैले यो सानो परिवारभित्र आकाश छ । धरती छ । समयले ऋतुहरुलाई बोलाएपछि समाजमा आ–आफ्ना चाडपर्वहरु मनाउने गरिन्छ । बस् यति हो जीवन । बडो सजिलो र खोलाको निर्मल पानीजस्तो कलकल बगिरहेको थियो । पहाडी जीवन आफ्नै गोरेटोमा हिँडिरहेको थियो । पशुले जस्तो भारी बोके पनि डाँडाकाँडा हिड्न उसलाई कुनै गाह्रो छैन । यो त उसको नित्य हो ।
हताससित बतास चलेपछि मान्छेको आशा निराश हुनु स्वभाविक हो । आशानै मरेपछि मान्छेको मनभित्र चोट पर्नु स्वभाविक हो । त्यसैले यो हावाहुरीको भुमरीले रुख र बोटहरु ढालेपछि एउटा गरिबको छाप्रोमा के हुने हो ? बतासले उडाएर कहाँ कता लग्ने हो ? पीर पर्नु स्वभाविक हो । कठोर परिश्रम गरी बनाएको त्यो छाप्रोको मायाले रातभरि सुत्न नसकेर कठै ईश्वरको प्रार्थना गर्नु बाहेक अरु के पो गर्न सक्छ र ? घनघोर पानी परेर भिर पाखाबाट झरेपछि बाटाहरू थुन्न कतिबेर लाग्ने हो ? चिसोले जिऊ थुरथुर काँमेपछि अँगेनामा गई तताउनु बाहेक एउटा गरिबले के गर्न सक्छ र ? त्यसैले यो जीवनमा थुप्रै विघ्नबाधाहरु आएपनि जिउँनका लागि संघर्ष स्वीकार गर्नु प्रकृतिको नियम हो । दुःखलाई पनि सुख ठानेर हाँसीहाँसी जीवन बिताउनु पनि सुख हो ।
संसारले कति गरेको प्रगति
केही छैन थाह, केही छैन चाह
पहाडी जीवन सलल बग्दथ्यो ।
पशुले जस्तै बोकेर भारी
डाँडा र काँडा हिँड्नमा पनि
मानेको मज्जा पहाडी जीवन थ्यो ।
हताससित बतास चल्थ्यो
रुख र बोट क¥याक पाथ्र्याे
दर्केर पानी गहिरो गई
कहिलेकाहीँ बाटो नै थुन्थ्यो
थुरुरु काँप्दै अँगेना ताप्थे
जिउको लागि जे पनि सही
सुखले दिन काट्थे ।
एक दिनको कुरो हो । एउटा लाहुरे शीरमा टोपी नारीमा घडी लगाएर आफ्नो साथी कान्छाको घरको पिँढीमा बास बस्न आएको हुन्छ । चारजनाले भारी बोकाएर आएको त्यो लाहुरे त्यो पल्लो डाँडाको साथी हो । आज विदेशबाट उ लाहुरे बनी घर फर्किदैछ । उसको आफ्नै रवाफ छ । आफ्नै सान छ । छिटो, छरितो अनि फुर्तिलो ज्यान भएर होला पहिलेको साथी भन्दा अहिले आकाश जमिन फरक छ । भारतमा लाहुरे जीवन बिताएपछि उसको लवाई, खवाई र बोलाईमा पनि काँचुली फेरिसकेको छ । ऊ हिजोको साथी तर आज धनी बनेर ठूलो मान्छे भइसकेको छ । देशविदेश घुमी आफ्नै छुट्टै पहिचान बनाइसकेको छ । आज लाहुरेले आफ्नो जागिरको बयान गर्दैछ । विदेशको झिलिमिली र प्रगतिका थुप्रै कुराहरु सुनाइरहेको थियो । मिठा, मसिना र यश आरामका कुराहरू बढाईचढाई गर्दै थियो । मन लोभ्याउने थुप्रै कुराहरूको वर्णन थियो । भनिन्छ, खान लाउन पाएँ मान्छे फेरिन धेरै समय नलाग्दोरहेछ । त्यस्तै भो लाहुरेको जीवन । पिँढीमा बसेर कान्छासँगै यस्तै नानाथरिका कुराहरु गर्दै थिए । विदेशमा अनेकौं थरीका चहलपहल हुने बुँटादार कुराले कान्छाको मनमा छेस्को पसेजस्तो भईसकेको थियो । विदेशमा खान लाउन मात्र होइन थुप्रै पैसा पनि कमाउन पाउने रहेछ । आज म छाप्रोमा छु । भोलि विदेशमा केही धन कमाएर ल्याएपछि मेरी कान्छी कति खुसी हुने हो ? हाम्रो छाप्रोमा कति राम्रो नयाँ घर बन्ने हो ? खान लाउन पुगेपछि हाम्रो जीवन पनि कति परिवर्तन हुने हो ? आखिर जीवन न हो । एकबारको जूनीमा मान्छे खुसीसँग जीवन बिताउन चाहन्छ । तर म अभागी मेरै कर्मले आज मेरो परिवार अभाग्य भई बाँचिरहेको छ । अब म यसरी बस्नु हुँदैन । म उठ्नुपर्छ । विदेशतिर गई धन कमाएर ल्याउँनुपर्छ । मेरो परिवारलाई जसरी भएपनि मैले सुख दिनुपर्छ । नत्र उनीहरू दुःख र कष्टमै मर्नेछ । मलाई मुखले नसरापे पनि भित्री मनले सरापीनेछ ।
कान्छाको मनमा के गर्ने के नगर्ने थुप्रै ज्वारभाट चलिरहेको थियो । एउटा मनले भन्छ, यो जीवननै मेरो लागि उत्तम हो । अर्काे मनले भन्छ होइन, यो जीवन होइन । जीवन त लाहुरेको जस्तो हुनुपर्छ । धन कमाएपछि समाज मेरो पछीपछी लाग्नेछ । त्यसैले मैले धन कमाउनुपर्छ । अभागी कर्मलाई मेरो परिश्रमले भगाई दिनुपर्छ । ताकि मेरो परिवारमा खुसियाली देख्न सकोस् । हामीले यस्तो दुख र कष्ट भोगेर छाप्रोमा जीवनलीला बिताउन नपरोस् ।
एकै र दिन लाहुरे यौटा
नाडीमा घडी शिरमा टोप
भसक्क भारी बोकाई चार
विदेशबाट फर्केका घर
कान्छीका पिँढी बसेछन् बास ।
कान्छाकै साथी हो नि त ऊ त
त्यो पल्लो डाँडाको
विदेश गई फर्केको आज
पैलेको साथी अर्कै छ आज
छरितो कति फुर्तिलो कति
काँचुली फेरेको ।
पाएमा खान पाएमा लाउन
मानिस फेरिन्छ
नैराश्य मेटी उज्यालो दीप्ति
मुखमा फैलिन्छ ।
पिँडीमा बसी कान्छाका सङ
लाहुरे त्यही गर्दछन् बात
विदेशमहाँ अनेक थरी
चहलपहल देखेकोलाई
बढाई चढाई ।
तिमी किन दुःख खप्छौ कान्छा ? शिरमा नाम्लो पीठमा डोको बोकेर किन गाउँ कुर्दैछौ ? मञ्जाले विदेश गएर धन कमाएर ल्याए हुन्छ नि ! तिम्रो मान, प्रतिष्ठा र इज्जत रहनेछ । मौका यही हो । यो मौकालाई त्यसै खेर नफाल । होइन भने तिमी नाम्लो र डोकोमै जीवन बाँच्नु पर्नेछ । गाउँले जीवनमै तिमी र तिम्रो परिवारले दुःख पाई जीवन बिताउनुपर्नेछ । न राम्रो लाउन पाउँछौ, न मीठो खान पाउँछौ । न झिलिमिली हेर्न पाउँछौ न पैसा नै कमाउन पाउँछौ । तिम्रो बैश त्यसै खेर जानेछ । विदेशमा बोलाएको बेला तिमी नगए अरु बेला तिमी कहिल्यै जान पाउने छैन । तिम्रो कहिल्यै पहुँच पुग्ने छैन । त्यसैले तिमीले मनमा मात्र राख्ने होइन, तिमी त जुरुक्क उठ्नुपर्छ । समय थोरै छ । थोरै समयमा धेरै पैसा कमाउनु छ । जीवन अँध्यारोमा होइन उज्यालोतिर लानूछ । दुर्गन्धमा होइन प्रगतितिर जानूछ । नत्र तिमी पछी पर्नेछौ । साथीहरुले तिमीलाई हेँला गर्नेछ । जाऊ तिमीले कान्छीलाई बिस्तारै सम्झाऊ । म बाटो बिराउनको लागि जान लागेको होइन । म त्यसै घुमफिर गर्नका लागि जाने होइन । मलाई तिम्रो आश्वासन चाहिन्छ । हाम्रो घर बन्छ भने म किन विदेश नजाऊ भनी सुनाई देऊँ । मन दरो पार । अब गाउँले जीवन होइन तिमी पनि लाहुरे हुनुपर्छ । तिम्रो साथीजस्तो तिमी पनि फुर्तिलो र पैसावाल हुनुपर्छ । अब मनमा कुनै चिन्ता लिनु पर्दैन । चिन्ता त बिस्तारै दूर भएर जानेछ । दुःख र कष्टहरू अब बिस्तारै निको भएर जानेछ । त्यसैले तिमीले विदेश जाने वातावरण तयार गर्नुपर्छ । मन र मस्तिष्कमा लाहुरे जीवनलाई राख्नुपर्छ । आज राती तिमीले घरसल्लाह गरी भोलिको लागि विदेश जाने बाटो तय गर्नुपर्छ ।
कान्छा, विदेश त कति राम्रो छ । भेषभुषा उनीहरुका आफ्नै छ । तिमी गएर मात्रै हेर, आफूले आफैलाई धन्यवाद दिनेछ । रेल र मोटर निमेषभर नरोकी आफ्नो बाटोमा दौडिरहछ । झलल् बत्ती रातमा पनि घामलागे जस्तो हुन्छ । मिठो मसिनो खाएर तिमी आफ्नै निवासमा बस्न पाउँछौ । धेरै समय काम गर्नु पर्दैन । थोरै घण्टा काम गरे पनि तिम्रो डिउटी सक्नेछ । छुट्टीमा तिमी जहाँ जाने मन छ त्यही गएर मन बलाउन सक्छौ । सजिलो छ त्यति धेरै काम हुँदैन । त्यसैले यो लाहुरेको नोकरी अरुभन्दा धेरै राम्रो छ । झन्झट छैन । टन्टा छैन । झमेला छैन । यो फौजीको नोकरीमा पैसा धेरै छ । आरामसँग लाहुरेले जीवन बिताउन सकिन्छ । त्यसैले हे कान्छा ! लाहुरेको जीवन क्या मज्जा छ । सोचेर हेर, कमसेकम त्यहाँ गएर हेर अनि थाहा पाउनेछौ, लाहुरे जीवन भनेको कस्तो नोकरी हो ।
क्या राम्रो देश, क्या राम्रो भेष
धन्य छ विदेश
दगुर्छ रेल, गुड्दछ मोटर
निमेष निमेष ।
झलल बत्ती, रातमा पनि
घामझैँ प्रकाश
मिठो छ खानु, राम्रो छ लाउनु
त्यस्तै छ निवास ।
दिनको थोरै घण्टा र मात्र
काममा खट्नु छ
दरमाहाँ चाहिँ साँचिन्छ दिनदिन
छुट्टीमा घुम्नु छ ।
सजिलो साफ छरितो बन्न
क्या राम्रो नोकरी
झन्झट, टन्टा, झमेला छैन
यो फौजी नोकरी ।
क्या राम्रो नकरी ।
ए कान्छा ! तिमी जाने भए मसँगै जाउँ । म त महिना दिनको छुट्टीमा आएको हुँ । फेरि फर्केर जानुपर्छ । तिमीले विचार गर । हजारौंपटक सोचेर हेर । म त तिम्रो दुःख देखेर भनेको हुँ । मैले गर्न सक्ने सेवा गर्न खोजेको हुँ । मेरो कुनै स्वार्थ छैन, मेरो कुनै बेइमानी छैन । म त सोझो लाहुरे धनसम्पति कमाइसकेँ । अब महिना दिनको लागि गाउँमा आएको हुँ । सुन्न कान्छा ! मेरो पनि जहान र बच्चाहरू छन् । धनसम्पतिले अब मेरा अँध्याराहरु सबै भागिसकँे । कामले कहिले फुर्सद नहुने यो गाउँले जीवनमा भोको पेटले बाँच्न सकिन्न । जे छ त्यही खाएर भोलिको चिन्ता गर्नु भन्दा लाहुरे मेरो निम्ति काँचुली फेरेजस्तो भएको थियो । त्यसैले म भन्छु कान्छा ! यो ढुङ्गामुढा, गोरेटो डाँडा, उकालो ओरालो हेरेर मात्रै जीवन उभो लाग्न सक्दैन । जीवन उभो लाग्न त पैसा कमाउनुपर्छ । यो अनमोल जीवनमा गरिबको पीडा कस्तो हुन्छ मलाई पनि थाहा छ । मैले पनि धेरै दुख र पीडा भोगिसकेको छु । यो संसार कस्तो छ भनी मैले पनि धेरै कुरा बुझिसकेको छु । किनकि म त्यसै लाहुरे भएको होइन । लाहुरे जीवन जोखिम भएपनि त्यसमा धेरै पैसा छ । परिवार पाल्न धेरै पटक मर्नु भन्दा बरु युद्धमा एकचोटि मर्नु जाति छ । कमसेकम मेरो घर परिवारलाई जीवनभर पैसाको अभाव त हुने छैन । म चाहन्छु म मरेर गए पनि मेरो पत्नी र बालबच्चाहरूको विचलित हुने छैन । उनीहरूलाई कसैले गरिब भनी हेँला गर्ने छैन । त्यसैको लागि म पनि गएको हँु । कान्छा ! तिमीले समयमा बुद्धि पुर्याउनुपर्छ । म त आउँछु र जान्छु । मेरो साथ जाने हो भने तिमी पनि चाँडै बाटो लाग्नुपर्छ ।
हाम्रो समाज खाने र लाउने समाज हो । जसले धेरै खान र लाउन दिन सक्यो, त्यो नै समाजको ठालू हुनेछ । उसको हुकुम हामीले मान्नुपर्छ । पैसा र राजनीतिक शक्तिले हामीलाई जहिले पनि कुल्चिरहेको हुन्छ । हामी त सोझो छौ । लपनछपन गर्न जान्दिनौ । जसले जे भन्यो त्यही सत्यजस्तो लाग्न थाल्छ । त्यस्तो धमिराहरुले हाम्रो समाज बिगारिरहेका छन् । हामी पनि लाहुरे भएरनै किन नहोस् पैसा कमाएर जसरी वनमा गुराँस फूल्छ त्यस्तै हाम्रो समाजमा पनि दुईचार जना फूल्ने हो भने हाम्रो समाज अर्कै हुनेछ । प्रगति देखेर गाउँलेहरुले पनि आँखा खुल्ने छ । जीवन सोचेको भन्दा पृथक बनेर जानेछ ।
ढुङ्गा र मूढा गोरेटो डाँडा
उकाली वराली
हेरेर मात्र जीवनलाई
नदेऊ सडाई ।
मान्छेको च।ेला अनमोल कान्छा
सधैं यो रहन्न
गरिबीद्वारा थिचिँदा ज्यादा
हुनेछ यो खिन्न ।
संसार कस्तो भौ सक्यो आज
क्यै पनि नजानी
अँध्यारो बीचै लुकेर बस्नु
होइन अन्जानी ?
गुराँस बोट दुई चार फुली
तन नै हाँस्दछ
दुई चार मान्छे धनले बल्दा
गाउँ नै खुल्दछ ।
अब कान्छाको चेत खुलिसक्यो । मनैदेखि विदेसिनुपर्छ भन्ने प्रतिज्ञा गरिसक्यो । समुद्रजस्तो भित्रभित्र बेगले पानी बगेजस्तै कान्छाको मनमा पनि जाऊँजाऊँ भइसक्यो । त्यसैले आजको रात जुनेली रात थियो । जूनकिरीहरू पनि बाटाभरि उज्यालो दिइरहेको थियो । चम्किलो छ । गुनिलो भएपनि भोलि के हुने हो थाहा छैन । किनकि यो संसार त सबै समयचक्रले चल्ने हो । जहाँ जे भएपनि समयले यताउता बोलाउने हो ।
कान्छाको मन कहिले उकालो लाग्छ त कहिले ओरालो लाग्छ । यो त मनको स्वभाव हो । घरपरिवार हेर्दा उसलाई विदेशिनु बाध्यता हो । माया र ममता हेर्दा उसले आफ्नै छाप्रो संसार हो । तर के गर्नु मनभित्र चलेको आँघीवेरीले छाप्रोलाई कसरी जोगाउने हो ? त्यो सानो मीठो परिवारमा कसरी खुसीको सास फेर्ने हो ? सवाल त यहाँनिर छ । कान्छा ! घरको कालो अँध्यारो फाल्न चाहन्छ । केही दिन बिरानो देशमा गएर भएपनि सुख खोज्न चाहन्छ । त्यसैले ऊ अठोट गर्छ । मन दरो पारेर ढुङ्गाजस्तै सारो बनाउँछ । कान्छीले जतिसुकै माया ममता हाले पनि ऊ बालुवाजस्तै बन्छ । ऊ आफ्नो अठोटलाई भत्काउन चाहन्न । नदीको किनारझैँ छियाछिया हन्ुन चाहन्न । उसलाई अब जसरी भएपनि घरको कालो र अँध्यारो फाल्नु छ । ऊ नगई भएन । केही दिन आफ्नो घरपरिवारबाट टाढा बसेर भए पनि सुख नलिई आउँदै आउँदैन । छाप्रो नबनाई हुँदै भएन । पेटभरि खान नपाई बस्न सकिन्नँ । यस्तैयस्तै मनभित्रका कुराहरू खेलेर होला कान्छा आजको रात सुत्न सकेको छैन । आँखा निधाउन सकेको छैन । अपराध गरेजस्तो यो मन र मस्तिष्कमा पनि चयन भएन । आराम त गरेकै हो । खै के भो के भो रातभरि चिन्ता र छट्पटीले कहिले मुटु टुक्राटुक्रा हुन्छ, कहिले एक ढिक्का हुन्छ ।
घरको कालो, अँध्यारो फाल्न
नगई भएन
क्यै दिनलाई छोड्न नै पयो
घर बसी भएन ।
त्यो रातो कान्छा गएको सुत्न
सुत्न नै सकेन
आँखा नै जुटेन ।
अपराध केही गरेको जस्तो
चैन नै भएन
आराम भएन ।
रोई कराई मात्र यो जीवनमा पार लाउन सकिँदैन । हो, मान्छेलाई दुःख पर्न सक्छ । दुःख भयो भन्दैमा बेसरी रुनु र कराउनुको कुनै अर्थ छैन । पीडा त केही समयको लागि कम गर्न सक्ला । तर जोरीपारीको समाजमा मान्छेले कसरी हेर्ने हो ? मान्छेले कसरी बुझ्ने हो ? थाहा छैन, त्यस्तै भो आज मेघ गज्रेर बिजुली चम्केपछि के के हुने हो जस्तो लागेको थियो । तर खै एकथोपा पानी पनि पर्न सकेको छैन । बिजुली त चम्केकै थियो । मेघ त गज्रेकै थियो । तर पानीबिनाको मेघ गज्रेर पनि केही हुनेवाला छैन । यो कुरो सत्य हो, सारबिनाको कुनै अस्तित्व छैन । नदी किनारमा छियाछिया जतिसुकै भएपनि पानीबिना नदीको कुनै अर्थ छैन । बालुवाबिना पत्रे चटानको जन्म हुँदैन । त्यसैले यो छातीमा जतिसुकै पीडा भएपनि रुन त रुनु एकछिन मन हलुक्क पार्न रुनु । चिच्याउनु त चिच्याउनु तर अरुले सुन्ने गरी नचिच्याउनु ।
उठ्न त यो धरतीमा टेक्नुपर्छ । लहरा जान टेको केही पाउनुपर्छ । नत्र कसरी उठ्न सकिन्छ र ? नत्र कसरी टेकोबिना लहरा जान सकिन्छ र ? आकाशमा त लहरा जान सकिदैन । किनकि आकाशमा न टेको छ न समाउने हाँगो छ । माथि उठ्न त यो धरतीनै चाहिँदोरहेछ । यहाँको हाँगाबिङ्गाहरुनै आवश्यक हुदोरहेछ ।
जगबिना घर बन्न सकिँदैन । खाँवोबिना घरको कल्पना गर्न सकिँदैन । त्यसैले यो भरथेकको जीवनमा माटोलाई ढुंगा चाहिन्छ ढुंगालाई माटो, नत्र कसरी यो संसार चल्न सकिन्छ र ? हो खाँवो त काँध हो । काँधले आफ्नो दायित्व ननिभाउने हो भने सबै कुराहरु भत्तााभुङ्ग भएर जानेछ । भत्केर सबै टुक्राटुक्रा हुनेछ । जसरी खाँवोले घर बोकेजस्तै कान्छाले पनि परिवारको भार बोक्नु छ । बुझ्नेले बुझ्छ, नबुझ्नेले खिसी गर्ला तर मैले के कति लिएको हो, कान्छीको सिउँनीमा खै कसरी हेर्ने हो ?
मलाई यो जीवन कति रमाइलो लाग्छ । मलाई यो जीवन कति उदेक लाग्दो हो । गरिबको इच्छा कहिल्यै पुरा नभए पछि जताततै प्वालैप्वाल छ । एउटा टाल्यो अर्को ह्वाङ्ग हुन थाल्छ । यो कति दिनसम्म चल्ने हो ? के म रोएर मात्र बसूँ । के म चिच्चाएर मात्र बसूँ । होइन भने यो कदापि हुन सक्दैन । यो भरथेकबिनाको संसार चल्न नसकेजस्तै पानीबिनाको बादल जतिसुकै गज्रे पनि के पानी पार्न सक्छ र ? टेको र भरोसाबिना के लहराहरु लहरिदै जान सक्छ र ? खाँवोबिना के घर बलियो हुन सक्छ र ?
धनले रित्तो मायाको थैली
नफुकाई के गर्नु
गरिबको इच्छा संकल्प स्वप्ना
उसै नै मर्दछ
धनीको मात्र गरेको आँट
कार्यमा ज्यँुदछ ।
नबिर्सन मेघ थर्काई व्योम
के हुन्छ कराई
पानीले हीन के हुन्छ मेघ
घरर कराई ।
आकाशतर्फ उठ्दैन लहरा
टेवा क्यै नपाई
खाँबोको आड नराखी कुनै
घरको सिरानीमा
लिएको मैले के कति अहो !
कान्छीको सिउनीमा ।
केही दिनको कुरो हो । कान्छीलाई के लागेर होला आफ्नो लोग्नेलाई विदेश जान ईरादा दिँदैछन् । चाहेर वा नचाहेर हो, कुन्नी कान्छीको आँसुबाट थाहा हुन्छ । यो ईरादा हृदयदेखि दिएको ईरादा होइन । कान्छाको जिद्दीले नाई भन्न नसकेर टाउको मात्र हल्लाएको हो । मेरो माया लाग्छ कि लाग्दैन भनी सोधेको हो ? यति धेरै चोखो परिवार कतै भत्तााभुङ्ग हुने त होइन भनी सम्झाएको हो । खै सम्झिनु पर्नेले नसम्झेपछि मैले के गर्न सक्छु र ?
मुटुलाई टुक्राटुक्रा गरी विदेशमा पठाउने त मन थिएन । तर के गर्नु आफ्नो मुटुलाई टुक्रा गर्नुको पीडा मलाई मात्रै थाहा छ । कति दुखिरहेको छ । कति पोलिरहेको छ । कति घोचिरहेको छ । कति भारी भइरहेको छ । कसलाई के थाहा, माया त मार्न सकिन्न । तैपनि आज म टाउको हल्लाइरहेको छु । स्वामी यो मेरो हृदयदेखिको मन्जुरी होइन । यो करबरको मन्जुरी हो । जहाँ थुप्रै विमतिहरु छन्। । जहाँ थुप्रै असहमतिहरु छन् । पैसाको निम्ति आज मेरो स्वामी मुग्लान पस्ने भनेको यो कुरो सुखद होइन, मेरो लागि दुःख हो । स्वामी तिमी नगए पनि हुन्न र ? तिम्रो घर त्यसै चलिरहेकै छ । हामीले दुई छाक ढिडो र सिस्नु भएपनि खाइरहेकैछु । मैले तिमीलाई केही मागेको छैन । म त तिमीलाई दिन पो आएको मान्छे हुँ । तिमी लाहुरेको कुरो सुनी पैसाको भूत सवार भयो । थाहा छैन प्रिय ! यो मेरो निम्ति राम्रो भएन । यो बगेको आँसु अब मैले पुछ्ला जस्तो छैन ।
कान्छा ! मध्यरातमा जागी भाले नबास्दै कान्छीसँग बिदा माग्छन् । लाहुरे आइसकेको छ, अब ढिलो नगरी जानुपर्छ । मलाई थाहा छ, तिम्रो मनमा अहिले आगो बलिरहेको छ । प्रिय म तिम्रो मनको आगो लिएर विदेशीदैछु । तिमी चिन्ता नगर, केही समयपछि हाम्रो आफ्नै संसार फेरि बनाउनेछु । जहाँ हाम्रो परिवारले खुशीसँग जीवन बिताउनेछ । कसैले तिमीलाई हेप्ने छैन । कसैले तिमीलाई च्याटेको लुगा लगाएर आइस् भन्ने छैन । मलाई पहिलेदेखि नै मनमा घाउ भइरहेको थियो । त्यो घाउ मायाप्रितिले मात्र नपुर्दोे रहेछ । त्यसैले प्रिय म आज जाँदैछु । तिमी नरोइकन बस् । म तिम्रो छाया बनी बसिरहँुला ।
छोरो सानो छ । सानो मान्छेले बोल्न नसके पनि बाबाको माया खोज्यो भने तिमी मजस्तै बनेर सम्झाइदिनु । अब समय छैन, भाले बाँस्न थाले जस्तो छ । म हिँड्नुपर्छ । लौ प्रिय ! आजलाई बिदा देऊ । तिम्रो मनभरि पीडा भएपनि एकछिन हाँसी देऊ । ताकि म तिम्रो हाँसिलो अनुहार लिएर विदेशमा जान सकूँ । कान्छी ! तिमी मान नमान हाम्रो जीवन सुखमय् पार्न धनको खाँचो छ । म त्यही धन लिन जादैछु । चाँडै फर्केर फेरि नयाँ युगको कथा कोर्नेछु । मलाई जान देऊ । हाम्रो जीवन उकास्ने हो भने हामीले टेकेको ठाउँ छोडेर अर्काे ठाउँमा टेक्नु पर्छ । नत्र परिवर्तन कहाँ हुन सक्छ र ? जहाँ बस्यो त्यही मात्र बसिरहने हो भने यो मान्छेको जुनीमा के काम लाग्यो र ? त्यसैले कान्छी ! तिमी दुःख नमान, त्यो दुःख साट्नको लागि म विदेश गएको हो । बिछोड भयो भनी तिमी कहिल्यै कल्पेर नरुनु । किनकि मैले तिमीलाई छोडेर गएको होइन । म त लाहुरे जागिर खान पो गएको हुँ । तिमी रोयौ भने मेरो हृदय फुट्न सक्छ । तिमी चिच्चायो भने म त्यही बेला प्राण त्याग्न सक्छ । त्यसैले प्रिय ! म छु र तिमी छौ । तिमी छौ र म छु । यही सम्झेर तिमी ईश्वरलाई सम्झने गर्नु । अरु कसैले केही नगरे पनि भगवानले हाम्रो इच्छा पुरा गरी दिनेछ ।
जीवन हाम्रो सुखमय् पार्न
धनको खाँचो छ ।
धनकै भित्र सुखको द्वार
खोल्दिने साँचो छ
हे मेरी कान्छी फर्किन्छु चाँडै
क्यै धन कमाई
अवश्य चाँडै फर्किन्छु कान्छी
जान द्यौ मलाई ।
बढ्नको निम्ति टेकेको ठाउँ
नछाडी हुन्छ र
यो दुःख साट्न क्यै दिनलाई
जाँदैछु म पर ।
बिछोड हुने असहय व्यथा
मनमा खप्टेकी
कान्छीले भन्छिन् वाक्यको गेडा
आँसुमा चोपेर ।
जाऊ न जाऊ शब्द हुन् खाली
बोल्नु त क्यै छैन
तर यो मन बशमा छैन
छुट्टिन मान्दिन ।
‘जाऊ’ शब्द मात्र हुन । केवल बोल्नको लागि बोलेको मात्र हुन् । कान्छीले प्रिय कान्छालाई विदेश जानु रोक्न सकेको छैन । मन वशमा नभएर होला छुट्टिन त मान्दै मान्दिन । भूकम्प गएजस्तो, कतै अब सहारा नपाएजस्तो मन आँतिरहेछ, मन भत्किरहेछ । ठुलै प्रलयकाल होलाजस्तो लागिरहेछ । कान्छालाई कति सम्झाए पनि अब उ सम्झिनेवाला छैन । उसको मनमा कुन्था छ । त्यो कुन्था जसरी भएपनि फाल्नुपर्छ भन्ने एउटै ध्यान छ । तर कान्छा ! यो हाम्रो निम्ति राम्रो भएन । हामीले त यही सन्तोषको बिर्को लगाएर बस्नुपर्छ । हाम्रो जीवन रित्तो भएर के भो, भरथेक त छ । माया ममतामै रमाइरहेको न छ । खोले र ढिँडो सबैले खान्छ ! खानेकुरालाई छिः भन्नु हुँदैन ! तर तिमी खोले र ढिँडोलाई छोडेर अर्को भाग खोज्दैछौ । विदेश गएर के पाउँछ र ? यहाँ हामीले जाँगर र पाखुरा चलाइरहेकै छौ । एकदिन हाम्रो पनि समय आउनेछ । हामीले समय बोलाउने होइन, यो समयचक्रले बोलाएपछि त्यसै आउनेछ । प्रिय ! मेरो मन किनकिन मानिरहेको छैन । तिमी विदेशमा पनि बस्न सक्दैनौ होला । टेकेको ठाउँ दरो भएन भने हामी कसरी टाकुरा पुग्न सक्छौं ? त्यसैले हाम्रो ठाउँ भनेकै जन्मभूमि हो । यहाँको माटो भनेकै हाम्रो निम्ति स्वर्गको टुक्रा हो । अहिलेसम्म हामी बाँचिरहेका छौं । भोलिको लागि तिमी किन चिन्ता गछौ ?
मान्छेको मन न हो । मनले पुग्यो भन्न जान्दैन । उसलाई त हामीले अब पुग्यो भन्नुपर्छ । इच्छा र आकांक्षाहरुलाई केलाईकेलाई पूरा गरिदिनुपर्छ । नत्र त्यही चाहनाले सर्पले डसेजस्तै डसेर मर्नेछ । प्रिय कान्छा ! यो संसारमा सबै कुरा पैसाबाट मात्र चल्न सक्दैन । तिमीले बुझ्नुु पर्छ । यति धेरै पैसाको पछी नलागे हुन्छ । किनकि धेरै आफैमा नराम्रो हो । नराम्रो कुरा मान्छेले मन पर्दैन । त्यसैले तिमी पैसाको पछी नलागे हुन्छ । मान्छेले त भाग्यमा लेखेको मात्र पाइने हो । जति खोजे पनि भाग्यमा छैन भने हामी कसरी पाउन सक्छौ र ? हामीसँग जे छ त्यसैमै रमाउँनु पर्छ, धेरै खोज्नु हुँदैन । हामीले त यही परिश्रम गरी बिस्तारै आयस्ता बढी हाल्छ नि । अब धेरै चिन्ता नगर, मनमा आगो बल्यो भने आगोले हामीलाईनै भष्म पार्नेछ ।
छाडेर तिमी सक्दिनँ बस्न
नगर यो कुरा
टेकेको ठाउँ नभई दरो
नताकौँ टाकुरा ।
पुग्यो है अब भन्दिन कोही
भएर र पाएर
लेखेकै मात्र पाइन्छ भन्छन्
पाइन्न खोजेर ।
हामीसँग जे छ त्यसमा रमौँ
नखोजौँ बढता
मिलेर हामी गरेर काम
बढाऔँ आयस्ता ।
कान्छाले टिकाटालो गरी साइतमा बिदा माग्दा कान्छीको मन फुटिसकेको थियो । आँसु तपतप बगेर कान्छालाई अंगालो हाल्दै रुँदै थिइन् । तर के गर्नु नियतिले मान्छेलाई के के गर्ने हो ? नजानका लागि लाखौं आग्रह गर्दा पनि कान्छोको मनलाई पगाल्न नसकेपछि अरु के विकल्प गर्न सक्छ र ? त्यसैले कान्छी रुँदैछे । कान्छीको आँसु लुगाले पुछिदिन्छ । मनमा बिरहको खात बसे पनि नरुनु भनी फकाउन थाल्छ । म मर्न जान लागेको त होइन । म त्यही बस्न जान लागेको त होइन । किन यति धेरै विलाप गछौ ? धन कमाएर चाँडै आउनेछु । यो विदा गर्ने साइतमा किन पीडाले घोच्छौ ? कान्छी ! तिमीले मनलाई कहिले मार्नु हुँदैन । मन मर्यो भने हामी पनि चाँडै सुकेर मर्नेछौं । हामी त मरौला तर यो बालकलाई कसको जिम्मामा छोडेर जाने हो ? मलाई यसैमै धेरै पीर छ । यो पीरैपिरले कतै म चाडै मर्ने त होइन ? धन कमाई ल्याउन नसक्ने त होइन ? हे ईश्वर ! मैले कुनै अपराध गरेको छैन । म त मेरो परिवारको लागि ज्यान दिएर धन कमाउन जान लागेको मान्छे हँु । मेरो त के छ र ! जे छ परिवारका लागि न हो । म यहाँ बस्दैमा सबै कुराहरु ठिक भएर जान्दिन । कुनै न कुनै दिन हामी छुटिनुपर्छ । माया र ममता भन्ने कुरो बेग्लै हो । तर काल आएपछि कसैले कसैलाई पर्खिँदैन । त्यसैले प्रिया ! अब म जानेछु । तिमीले मलाई बिदा दिए हुन्छ । बाटोको निम्ति केही कोसेली भनी एकचोटी हाँसिदेऊ । ताकि यो मेरो जीवन धन्य हुनेछ । तिमी हाँसेको देखेर मेरो भाग्य चम्केर जानेछ ।
कान्छीको मनको मायाको लर्कन
शब्द भै छहारी
कान्छाको मन अँगाल्न खोज्न
नदिन बिदाई ।
साथमा तिमी भएमा मेरो
चैन नै चैन छ
छोडेर तिमी म बसूँ कसरी
सम्झनै गाह्रो छ ।
हे मेरा प्यारा, म भन्छु जाऊ
नजाऊ भन्दिनँ
साइतको बेला भन्दछु जाऊ
म रोक्न सक्दिनँ ।
कान्छी ! तिम्रो आँसुले मेरो बाटो छेक्न सक्छ । तिम्रो रुवाइले मेरो जीवन चकनाचुर हुन सक्छ । कान्छी ! तिम्रो मनमा आगोले पोले पनि तिमी हाँसिदिनु पर्छ । तिम्रो मनमा छियाछिया भएपनि तिमीले मलाई बोलिदिनुपर्छ । तब पो म बाँच्न सक्छु । तिम्रो मुहार हेरेर मेरो भत्ताभुङ्ग भएको जीवनमा फेरि एकचोटी उज्यालो ल्याउँन सकूँ । नत्र म मरेर जानेछु । मेरो आत्माले शान्ति पाउने छैन ।
तिमीहरुकै सम्झनाले दिनरात छटपटीभै आत्मा अल्झेर बस्नेछ । त्यसैले यो हुन सक्दैन । म बाँचुन्जेल तिमीलाई आँसु झार्न दिने छैन । मरे पनि तिम्रो छायाँ बनी पछीपछी आउनेछु । तिमीले नदेख्ला तर म त मृतआत्मा न हँु । मेरो परिवारलाई जसरी भए पनि रक्षा गर्न आउनेछु । कान्छी ! तिमीले तेल हाली नागिनीजस्तो चुल्ठो बाटेको देख्दा मलाई किन हो कुन्नी यो संसारमा तिमी नै एक्लै सुन्दरी हौ कि जस्तो लाग्न थाल्छ । यो खुट्टा ढलपल ढलपल भई हिँड्न नसकेपछि तिमीले हात समाइदिँदा मानौँ यो संसारमा म नै भाग्यमानी जस्तो लाग्न थाल्छ । प्रिय ! तिम्रो एकमुखी केश लिएर बिदा हुने मेरो इच्छा छ । तिमी देऊ नदेऊ तर मेरो मनको कुरा तिमीलाई मात्र पोखेको हँु । तिमीलाई लाग्ला यो मेरो केश के को लागि विदेश लग्न खोजेको हो ? तिमीलाई खुल्लीदुल्ली भइरहेको होला । यो के भन्दैछ । पवित्र हो कि अपवित्र हो । तर त्यस्तो होइन कान्छी ! तिम्रो केशले मलाई तिमीसँगै बसिरहेको आभास हुन्छ । तिमीलाई थाहा छ, म तिमीबिना बाँच्न सक्दिन । पानीबिनाको माछोजस्तै होला भनी तिम्रो केश लिएर जान लागेको हुँ । कान्छी ! तिम्रो आँखा माछाकोजस्तै सुन्दर छ । तिमीले पुलुक्क हेर्दा यो संसार खुलेकोजस्तो आभास हुन्छ । मलाई यस्तै लाग्छ प्रिय ! म धनले गरिब भएपनि तिमी पाएर असाध्यै धनी छु । प्रिय ! अब मिरमिरे उज्यालो हुदैछ । बाटो लामो छ । अब बिस्तारै हिँड्नुपर्छ । म यहाँ भएपनि मेरो आत्मा तिमीसँगै टाँसिएको छ । भनन् म के दिऊँ प्रिय ! मेरो प्राण त तिम्रो निम्ति हो भने यो मेरो कालो केश तिमीलाई नदिई म कहाँ बस्न सक्छु र ? तिम्रो इच्छा मेरो इच्छा हो । तिम्रो चाहना मेरो चाहना हो । त्यसैले तिमी मेरो मुटुनै माग म मुटु दिन पनि तयार छु । जाबो मेरो एकमुठी केश दिन मलाई के को पीर लाग्छ र ? कान्छी हँसिया लिएर एकमुठी केश काटी कान्छाको हातमा थपक्क राखिदिन्छे । मुहार हँसिलो पारी निभ्न लागेको बत्तीजस्तै पिलीपिली आँखा खोलेर टलपल टलपल आँसु झारीदिन्छे । कान्छा ! यो खुसीको आँसु हो । तिमी चिन्ता नमान । सबै ठिक भएर जानेछ । तिमी बिरानो देशमा गएपनि तिम्रो मन ममाथि छ । मलाई थाहा छ, तिमी मलाई कति माया गछौ । तर मैले त्यो ऋण तिर्न सक्छु कि सक्दिन थाहा छैन ? त्यसैले प्रिय ! म यो जूनीमात्र होइन युगौंयुगसम्म तिम्रो अर्धागिनी भएर बाँच्न चाहन्छु । ईश्वरलाई मैले सधै यही प्रार्थना गर्दैछु ।
कान्छीको आँखा माछाझैै राम्रा
पुलुक्क पटेल्को
राख्दिन कान्छी दिलको बात
घँुक्कले रुझेको ।
म नै हुँ तिम्रो, नदिने चिज
मसित के छ र
मुटु नै माग म सक्छु दिन
यो चुल्ठो के हो र !
भनेर यति हँसिया लिई
काटेर चुल्ठी त्यो चरक्क
एक मुठी केश चुल्ठी त्यो आफ्नो
कान्छाको हात
राखिदिइन् थपक्क ।
कान्छा विदेशतिर हिँडिसक्यो । उसको मन पनि भारी छ, आँखामा साउने झरी चलिरहेको थियो । कानमा कान्छीकै स्वर गुन्जिरहेको थियो । आखिर मान्छेको जीवन न हो । दुःख भएपछि मान्छेले के के गर्दो हो । मनमा थुप्रै कुराहरु उम्लिरहेको थियो । कान्छीका ती ठूलाठूला नजर र मायाले पछीपछी पछाउँदै थियो । कुरो गहिरो छ, काखको छोरो झल्झती सम्झेर कान्छा रुनु न हाँस्नुजस्तो भइसकेको थियो । तैपनि कान्छा यो डाँडाबाट त्यो डाँडाहुँदै विदेशतिर हिँड्दैछ । उज्यालो एक ढिक्का भएर हिमाल उभेजस्तै नजाऊ नजाऊ भन्दैछ । वनपाखा अनि चौताराका पिपलका बोटले पनि इशारा गर्दैछ । चराहरु चिरिबिरीगर्दै नबुझ्ने भाषाले रोइरहेछ । जानू त हाम्रो काम हो भनी खोलाले भन्दैछ । नजाऊ यो गाउँ शून्य हुन्छ । तिमी भएन भने डाँडाकाँडा मात्र होइन वनपाखाका रूखका पातहरू सबै झरेर जानेछ । नाङ्गो भएर लाज मर्नु हुनेछ । त्यसैले कान्छा ! तिमी नगए हुन्न र ? फर्क आफ्नो गाउँ । फेरि पहिलेजस्तै माया र पिरतीका कुरागर्दै यो माटोलाई छातीमा लगाऊ । तिमी किन सुने पनि नसुनेजस्तो बहिरो बनिरहेछौ ?
भान्सा तयार भैसक्यो । अब खाएर जानू । बाटाका भट्टी दिदीहरुले बोलाए पनि तिमी सुटुक्क नपस्नु है । प्रिया कान्छा ! मैले तिमीलाई भनिरहनु पर्दैन होला, यो त तिमी आफैले नै थाहा भएको कुरो हो । तिम्रो मनले जानेको कुरो हो । त्यसैले हे मेरी कान्छा ! यो जीवन जिउँन त्यति सजिलो छैन । आफूले सोचे जस्तो कहिल्यै हुँदैन । म ताक्छु मुडो बन्चोरो ताक्छ घुँडो त्यसै भनेको होइन । यस्तैयस्तै कुराहरु कान्छाको मनमा खेलिरहेको थियो । हिँड्दाहिँड्दै भोक लागेर मायाको कोसेली मकै, भटमास र गुन्दुको सितनमा रोटी खान खोज्छ । खोला नजिकै गएर पानीको तिर्खा मेट्न थाल्छ । पेट अघायो तिर्खा मेटिएन । प्रेमले दिएको त्यो खाजा कति मीठो र स्वादिलो लागिरहेको थियो । फेरि खाऊँखाऊँ लाग्ने जति खाए पनि नपुग्ने त्यो खाजा अब विदेशमा कसरी पाउने हो ? दुईचार दिनको लागि त पुग्ला अनि पछि के गर्ने हो ?
यो संसार प्रेम, माया र स्नेहमा बाँचिरहेको छ । जसले जेसुकै भनुन्, प्रेमबिनाको माया सुकेको पात हो । पानीबिनाको माछो हो । हावाबिनाको जीवन हो । पानीबिनाको तिर्खा मेट्नु हो । त्यसैले यो भरथेकको संसारमा प्रेम, माया र स्नेह त चाहिन्छ नै । मैले लिने होइन, मैले त दिनुपर्छ अनि बिस्तारै अरुहरुले पनि तिमीलाई दिन आउनेछ । संसार त यसरी नै चल्नुपर्ने होइन र ? जसरी कान्छा र कान्छीको जीवन रथ चलिरहेको थियो । जीवनका पांग्रा बिग्रयो भने सद्भावले फेर्नुपर्ने होइन र ? आफूलाई जति जतिसुकै भोक लागे पनि मायालाई पनि बाँडेर खानु पर्ने होइन र ? तब पो सत्य बोलेर ईश्वर प्रसन्न हुनेछ । दुःख र पीडाबाट एकछिन छुटकारा दिनेछ । तिमी हाँसेर मात्र बस्नुपर्छ । दुःखहरू पनि तिमीसँगै हाँस्नेछ । तिमीले एकनाशले मात्र पाइला चाल्नुपर्छ । तिम्रो पछीपछी भाग्य पनि दगुरेर आउनेछ । तिमी सबैलाई माया र ममताले मात्र हेर्ने गर, तिमीमा सधैँ त्याग र करुणा त्यसै पलाउनेछ । त्यसैले मभित्र तिमी छौ । तिमीभित्र मलाई पनि राख्ने गर । यसैमै मानव जीवनको कल्याण हुनेछ । आफूले खोजेको कुरा तुरुन्तै पाउन नसके पनि भोलि अवश्य पाउनेछ ।
छरितो मिठो खाएर जानोस्
भान्सा छ तयार
बाटामा डाक्छन् भट्टीका दिदी
पहाडी सिँगार ।
पैसा छ कम टाढा छ जान
सुटुक्क नबोली
पानीको नजिक गएर खोल्छ
ल्याएको कोसेली ।
मकै र भटमास गुन्द्क सीतन
साथमा क्यै रोटी छ
कान्छीले आफ्नो प्याराको निम्ति
दिएको पिरती छ
पेटको ज्वाला क्यै साम्य पारी
बाटो त्यो टाढाको
ऊ बढ्छ बिचरो कान्छीको माया
गढेको गाढाको ।
बिरानो देशमा आफ्नो मान्छे हुन सक्दैन । सबै नौला छन् । क्हिल्यै नदेखेका कुराहरु अहिले आफू अचम्म लागिरहेछन् । तातो हावा छ । पानी नमीठो खल्लो छ । मान्छेहरुलाई विश्वास गर्न गाह्रो छ । को कहाँ जान्छ कसलाई मतलब छैन । सबै आ–आफ्नो धुनमा छ । मान्छेहरु सत्कर्म भन्दा धेरै अकर्म तिर लागेको हो कि जस्तो आभास हुन्छ । मलाई अलिअलि डर नलागेकोे पनि होइन तर डर लाग्यो भन्दैमा घर फर्केर आउने कुरो भएन । म त संघर्ष गर्न आएको मान्छे हँु । उनीहरुसँगै बसेर आफ्नो उद्देश्य जसरी भए पनि पूरा गर्न आएको मान्छे हँु । म गरिब मान्छेसँग धन सम्पति छैन । धन सम्पति बोकेर आएको भए पो डर मान्नुपर्ने हो ? म एक्लो छु, मेरो अगाडि पछाडि कोही छैन । मैले जीवनमा कहिल्यै नदेखेको रेल चढे । रेल आफ्नै गतिमा गइरहेको थियो । टाढा पुगिसकेको थियो । बिरानो देशमा आफ्नो गाउँ ठाउँबाट माया अझैे तिब्र रूपमा छातीमा गडिरहेको थियो । म त नौलो ठाउँमा आएपछि भुल्नुपर्ने हो ? मनले अलिअलि भएपनि माया त छोड्नुपर्ने हो ? तर यो किन भइरहेको छैन ? यो मनले त जति टाढा गयो त्यति धेरै घरपरिवारहरूसँग अझ गाँढा सम्झिरहेछु । हे भगवान ! मेरो मनमा के भइरहेको छ ? अब म कसरी यहाँ जीवन बिताउन सक्छु र ? मैले त सोच्नै सकिरहेको छैन ? कतै भत्केर जाने हो कि ? कतै नाँसिएर जाने पो हो कि ? कतै पागल हुने पो हो कि ? कतै नौलो ठाउँमा हराउने पो हो कि ? मलाई यस्तैयस्तै लागिरहेछ । यो रेलमा चढ्दा मान्छेलाई कस्तो खुसीको अनुभूति हुन्छ । तर मलाई त टाउको दुखिरहेको छ । उल्टी आउँलाजस्तो कस्तोकस्तो जीऊ बिसन्चो भइरहेको छ । यो गर्मी मौसममा शीतल पानीको प्यास लागिरहेको छ । थकाईलाई बिसाउँन पनि मायाको छाया चाहिँदोरहेछ । मनलाई अलिकति भएपनि सन्चो पार्न अडेस दिने कोही छैन । सब बाहिरी खोलजस्तो लागिरहेछ । मलाई अब बस्न त मन लागिरहेको छैन । फकूँफकूँजस्तो लागिरहेको थियो । तर के गर्नु, धनको खोजीमा यहाँसम्म पुगिसकेँ । गरिबलाई जित्नको लागि लाहुरे बनिसकेँ । कष्टलाई समाप्त पार्न पैसाकोे खोजी गरिसकेँ । तर के गर्नु, घरपरिवारको मायाले क्षणक्षणमा घोचिरहेछ । मेरो कान्छी अहिले के गर्दै होलान् । त्यो सानो छोरोले दूध खायो कि खाएन ? यस्तैयस्तै थुप्रै प्रश्नहरुले मलाई सधैं सोधिरहन्छन् । ती न्यास्रा दिनहरु काटेर पनि सधैं खुसी भएर बाँचिरहेछन् ।
उदासी मनको धुनको निम्ति
शीतल पानी खै
थकाई मनको बिसाउनलाई
मायाकी ज्यानी खै ।
अडेस मनको क्यै छैन यहाँ
खोल छ बाहिरी ।
फकूँ कि घरमा मनमा हुन्छ
तर त्यो गरिबी ।
गरिबीलाई जित्नको निम्ति
आएको म यहाँ
कष्टको सामु हच्कन हुन्न
यस्तै छ दुनियाँ ।
भनेर कान्छा घरको माया
बिर्सन खोज्दथ्यो
ती न्यास्रा दिन काटेर सब
खुसीझैँ बस्दथ्यो ।
कान्छा लाहुरे भइसकेको छ । उसको आफ्नै लाहुरेको नियम छ । समयमा खान्छ । समयमा हिँड्छ । समयमा सुत्छ । समयमा कवाज खेल्छ । सबै कुराहरु समयमा गर्नुपर्ने लाहुरेको नियम छ । बन्दुक त चलाउने पर्याे । तोप त पड्काउँनै पर्याे । मेसिनजस्तो फौजीको जीवनमा ब्यारेकमा बसी अनुशासनमा बस्नै प¥र्याे ।
दिनहरु बितिरहेको थियो । महिनापछि अब वर्ष दिन लागिसक्यो । कान्छाको ज्यानले अरु जे पनि गर्न सक्ने भइसक्यो । युद्धको समयमा बैरीलाई मार्न हातहतियार चलाउने सक्षम भइसक्यो । तर के गर्नु यो नोकरी त विदेशको लागि हो । आफ्नो पसिना र जीवन अर्काको लागि हो । आफ्नो त केही छैन । ज्यानको बदला पैसा दिएर कान्छाजस्ता थुप्रै वीर नेपालीहरुलाई लाहुरे बनाइरहेको छ । शान्तिका हामी पुजारीहरुलाई गरिबको कारण पैसा दिएर युद्धमा होमी राखेकैछ । सृष्टिलाई विनाश पार्न थुप्रै विनाशका कार्यहरु भइरहेकैछ । तसर्थ यो मेरो ज्याानको बदलामा पैसाको लागि गरिएको सौदा हो । मन आँतिन खोज्छ, प्राण उडेर जालाजस्तो भईरहन्छ । साथीहरुकाबीच आ–आफ्नै गाउँघरका कुराहरु हुने गरिन्छ । परिवारका सुख र दुःखका कुरा हुने गरिन्छ । मन खिन्न बनाई पैसाको लागि आउनु परेका थुप्रै कुराहरु गर्ने गरिन्छ । यस्तै छ भाग्य तर कान्छोको मनमा सधैँ हिउँ पग्लेजस्तै मन पग्लेर पानीपानी बगिरहेको हुन्छ । वर्षा भएर सधैँ आँखाबाट आँसु चुहिरहेको हुन्छ । तर कान्छीलाई यो कुरा थाहा दिनु हुँदैन । किनकि कान्छी धेरै चिन्ता गर्छे । कान्छीलाई चिठी लेख्दा आफू आरामले बसिरहेको, सुख सुविधाहरु धेरै रहेको, पैसा बिस्तारै कमाइरहेको कुराहरु पठाउने गर्थे । सपनाहरु भोलि पुरा गर्ने आशा बाँडिएको हुन्छ । ठूलो साहसका साथ कान्छीले गरेको भरोसालाई धन्यवाद दिन्छ । यस्तैयस्तै आफ्नी प्रेमीको गुणगान गरेर चिठी पठाउँछ । ताकि उसको मनमा प्रसन्न होस् । उसले हेर्ने दृष्टिकोणमा फरक होस् । बस् मलाई त्यति भए पुग्छ, जति मेरी कान्छीसँगका लागि खुसी हुनुपर्छ । हो, मेरो देश नेपाल हो । जहाँ हिमालमूनि शीतल थल छ । डाँडाकाँडा अनि खोला र नाला धेरै भएको त्यही मेरो देश हो । सगरमाथाको देश, बुद्ध जन्मेको देश, जिउँदो कुमारीको देश, प्रकृतिले हराभरा भएको देशमा एकाबिहान र साँझमा हिमाल सिन्दुरले पोटेको हुन्छ ।
चराचुरुङ्गीहरूले गीत गाइरहेको हुन्छ । स्वर्ग छ मेरो देश । जहाँ शीतल हावा चल्छ, जहाँ रमणीय ऋतुहरूको राज हुन्छ, जहाँ हिउँ पग्लेर खोला बन्छ, जहाँ मानव सेवामा सधैं जुडिरहेको हुन्छ । मेरो देशमा त ऋषि मुनिहरुले तपस्या गर्छ । देव गणहरुले बास गर्छ । संस्कृति र सभ्यताको मेरो देशमा कला–कौशलताको जिउँदो रूप देखिन्छ । तसर्थ हामी वीरका सन्तान हुँ । मलाई युद्ध कसरी गर्नुपर्छ सिकाउनु पर्दैन । मलाई ठाडो पहाड कसरी चढ्ने भन्नु पर्दैन । म त बहादुरको छोरो हुँ । मेरो नजर बाघको जस्तो छ । मेरो शक्ति काल भैरवको जस्तो छ । त्यसैले म त वीर गोर्खाली हुँ । अब म धेरै समय बस्न सक्दिन । छिट्टै घर जान्छु, जे जति पैसा कमाईएको छ त्यसैमै अब रमाएर बस्नेछु । मेरो कान्छीसँग विदेशका कुराहरु गर्दै आफ्नै बाटोमा लाग्नेछु । कान्छी ! तिमीले भनेको ठिक रहेछौ । तिमी ज्योतिष त होइनौ । तर तिमीले गरेको भविष्यवाणी सहिरहेछ । किनकि आफ्नो जन्मभूमिजस्तो बिरानो देश कहिले हुने छैन । जे छ यसैमै सन्तुष्टि भएर बस्नुपर्ने रहेछ । म अलि धेरै असन्तोषी भए । त्यसैले आज लाहुरे भएर पनि मेरो मन सन्चो छैन । पीरैपीर छ । म मात्र होइन यहाँका सबै साथीहरुका आ–आफ्नो गुनासाहरु यस्तै छन् । कान्छी ! अब म तिमीले जे भन्यो त्यही मान्छु । किनकि तिम्रो कुरो सही थियो । मैले सोचेको कुरो बेठीक भयो । मलाई आज आत्मग्लानी भइरहेको छ । मैले समयमै मेरी कान्छीलाई चिन्न सकिन । उसको भित्री आत्मालाई बुझ्न सकेनौँ । त्यही फलको कारण आज मैले आफ्नो घरपरिवारसँग बिछोड भएर म बसिरहेको छु । मन भत्ताभुङ्ग पारेर जीवन लथालिङ्ग बनाईरहेको छु । आफ्नो मान्छेले भनेको कुरा नसुनेपछि यस्तै दुःख पाइदोरहेछ । दिएको काम गर्न पनि हे ईश्वर मलाई किन त गाह्रो भइरहेको छ ? घरपरिवारसँग छुट्टिएर बस्नु पनि कति गाह्रो हुँदोरहेछ ? म सम्झिरहेको छु, हिजोका दिनहरु एकएक पढिरहेको छु । ऊ अनपढ भनेको त सबै कुरामा उत्कृष्ट रहेछौ । मलाई खुसी लाग्यो । संगिनीको आत्मा निर्मल भएर होला उसको बोली वचन चोखो थियो । चोखो मान्छे ईश्वरको पनि प्रिय हुन्छ । उसले हेर्ने दृष्टिकोणमा दूरदूरसम्म पुगेको हुन्छ । त्यसैले अब चाँडै फर्किन्छु भन्ने मान्छे दुई वर्ष पुगिसक्यो । अब धेरै बस्नु छैन । चाँडै आफ्नो देशमा गएर नयाँ नौलो कामको थालिनी गनेर्छु ।
हिमालयतल शीतल थल
कान्छाको देश छ
डाँडा र काँडा खोला र नाला
बगर बेस छ ।
बिहान साँझ सिन्दुरलाई
हिमाल हाँस्दछ
पातको फूल अलिअलि खोली
चराले गाउँछ ।
छुट्टिई कति बस्नु हो पर्ने
त्यो देश सुन्दर
दिलको काम गर्नमा किन
तगारो ईश्वर !
कान्छीकासङ भएको कुरा
सम्झन्छ , सम्झन्छ
चाँडै नै फिर्छु भनेको ऐले
दुई वर्ष लाग्दैछ ।
अब त छोरो पनि ठूलो भइसक्यो होला । उसले मेरो बाबा कहाँ गएको होला भनी प्रश्न गर्न जानिसक्यो होला । बिचरो छोरो उसलाई के थाहा, गरिब हुनुको पीडा कस्तो हुन्छ ? छोरो म तिम्रै भविष्यको लागि मुग्लान पसेको हँु । मैले रगत बेचेर भएपनि तिमीहरुको भविष्य उज्ज्वल पार्नुपर्छ । म त गरिब भएर मर्न सक्छु । तर तिमीहरुलाई जसरी भएपनि यो गरिबबाट उम्काउनुपर्छ । त्यो ठूलो पर्खाल तोडेर भएपनि त्यहाँबाट बाहिर ल्याउनुपर्छ । त्यसैले छोरो म विदेशमा लाहुरे भई गएको हुँ । अहिले केही नबुझे पनि भोलि तिमीले अवश्य बुझ्नेछौ । मेरो बाबाले कति दुःख कष्ट गरी हाम्रो भविष्य बनाउन खोजेको भनी तिमीले थाहा पाउनेछौ । हो, म अभागी छु तर मेरो छोरा अभाग्य बन्नु हुँदैन । ऊ गाउँलेको छोरो भएपनि सहर गएर पढ्नुपर्छ । ठूलो मान्छे बनेर ठूलै काम गर्नुपर्छ । तब पो एउटा बाबाको मन खुसी हुन सक्छ । तब पो छोरोको जीवन हेरेर मृत्यु आएपनि खुसीले मर्न सक्छ । होइन भने छोरो यो मेरो लागि सधैँ दुर्भाग्य बनी कालो बादलले सूर्यलाई ढाकेजस्तो हुनेछ । समुद्रको छालले बगाएजस्तै हुनेछ । कहाँ कता पुरायो अलपत्र भएर सदाका लागि गुमनाम भएजस्तो हुन्छ ।
कान्छी ! अब त गहँु काट्ने बेला भइसक्यो होला । तिमी एक्लै छौ, कसरी काट्ने होला ? तिमीलाई अब कसले सघाउने होला ? थाहा छैन, तर तिमी बिरागिनीका सन्तान हौ । तिमीले हरेश खान जानेको छैन । तिमी एक्लै भएपनि तिम्रो आँत कहिल्यै मरेको छैन । त्यसैले तिमी मेलापात मात्र होइन हाम्रो छोरोलाई पनि स्याहार सुसार गरेर आफ्नो कर्म गर्दैछौ । तिमी निराश हुने मान्छे होइनौ । तिमी टुटेर जाने मान्छे होइनौ । तिमी त अविरल नदीझै बगिरहने मान्छे हौ । ईश्वरले पनि दृष्टि पु¥र्याउने मान्छे हौ ।
त्यो घरबारी मेरो पुर्खाको छाला हो । अलिकता ऋण थियो । समयले तिर्न नसकेर साहुँको कचकच सधै सुन्नुपथ्र्यो । पैसाको अभावले गरिब भनी हेँला गथ्र्यो । तर मैले के गर्न सक्छु र ? ऋण त तिर्नुपर्ने नै हो । अलिअलि गरी तिरेकै हो । तर सबै तिर्न सकेको छैन । ब्याज बढेको बढैछ । चर्को ब्याजलाई फेरि साँवामा गाभेर तमसुक भाका फेरिर्दैछ । हिजो घरव्यवहार चलाउनको लागि थोरै ऋण लिएको थिएँ । तर आज ब्याज बढेर धेरै भइसकेको छ । पुर्खाको छाल दिएर पनि अब ऋण चुक्ता नहोला जस्तो छ । हामी कमारो भएर बस्नुपर्ने जस्तो भो । त्यसैले कान्छी ! हामी त जेनतेन कमारो भएपनि बसौला । तर हाम्रो छोरालाई कसरी बचाउने हो ? ईश्वरले हामीलाई कहाँ लगेर पुर्याउने हो ? चोट कसरी हामीले खप्ने हो ? घरबारीबिना हामी कसरी जिउने हो ? यसैमै मेरो चिन्ता छ । पाखुराको शक्ति छउन्जेलसम्म त काम गरौंला तर बिरामी भए के खाने हो ? भविष्य कसरी कोर्ने हो ? आफ्नो त ज्यान फालौला तर परिवारको ज्यान के हुने हो ? कान्छीको आँसु र छोरोको रोदनले कति पोल्ने हो ? मेरो जीवन सक्यो भने प्रिय कान्छी र छोरोले दश घर मागी कसरी खाने हो ? थाहा छैन, भविष्य अँध्यारो भएको म कसरी टुलुटुलु हेरेर बस्न सक्छु र ? दिनहरु कसरी काट्न सक्छु र ? जिउँदो लास बनेर म कति दिनसम्म बाँच्न सक्छु र ? त्यसैले मलाई घरव्यवहारको ठूलो चिन्ता छ । ऋण जसरी भएपनि तिरेर स्वतन्त्र हुने ईच्छा छ । म सक्छु कि सक्दिनँ भन्न सक्दिनँ, भविष्यले मलाई कहाँ कता लगेर पु¥र्याउने हो ?
पुर्खाको छाला, त्यो घरवारी
साहुले लिने रे
ए मेरी कान्छी, यो मेरो छोरो
कसरी बाँच्ने ए
हे दैव कस्तो, यो चोट आज
कसरी सहने
घर र वारी नभई आफ्नो
कसरी जिउने ।
पाखुरामाथि छउन्जेल शक्ति
क्यै गरी खाउँला
बिरामी परे भाकैमा डढी
यो ज्यान फालौँला ।
कान्छीको आँसु छोराको रोदन
के गरी सहुँला
मर्नु नै जाती म मान्छे भई
के गरी बाँचुला ।
दश घर मागी कान्छी र छोरो
हिँडेको हेरेर
कसरी काट्ने ती दिन मैले
जिउँदै मरेर ।
हे ईश्वर ! यो लाहुरे जीवन मान्छेले मान्छेलाई मार्न बनाएको हो ? तिमी ज्यान देऊ म पैसा दिन्छु भनी हाम्रो देशसँग सम्झौता भएको हो ? विदेशी फौजमा भर्ती भएर, विदेशकै माना खाएपछि हाम्रो पनि कर्तव्य हुन्छ । म सक्दिनँ, भन्न मिल्दैन । म युद्धमा जान्न भन्न सक्दैन । मलाई युद्धको लागि तालिम दिएर राखेको सेना हो । माथिको आदेश पाएपछि युद्धमा होमिनुपर्छ । मान्छेले मान्छेलाई मार्नुपर्छ । मान्छेले मान्छेलाई कुल्चेर जानुपर्छ । यो नै सेनाको धर्म हो । यो नै सेनाको कर्म हो । नाई भन्न मिल्दैन । म त मान्छेलाई नै मार्न बनाएको मान्छे हुँ । फूलझै सेताम्य, आलु बखरा फल्ने याम थियो । सीमामा गडबड भई ठूलै लडाई होला जस्तो छाँटकाँट देखिन्छ । नभन्दै कान्छाको पल्टन सीमाको रक्षा गर्दागर्दै कान्छाको छातीमा तातो गोली लागेर मरणान्त भो । युद्ध चलिरहेको थियो । पल्टनका फौजीहरुले कान्छालाई बोकेर अस्पताल पु¥याएपनि चौविस घण्टामै चौविस वर्षीय त्यो लक्का जवान कान्छाको जीवनलीला समाप्त भो । कान्छासँगै थुप्रै साथीहरुले पनि वीरगति प्राप्त भो । यो त आफैमै घिनलाग्दो नरसंहार हो । जहाँ न उन्नति हुन्छ न मानवीय चेतनाको सवाल उठ्छ ? न शान्ति, सद्भाव र मित्रता हुन्छ न सकारात्मक सोचको विकास हुन्छ । यो त मानव विनाश गर्ने नकारात्मक सोच हो । बडो डरलाग्दो सबै पराजय हुने शान्तिको बाधक हो ।
यै बीच चल्यो लडाइँ ठूलो
सीमामा गड्बड् भो
कान्छाको पल्टन खटियो टाढा
फौजको माग भो ।
सीमाको रक्षा गर्दा र गर्दै
ड्याङड्याङ र दुङ्दुङ् ,गोली है चल्यो
भावीको लेखा के लाग्छ कान्छा
गोलीको शिकार भो ।
छातीमा आए ताता है गोली
जोडले भित्रियो
कान्छाको ज्यान तानेर लाने
मृत्युको मुखेन्जी
रोएर बिन्ती गर्दछ कान्छा
आँसुले धर्धरी ।
निःशब्द छु, कान्छा मरिसक्यो । विदेशको भूमिमा उसले देहत्याग गरिसक्यो । शून्यशून्यमा कान्छा हराइसक्यो । रुने कोही छैन । बिरानो देशमा कान्छाको देहलाई अन्तिम संस्कार गर्दा मुखमा पानी हाल्दिने कोही छैन । ऊ त स्वर्गीय भइसक्यो । हलचलबिनाको कान्छा मुर्दा बनिसक्यो । आगो पिउन, आगोसँगै खेल्न आगोले आफ्नो शरीरलाई भष्म पार्न ऊ चिर निन्द्रामा छ । अब उठेर आउन सक्दैन । अब माया प्रिरतीका कुराहरु गर्न सक्दैन । अब परिवारलाई सम्झेर रुन सक्दैन । अब कोहीसँग बोल्न सक्दैन । किनकि उसको आत्मा परलोक पुगिसकेको छ । एउटा नेपाली बिरानो देशमा वीरगति प्राप्त भैसकेको छ । यो कस्तो विडम्बना हो ? पैसाको लागि त्यति टाढा पल्टनको जागिर खान गयो । पैसा कमाएर आफ्नो परिवारलाई नयाँ बिहानी दिन गएका थियो । तर ती सबै माटोमा मिसिन पुगे । इच्छा र आकांक्षाहरु सबै आगोले खाई सकेँ । ऋण तिर्नु थियो । परिवारको भविष्य बनाउनु थियो । गरिबीलाई छोड्नु थियो । तर आज कान्छा आफैले आफैलाई छोडेर गयो । खै अब कान्छी कसरी बाँच्ने हो ? छोरोलाई कसरी भविष्य देखाउने हो ? बाटो कसरी हिँड्ने हो ? छाप्रो कहिले बनाउने हो ? हिजो एउटै मात्र प्रश्न थियो, आज थुप्रै प्रश्नहरुले कान्छीलाई प्रश्न गर्दैछन् ।
कान्छाले आमाको ऋण तिर्न बाँकी छ । तर ऊ बितेर गइसक्यो । कति कोशिस गर्दा पनि आफ्नो छाप्रो त बनाउन सकेन । पुर्खाको छाला त जोगाउन सकेन । ऋण त साहुलाई तिर्न सकेन । कान्छा त मरिसकेँ । तर कान्छाको आत्माले कान्छीलाई हेर्दैछ । ऊ कहाँ जान्छे, कसरी खान्छे । एउटा वीरको परिवारलाई हाम्रो समाजले कसरी हेर्छ ? गाउँशोकमा छ । सबैको प्यारा कान्छा अब सम्झनामा मात्रै सिमित छ । बोल्न सक्दैन, खान सक्दैन, हिँड्न सक्दैन । उ त बादलमाथि बसेर सिङ्गो गाउँलाई हेर्दैछ ।
बिरानो देश, सम्झेर आफ्नो
रोइदिने कै छैन
अन्तिम बेला मुखमा पानी
हाल्दिने क्यै छैन ।
नेपाल सम्झि नेपाली ठिटो
शून्यमा बिलायो
नेपालमाले हुर्काएको छोरो
चरोझैँ मारियो ।
आमाको ऋण तिर्न छ बाँकी
नतिरी ऊ म¥यो
बैसको बेला दैवले टिपी
उसलाई लिइगयो ।
हे ईश्वर ! तिमीलाई अलिकता भएपनि दया लाग्नुपर्ने हो । यो गरिबको नियतिले कान्छालाई विदेश पठाइयो । युद्धमा तातो गोली थाम्न लगायो । यो धरतीको कर्मयोगीलाई निमोठन लगायोे । के यो पाप होइन र ? के यो उचित छ र ? सबै फास्फुस् पारेर के दैवले पनि मञ्जा लिन सकिन्छ र ? के यो बिगार्नलाई यस्तो घटना घटाएको हो र ? होइन भने हे ईश्वर ! तिमीले किन यस्तो निर्दय खेल खेल्यो ? आशाका कलि मायाका टुसा किन निमोटियो ?
मान्छेको भाग्यमा के लेखिएको छ, थाहा हुँदैन । कान्छा आफ्नो गरिब हटाउन विदेश गएको हो । ऊ आफ्नो इच्छाले गएको होइन, बाध्यताले गएको हो । तर हे दैव ! तिमीले त्यही मारिदियो । कान्छीको भाग्य पखालेर आँसुमा डुबाइदियो । कतै तिमीले कान्छीलाई बदला लिन खोजेको त होइन ? कतै तिमीले कान्छीको दिलमा आँसु र छटपटी दिइ आफ्नो कला देखाउन खोजेको त होइन ? होइन भने यो घोर अन्याय भयो । यस्तो अन्याय अब कसैलाई पनि नगरे हुन्छ । किनकि तिमीलाई पनि पाप लाग्नेछ । आज नभोगे युगौँयुगपछि पनि भोग्नुपर्नेछ । त्यसैले हे दैव ! तिम्रो विधान कस्तो छ ? मान्छेलाई एकचोटी किन शून्यमा पार्न खोज्छौ ?
कान्छा अकालमै मारिएको छ । त्यसमा ईश्वरको दोष छैन । दोष त मान्छेको हो । दोष त गरिबको हो । कान्छाले नुन खाएपछि मुनको सोझो निभाउनै पर्छ । त्यो उसको कर्तव्य मात्र निभाएको हो । युद्धमा मान्छे–मान्छेको काटमार सुरु भएपछि आखिर मर्ने त मानिस नै हो । मान्छेको रगत पिउने मान्छेनै हो । त्यसैले युद्ध आफैमा अपराध हो । सैन्यबलमा गर्ने एउटा दम्भ हो । मान्छेले मान्छेलाई मार्ने एउटा अभिशाप हो । मान्छेले मान्छेलाई नरसंभार गर्ने एउटा अस्त्र हो ।
हे दैव ! यो पापी मान्छेलाई सत्यको बाटो देखाइदेऊ । अन्याय र अत्याचार गर्नेहरूलाई खाल्टोमा पु¥याइदेऊ । अब युद्ध होइन, हामीमा शान्ति चाहिन्छ । जसले मान्छेलाई मान्छे बनाउने छ । जसले मूर्खलाई पनि सत्यमार्गमा लग्नेछ । मन स्थिरमात्र हुनुपर्छ मान्छेमा शान्ति त्यसै पलाउँनेछ । क्षमा मात्रै दिने हो भने पनि उत्तम शान्तिको जन्म हुनेछ । त्यसैले मान्छेले त शान्तिको मार्ग खोज्नुपर्ने हो । जहाँ अमोक शक्ति प्राप्त हुन्छ । विकास र समृद्धि हुन्छ । हिंसा र चक्रव्युबाट निस्किने हो भने शान्ति, अहिंसा र करुणाको जन्म हुन्छ । त्यसैले मान्छे मान्छेमा अशान्ति होइन प्रेम र मेल फिजाउनु पर्छ । ताकि सबैको हृदयमा रविको किरण परोस् । युद्धलाई पर राखेर सहयोग र सद्भावले काम गर्न सकोस् ।
दैवको दोष नलाऊ व्यर्थ
यो दोष मान्छेकै
गरिबी ल्यायो नजानी बाँचो
दोष हो मान्छेकै ।
त्यसैले उता लडाइँ जाग्यो
मानिस मानिसै
पशुझैँ लड्यो यौटाको अर्काे
अघोर शत्रुझै ।
यो देश मेरो त्यो देश तेरो
कोरेर सिमाना
विकृति पायो दुर्गन्ध पा¥यो
आजको जमाना ।
मान्छेको हत्या मान्छे नै गर्ने
दैवको के दोष
हे पापी मान्छे, हे मूर्ख मान्छे
यो जाल लौ रोक ।
यो संसार अनौठो छ । यो अनौठो संसारभित्र योग र वियोगका थुप्रै संकेतहरू ईश्वरले नदिएको होइन । मनुष्यले बुझ्न नसकेको मात्र हो । तिमी मान या नमान तिमीले अशुभ सपना देख्न सक्छ । पशुपंक्षीहरूको अस्वाभाविक व्यवहार देखाउँन सक्छ । आफ्नै अन्तरआत्मा, विवेक र चेतनाले संकेतहरुलाई बुझ्न सक्नुपर्छ । यो त सूक्ष्म जानकारी हो । जुन मनोविज्ञान र संयोगले मात्रै व्याख्या गर्न सकिन्छ । त्यसैले यो बुझ्ने नबुझ्ने प्राणीको चेतनामा निर्भर हुन्छ । हो, महाभारतको कुरुक्षेत्रमा युद्ध हुनअघि आकाशमा अस्वाभाविक घटनाहरू देखा परेको थियो रे । उल्का वर्षा, जनावरहरूको अस्वाभाविक बानी, बटुकहरु रोइरहनु, गिद्ध र स्याल आदिले अशुभ आवाज निकाल्नु यी सबै युद्धका संकेतहरु थिए । सीताको अपहरण हुनुअघि जनावरहरूको अस्वाभाविक क्रियाकलाप र आकाशमा ग्रहण र नक्षत्र असामान्य भएको संकेत गरिएको थियो रे । तथागत गौतम बुद्धले अनिष्ट आउनुअघि पञ्चसंकेत र पूर्णलक्षणको कुरा नगरेको होइन । त्यसैले कुनै न कुनै रूप संकेत दिने गरिन्छ । यो त विश्वास र गहिरो सम्बन्धको कुरो हो ।
मान्छेको दिल फुत्न कति समय लाग्छ र ? व्यथा, पीडा र कष्टहरु उकुसमुकुस भई नअटाएपछि यो हुनु स्वाभाविक हो । आज कान्छीले नराम्रा सपनाहरु देखेका थिए । सिन्दुर पुछेको, चुरा फुटालेको, हाँसेर बसेकी भनेको, काग आएर कराउँन थालेको, सर्पले बाटो काटेका संकेतहरु के कान्छाको जीवन समाप्त हुन लागेको त होइन ? होइन भने यस्ता संकेतहरु किन सपनामा अदृश्य मान्छे आएर भनेका होलान् । अस्वाभाविक क्रियाकलाप गरेका होलान् । कान्छीले बुझ्न सकिरहेको छैन । कान्छाले युद्धमा वीरगति प्राप्त गरेको कुरा उसलाई अहिलेसम्म चाल पाउन सकेको छैन । हे ईश्वर ! अब कसले उसलाई सम्झाउने हो ? तिम्रो स्वामी युद्धमा मरिसकेको छ भनि कसले भन्ने हो ? तिमीहरुलाई छोडेर परमात्मासँग लिन भइसकेको छ भनि कसले बुझाउँने हो ? विदेशबाट धागोले बेरेको एउटा चिठ्ठीभित्र के छ उसलाई थाहा छैन । जसरी काँचो धागोले चिठ्ठी बेरेको छ त्यस्तै कान्छाको लासलाई पनि डोरीले बाँधेर चित्तामा जलाइसक्यो । मान्छे खरानी भइसक्यो । त्यो घटनाको चिठी हो । कान्छी त्यो चिठी पढ्न जाँदिन । गाउँका मुखियालाई सुनाइदिन अनुरोध गछँे । फलाना तारिख फलाना बार कान्छाको देहान्त भएको खबरले कान्छी त्यही मुर्छा पर्छिन् । सपना र आशाहरु सबै उडेर मुटु टुक्राटुक्रा भई लडिन थाल्छिन् । तर अब कान्छीले केही देख्न सकिरहेको छैन । सबै अँध्यारो भई यो जगत्बाट ऊ पनि बिदा माग्लाजस्तो भइसकेकी थिइन् । भरोसा टुटेर सबै भत्ताभुङ्ग भएपछि अब कान्छी बाँच्नको कुनै अर्थ राख्दैनन् । कान्छाले सुख खोज्दा कान्छी दुःखको सिन्धुमा जाकिन पुग्छिन् ।
फुटेर जाला मान्छेको दिल
भन्ने ती विचार
अनिष्ट अघि जनाउ दिने
दैवको विचार ।
कूलक्षण नाना आएर मेट्न
झसङ्क झस्केकी
कान्छीले देखिन् खराव सपना
कान्छालाई क्यै भो कि ।
आएर काग कराई उड्छ
बिलौना गरे झैँ
हिँडेको बाटो सर्पले काट्छ
नजाऊ भनेझैँ
कसैले आई सपनामा भन्छ
सिन्दुर के राख्छौ ?
फुटाल चुरा नकचरी छिः
हाँसेर के बस्छौ ।
यस्तैमा यौटा आउँछ चिठी
धागोले बेरेको
गाउँको मुखिया सुनाइदिन्छ
चिठीमा लेखेको ।
फलाना तारिख फलाना बार
कान्छाको देहान्त
कान्छीका उडे सपना, आशा
टुक्रिँदै अनन्त ।
अँध्यारो भयो संसार सारा
आधार भत्कियो
दुःखको सिन्धू अथाह बीच
कान्छी गै जाकियो ।
मलाई विश्वास लाग्दैन मुखियाबा, मेरो कान्छोको देहान्त भएको छैन । तपाईले अर्काको चिठी पढेजस्तो छ । यो हुन सक्दैन मुखियाबा, मलाई अझै पत्यार लागिरहेको छैन । उ जिउँदै छ । विदेशमा धन कमाएर ल्याउने धोकोेमा लाहुरे हुँदैछ । युद्ध त भयो तर त्यहाँ कान्छा गएको छैन । हिजो मात्रै आराम छु भनेको थियो । चिन्ता लिनु पदैन भन्ने कान्छा आज कसरी देहान्त भएको चिठी आएको हो ? हे भगवान ! के साँच्चै कान्छाले वीरगति प्राप्त गरेकै हो ? होइन यो सम्भव छैन । किनकि ऊ त परिवारको निम्ति धन कमाउन गएको मान्छे हो । धन सम्पतिबिना ऊ कसरी चाँडै आफ्नो देह छोडेर लीला समाप्त गर्न सकिन्छ र ?
मलाई अचम्म लागिरहेको छ । आज के भो के भो आकाश खसेर कान्छाको मृत्यु भइसकेको छ । मैले चिठीमा कान्छाको अनुहार हेरिसकँे । कान्छाको आत्मा पढिसकेँ । अब मेरो जीवनमा केही छैन । सबै शून्य–शून्यमा भएर शून्यमा हराउन पाएजस्तो लागिरहेछ । सबै भत्ताभुङ्ग भएर नदीले कताकता बगाईसक्यो । अब डरलाग्दो हुन्छ । भरोसा नभएको मान्छे म कसरी बाँच्ने हो ? मेरो छोरोलाई कसरी बचाउने हो ? कतै जिउँदै जलेर मर्ने त होइन ? कतै हिँड्दाहिँड्दै भाँसिएर जाने त होइन ? हे दैव ! मलाई आज के हुँदैछ ? म रोएर मात्र मर्नु कि म सुतेर मात्र जाऊ ? म के गरौँ ? सारबिनाको मेरो जीवन अब यहाँ बाँच्न चाहन्न । मलाई पनि तिमीले बोलाए हुन्छ । तिमी कहाँ छौ, जहाँ भएपनि म आउनेछु । मलाई अब कुनै डर छैन । मलाई अब कुनै भर छैन । म त मसानमा जलाउन राखिएको मुद्दा हँु । आगो माग्दैछु । पानी पिउँन खोज्दैछु । म त अब धूँवा बन्न चाहन्छु । खरानी भएर गंगाजलमा बग्न चाहन्छु । त्यसैले हे मेरा प्यारा म पनि आउँदैछु । तिमी पर्खेर बस् । यो निठूरी जीवनलाई छोडेर तिमी किन एक्लै गयौ ? के तिमीले मलाई गरेको माया र पिरती सबै स्वाङमात्र हो कि ? के तिमीले मलाई दिएको आश्वासन मात्रै हो कि ? होइन भने मेरो कुरो तिमीले पनि सुन्नैपर्छ । तिमी एक्लै जान पाउँदैनौ । एउटै प्राण भएपछि तिमीले मलाई नलगी सुखै छैन । अब मलाई बाँच्नु छैन । मेरो प्राण तिमीले लगेपछि अब म प्राणबिनाको मान्छे हुनै सक्दिनँ । प्राणले शरीरलाई छोडेपछि के मान्छे–मान्छे बन्न सक्छ र ? के त्यस्तो मान्छेलाई मान्छे भन्न मिल्छ र ? त्यसैले म, म होइन । म त तिमी हौ । तिमी यो भवसागरमा छैनौ भने ममात्र यहाँ हुन सक्छु र ? मेरो निम्ति विदेशमा गएको कान्छो फर्केर आउँदैन भने ममात्र के गरेर बस्न सक्छु र ? त्यसैले यो जीवन मेरो होइन, तिम्रो हो । तिमी छैनौ भने म कहाँ बाँच्न सक्छु र ? आफ्नो शरीरलाई लिएर जानू । मेरो शरीर त तिमी बनेर मरिसकँे । अब तिम्रो शरीर चित्तामा जलाउन आउँनू ।
छाडेर डाँको रुन्छिन्न् कान्छी
हा दैव, हा दैव,
बाँचेर मैले के सार अब
हा दैव, हा दैव ।
हे मेरी प्यारा म पनि आएँ
पर्खन, पर्खन
निष्ठुरी न हौ आउन लिन
मेरो यो जीवन ।
मलाई छाडी कसरी गयौ
तिमी म हैन कि
म¥र्यो रे तिमी म मरिनँ किन
म नै म हैन कि ।
मेरो नै निम्ति गएको तिमी
बिरानो देशमा
मेरो नै निम्ति फर्केनौ किन
प्यारो यो देशमा ।
तिम्रो नै निम्ति साँचेको मैले
मेरो यो जीवन
तिमीले छाडे किन म राखूँ
लिन त आऊ न ।
ए कान्छा ! हाम्रो माया र पिरतीका कुराहरु कसरी बिर्सन सक्छु र ? अघिका सबै खरानी पारी म कसरी बाँच्न सक्छु र ? त्यसैले यो ढुकढुकी किन चल्दैछ ? किन रोक्दैन ? यो थोत्रो जीवनमा अब मसित के नै बाँकी छ र ? हे हावापानी, हे उच्च सागर तिमीहरुले मलाई अब छोपे हुन्छ । मेरो काँढालाई निकाली मलाई गन्तव्यतिर लगे हुन्छ । हो, छोरो सानो छ । त्यो सानो छोरोले आफ्नो अस्तित्व बचाउनुको निम्ति रुन खोज्छ । आमाको दूध खान खोज्छ । एउटा आमा न हो, उसले आफ्नो अबोध शिशुमा लागि दूध पिलाउँदै जीवन प्रणालीलाई हेर्न खोज्छ । चेतनाले अर्को रूप लिन खोज्छ । म मरे पनि छोरोको भविष्य के हुन्छ भने आँखा ओछ्याउन खोज्छ । आखिर आमाको माया न हो । आमाको हिक्का न हो । त्यो बालक छोरोलाई के थाहा आमाभित्र पसेर जीवन खोजिरहेछ । मार या पाल त्यो त आमाको कुरो हो । बाबा कहाँ छ त्यो त भोलिको कुरो हो । यो शोकको सिन्धुमा आमा डुबिरहेको बेला, आमाको सिन्दुर पानीले पखालिरहेको बेला, हातको चुरा ढुङ्गाले फुटालिरहेको बेला, सेताम्य भई आमाको वस्त्र सेतो लागेको बेला छोरालाई के थाहा ? ऊ त खान नपाएपछि रुने न हो । एकछिन आमाको काखमा खेली सुत्ने न हो । यो मायाको बल्सीले अब कान्छीलाई कहाँ लग्ने हो ? यो भवसागरमा मान्छे त आउँछ जान्छ तर कान्छा त्यसरी नै गयो जसरी बेगले हावा चल्यो । बत्ती निभेर अब बत्ती बाल्न पनि आगोको झिल्को नपाउने भो ।
रोएको छोरो मेटाई दूध
मुखमा ताक्दछ
कान्छीको अर्कौ अस्तित्व आई
जीवन माग्दछ ।
शिशुले चुस्यो आमाको
दूध हृदय पगाली
चेतना छ यो आमाको भित्र
जीवन प्रणाली
आमा नै आमा बिचरोलाई
के छ र सहारा
आमाको आँसु आमाको हिक्का
उसलाई के थाहा ।
आमाकै भित्र ऊ पस्न खोज्छ
एउटै ठेगान
मार या पाल उसलाई के छ
बालक अञ्जान ।
शोकको सिन्धु अथाह बीच
बहेकी नअल्झी
कान्छीको माथि परेको आज
बलियो यो बल्सी ।
कान्छा ! हामी जन्मिएपछि एक दिन मर्नु छ । कान्छाले आज वीरगति प्राप्त ग¥र्याे । यसैमा हामीले गर्व गर्नुपर्छ । ऊ लाउरे हो । तर नेपालको सान हो । विदेशमा गएर नेपालको इतिहास कोरेपछि त्यसलाई हामीले चानचुने कुरा ठान्नु हुँदैन । ऊ नेपालको वीर गोखाली हो । त्यसैले कान्छी यो दुःखको सागर अपार छ । जताततै पुग्न सक्छ । जीवन ढुंगालाई पल्टाउँन सक्छ । अब हामीले तिम्रो निर्बोध काखकोे बच्चाको मुख हेरेर बाँच्नुपर्छ । उसलाई हर्दम माया ममता दिनुपर्छ । समय समयमा दूध खुवाएर त्यो कलिलो बच्चालाई हर्ताकर्ता बनाउनुपर्छ । भविष्य उज्यालो पार्न तिमीले बाटो देखाइदिनु पर्छ । कान्छोको नासोलाई कान्छीले हुर्काइदिनु पर्छ । कान्छा ! यो संसारबाट बिदा लिएर गइसकेको छ । ऊ यहाँ बस्दैन । ऊ त परलोकमा बस्छ । तर मान्छे परलोकमा जान सकिँदैन । त्यहाँ त जूनी फेरेर जानूपर्छ । यो देहलाई छोडेर आत्मामात्र पुग्नुपर्छ । हो आमा ! अब कान्छा यहाँ छैन । तिमीले नदीनालालाई भनिदिए हुन्छ । वनपाखालाई सुनाईदिए हुन्छ । त्यो ठिटो आजकाल यहाँ बस्दैन । आजकल यहाँ सुत्दैन । ऊ त माटो भइसकेको छ । धूँवा बनेर आकाशमा गइसकेको छ । आगो बनेर आगोसँगै निभिसकेको छ । त्यसैले हे नेपाल आमा ! तिम्रो काखमा खेलेर तिम्रो काखमा निदाईसकेको छ । यो तिम्रो सन्तापमा अब ऊ बोल्न सक्दैन । अब ऊ हिँड्न सक्दैन । हिजो तिमीले जे दियो त्यही खाएर हुर्केकै हो । त्यही लाएर बसेकै हो । कान्छो गरिव थियो, धन कमाउन विदेश गएको हो । आफ्नो ज्यानलाई बाजी लगाएर लाहुरेको नोकर गरेकै हो । त्यसैले हे नेपाल आमा ! अब तिमी चुप लागेर बस्नु हुँदैन । तिमीले विद्रोह गर्नुपर्छ । क्रान्तिको आगो बाल्नुपर्छ । आफ्नै सन्तानलाई गरिबको नाउमा पैसाको निम्ति ज्यान बेच्ने काम रोक्नुपर्छ । यो हुन सक्दैन । आँसुको मूल्यलाई पैसाले जोख्न पाइँदैन । अब यो सरकार ढाल्नुपर्छ । जनताको शासन चलाउनुपर्छ । जनताले जे भने त्यही गर्ने सरकार आउनुपर्छ । होइन भने यहाँ ठूलो क्रान्ति गरेर सबै ठालूहरुलाई एकएक हातखुट्टा बाँघी जेलमा कोच्नुपर्छ ।
हामी भेडा होइनौ, मान्छे हौ । आफ्नो दाजुभाइलाई बेचेर इतिहास रचेको मीठो लाग्दैन । यो शोभा होइन । यो त मान्छे बेच्ने ठाउँ हो । रगत दिएर नेपाल आमा रुवाउने जागिर हो । त्यसैले यो जाललाई जसरी भएपनि रोक्नुपर्छ । भत्ताभुङ्घ पारी सम्झौताहरू सबै च्यातचुत पार्नुपर्छ । तब पो नेपाल आमाको मुहार हाँस्न सक्छ । तब पो नेपाल आमाको आँसु पुच्छ्न सकिन्छ । हामी वीर हौँ । तर युद्धको निम्ति पालेको जन्तु होइन । पैसाको निम्ति मर्ने नेपाली होइन । अब यो कलंकलाई सदाका लागि मेट्नुपर्छ । विदेशमा रहने नेपाली ठिटाहरुलाई आफ्नै देशमा फर्काउनुपर्छ । देशको निम्ति लागेको यो कालो घव्बालाई पुछेर हामी नेपाली पैसामा बिक्ने मान्छे होइनौं भनी देखाइदिनु पर्छ । त्यसैले यो युद्धमा होम्ने कूचाललाई नरोकी हुँदै भएन ।
नेपाल आमा, नेपाल आमा
यो तिम्रो सन्ताप
नटेरी हिँड्न नबोली हिँड्न
जस्तो हो के पाप ।
तिम्रौ नै खायौ तिम्रौ नै लायौ
जीवन बढायौ
परन्तु आज भेडाको मोल
दाजुभाई बिकायौ
आमालाई रुवायौ ।
जन्मेको हामी के भयो सार
यो चाल भएन
आमाको आँसु नपुछी ज्युूुन
धर्मले दिएन ।
युद्धका निम्ति पालेका जन्तु
नेपाली जवान
भएको आज कलंक लाज
नमेटी भएन ।
विदेश लगी नेपाली ठिटा
फकाई फुल्याई
युद्धमा होम्ने कूचाललाई
नरोकी भएन ।
नेपाली हामी स्वतन्त्र भनी
बाँचेको मिलेन
देशको बीच त्यो कालो धब्बा
नपुछी भएन ।
यो कुरो सत्य हो, बगेको पानी र गएको जोवन कहिल्यै फर्किँदैन । लागेको गाहक र बैसको यो नाहक त्यसैत्यसै खेर फाल्नु हुँदैन । यो कुरो गाउँलेहरुले पनि नसुनेको होइन । तैपनि कान्छीको मन बिस्तारै पग्लेर गइरहेको छ । थोपाथोपामा झरेर अब रित्तो हुन मात्रै बाँकी छ । खै कसरी सम्झाउँ । कान्छी त पागल मात्र हुन बाँकी छ । सम्झनाका ती मीठा कुराहरु आजसम्म पनि हावाले सुकाउँन सकेको छैन । कान्छासँगको भातभान्छा अहिलेसम्म पखाल्न सकेको छैन । त्यसैले ती अतीतका यादहरुले सघै कान्छीलाई घोचेर होला, आज ऊ त्यति सारो बाल्दैन । आँखाले मात्रै हेर्छ । मनले गुनगुनाएर टाउको मात्र हल्लाउने गर्छु ।
कान्छी सुन्दरी छे । बैसले जिऊदाल चिटिक्क मिलेकी छे । स्वर्गको अप्सराजस्तो एकचोटी हेरिसकेपछि सधैं हेरुहेरु लाग्ने उनको रुप छ । कान्छीको दिनचर्या गाह्रो छ । ओरालो लागेको मृगलाई बाछोले पनि लखटेजस्तै आज त्यस्तै भैरहेको छ । गरिब छ तर इमान्दार छ । दया छ तर ईश्या छैन । त्यस्तो कान्छीलाई आज बैश जोगाउन गाह्रो भैरहेको छ । हजारौं गिद्ध आँखाहरुले कान्छीलाई ताकिताकी ठँुङ्गिन लाखौं प्रयासहरु गरिँदैछन् । एकान्त पारी मनभ्राती हुने कुरा सिकाउँदैछन् । सफा निर्मल पानीलाई धमिलो पार्न धेरैले यत्न गर्दैछन् । हे दैव ! कान्छी कति दिन जोगिने हो ? एक्लो जीवनमा कोही कसैले कसरी बिगार्ने हो ? साइनो गाँसेर कति मान्छे नजिक आउने हो ? काम सघाएजस्तै गरी आफ्नो स्वार्थ कतिले पूरा गर्ने हो ? थाहा छैन, हे ईश्वर ! कान्छीलाई अलिकता शक्ति देऊ । उसको मन अलिकति दरो पारिदेऊ । ताकि उसको शरीर लुट्न खोज्नेहरूलाई सबैको अगाडि नाङ्गो पर्न सकूँन् । हे दैव ! यो कस्तो बाध्यता हो ? जहाँ कान्छीले संघर्ष गरी बाँच्नुपर्ने ? हिजो त त्यस्तो थिएन । कान्छाको अगाडि सबै राम्रा र भलादमी थिए । तर आज कान्छो छैन । कान्छाको नाउँमा कान्छीको बैसो लुट्नेहरू धेरै भए । मौका पर्खिरहेको होला । समय खोजिरहेको होला । कुन दिन के हुने हो समाजको अगाडि कान्छी फलानासँग लसमस भयो भनि झुठा कुरा कसले गर्ने हुन् । डर लाग्छ नराम्रो कुरा गर्ने हो कि । एउटा पतिव्रत नारीलाई सबैतिर जोगेर बस्न गाह्रो छ ।
कान्छा बितेको सोह« वर्ष बितिसके । तर कान्छीको मनमा अहिले पनि गहिरो चोट छ । खतमाथि खत छ । यो संसारमा कहिले निको नहुने घाऊ कालले मात्रै निको गर्न सक्नेछ । त्यसैले कान्छी काल कुरेर छोरोलाई लालनपोषण गर्दैछ । छोरोको आड्भरोसामा पाइलाहरु अगाडि सार्दैछ । छोरोले अलिअलि कुरो बुझिसकेको छ । तर यो संसारमा अझ धेरै कुरा बुझ्न बाँकी छ । हेर्दै जाउँ, दैवले कहाँसम्म पु¥र्याउने हो । कता लगेर छोड्ने हो ।
गरिबी बीच मायालु बैंस
जोगिन मुस्किल छ
हजार गिद्ध आँखाले ताकी
ठुँगेर बिगार्छ ।
कान्छीको रुप ताकेर धेरै
मोहक जुट्दै छ
एकान्त पारी ऊसित बोल्न
धेरैको यत्न छ
उसको रूप उसको हिसी
तैपनि शुद्ध छ ।
कालले निको नपार्ने घाउ
संसारमा क्यै छैन
सोहौटा वर्ष बितेर गयो
कान्छीको पोइ छैन ।
घाउ आलै छ । दुःख, व्यथा पीडा सहेर पनि कान्छीले अब सोह« वर्ष बिताइसकेको छ । छोरोको मुख हेरी हरपल उदास र निराशलाई पन्छाएर आफ्नै गन्तव्यतिर हिँडिरहेको थियो । बाटो लामो छ तर लोभी पापीहरुबाट जोगिँदै कान्छी आजसम्म गुजारा चलाउदैछन् । त्यसैले हे ईश्वर ! मैले कसै प्रति नराम्रो भावना राखेको छैन । ईष्र्या त परको कुरो भो कसैलाई नमिठो वचन अहिलेसम्म लगाएको छैन । कान्छाको सत्मा बसेर आफूले सक्दो माया र पिरती छोरालाई खन्याउँदैछन् । जीवनको यात्रामा कति अघिका पछाडि परे, कति पछाडिका अघि आए । यो नै संसारको नियम हो । नदेखेको देख्न थाल्यो, देखिएको अदृश्य हुन थाल्यो । यो नै समयचक्र हो । त्यसैले यो अनित्य संसारमा जन्म हुन्छ, मृत्यु हुन्छ, दुःख हुन्छ ,सुख हुन्छ ,पाप हुन्छ, पुण्य हुन्छ, निर्माण हुन्छ, विनाश हुन्छ यो नैे भवसागर हो । जहाँ दिनमात्र होइन, रात पनि हुन्छ । सूर्यमात्र होइन, चन्द्रमा पनि हुन्छ । उज्यालोमात्र होइन, अँध्यारो पनि हुन्छ । यहाँ के हुँदैन, सबथोक हुन्छ ।
सोह« वर्षे लक्क जवानमा पहाड पनि फोरुफोरु लाग्न थाल्छ । जे कुरा गर्दा नि हाँसो हाँसो लाग्न थाल्छ । यो सब भर्खरै जुँगाको रेखीको कारण हो । कान्छी खुसी छिन् । एक्लो जीवनमा छोराको ढाडस पाएकोमा मन सम्हाल्दैछन् । मेलामा जाँन्थिन् । भरोसा पाउँथिन् । अग्लो र राम्रो भएर कान्छाको निचोरजस्तै छन् । छोरो आमाले धेरै माया गर्छन् । गाह्रोसाह्रोमा छोरो आफैले काम गर्छन् । नङ र मासुजस्तै आमा र छोरोको सम्बन्ध छ । आमाको मायाले लामो धागो काटेर घरबार बुन्दैछन् । छोरो आमालाई औधी माया गर्छन् । आमालाई केही होला भनी धेरै पीर गर्छन् । आमालाई ईश्वर सम्झेर दिनरात सेवा गर्छन् । किनकि आमाको दुःख छोरोले देखेको थियो । ऊ सानैमा उसैले राम्रो बोल्न नसके पनि बुझिसकेको थियो । मेरी आमालाई बावाको पीडा छ । एक्लो मान्छेले छोरालाई कसरी पाल्ने ठुलो पीर छ । अब म आमालाई त्यो पीडाबाट निकाल्न चाहन्छु ।
छोरो, अब तिमीले घर व्यवहार सम्हाल्नुपर्छ । एउटी राम्री घरव्यवहार गरी खाने चिटिक्क परेकी दुलही भित्राउँनुपर्छ । जसले तिमीलाई भरोसा दिन सकोस् । जसले तिमीलाई जीवन यात्रामा सुख दिन सकोस् । त्यस्तो दुलहीको खोजीमा छु । तिमी नाई नभन्नु छोरो, तिम्रो सहमति बेगर म केही गर्दिन । तिमीले राम्रोसँग हेर, मनमनै गुनेर सोच । मेरो लागि उचित छ, छैन तिमी आफै भन । म त सन्ध्याकालीन घाम हँु । मेरो केही भर छैन । मेरो धेरै अब समय छैन । त्यसैले छोरो यो घरबारी सबै तिम्रै हो । सबै कुरा तिमीलाई पुगिसकेँ । अब तिमीले जीवन साथीलाई रोजेर तिमी हिँडेको देख्न चाहन्छु । सुखको सास फेरि कान्छाको छोरोले अब घरजम गरिसके भनी तिम्रो बाबासँग सपनामा कुरा गर्नेछु ।
बुर्लुक्क उफ्री पहाड फोरी
हिँड्छ कि भने झै
जुँघाको रेखी भर्खर निस्की
जगतै बाँध्लाझैँ
छोराको यस्तो हेरेर मुख
ढाढस बाँच्दथिन्
मेलामा जान्छिन्। गुठ्यान गर्थिन्
भरोसा पाउँथिन् ।
आमाको माया पाएको छोरो
अब भो किशोर
अग्लो र राम्रो कम्पुमा बिक्ने
कान्छाकै निचोर
आमा र छोरो नङ र मासु
भएर बस्दथे
पिरतीको लामो काटेर धागो
घरबार बुन्दथे
भर्खरकी राम्री परेकी चट्ट
दुलही भित्र्याई
सुखले बस्ने छोराको आशा
बढ्दै छ अचाक्ली ।
एक दिनको कुरो हो । आमा र छोरो संवाद गरिरहेको थियो । यता न उता धेरैले कुरा सुनिरहेको थियो । आमाले आफ्नो हृदयको व्यथा फुकालेर छोरालाई भन्न खोज्छ, छोरो यो जीवन बाँच्न धेरै कठिन छ । जताजता गयो त्यति काँडाहरू पलाउन सक्छ । हामीले जे देख्यौ त्यो नहुन पनि सक्छ । हामीले जे भेट्यौ त्यो हराउन पनि सक्छ । त्यसैले छोरो यो जीवनमा हामीले जताततै आँखा ओछ्याएर हिँड्नुपर्छ । मान्छेहरू मान्छे भएर पनि कुनैबेला राक्षस हुने हो थाहा नहुन पनि सक्छ । यो त समय र परिस्थितिसँग हामी पनि घुलमिल भएपछि मात्रै थाहा हुन्छ । छोरो हामीले मान्छेलाई चिन्नुपर्छ । मान्छे चिन्न धेरै गाह्रो छ । स्वरुप मान्छे भएर पनि भित्री हृदयमा दानव भएपछि हामीलाई पनि दुःख दिनेछ । हाम्रो दुखमा उनीहरु रमाउने छ । हाम्रो छटपटीमा उनीहरु खुसी हुनेछ । छोरो मनको कुरो कसैलाई पनि तुरुन्तै नभन्नु । आफ्नो घरव्यवहारको कुरा सकेसम्म गोप्य राख्नु । माया त मनले गर्ने हो तर सबैलाई देखाउने गरी माया पनि नगर्नु । मान्छे जलन हुन सक्छ । तिमीले लाएको खाएको देखेर मान्छेले ईश्र्या गर्न सक्छ । त्यसैले छोरा मान्छेलाई देखाउने कुनै काम नगर्नु । आमा ! मेरो बाबा कहाँ छ ? कहाँ जानु भएको हो ? हामी कहाँ किन नआएको हो ? मैले बाबाको अनुहार देखेको छैन ? खै अहिलेसम्म मेरो बाबा आउनुभएको छैन ? हामीलाई तार र चिठी किन नपठाएको हो ? कतै बाबासँग तपाईंको मनमुताप छ कि ? कतै बाबाले तपाईँलाई दुःख दिई अन्तै बस्न गएको पो हो कि ? किन फर्केन नआउनु भएको हो ? हामीले केही गरेका छैनौं ? अलिकता भएपनि हामीलाई किन माया नलागेको होला ? भन्नुस् त आमा बाबाले छोडेर जानु भएको यथार्थ कुरो के हो ? म जसरी भएपनि बाबालाई खोजेर ल्याउनेछु ? मेरो बाबा जहाँ छ त्यही गएर भेटेर आउनेछु । आमाको मन ऐनाझै चकनाचुर भइसकेको थियो । छोरोको कुरो सुनेर अब अतीतका कुराहरु बोल्न बाध्य पारिसक्यो । छोरा बाबा त बिरानो देशमा दुःखसुख गरी लाहुरी जीवन बिताइरहेको थियो । किनकि हामी गरिब छौ । दिनभरि काम गरे पनि एक छाक खान गाह्रो थियो । जोरीपारीको समाजमा व्यवहार चलाउँदा अलिकता ऋण थियो । त्यो ऋण तिर्न र हाम्रो सानो छाप्रो बनाउन हामीसँग पैसा थिएन । त्यसैले छोरा ! बाबा विदेशमा धन कमाउने उद्देश्यले लाहुरे भएको हो । तर के गर्नु बाबाको भाग्य युद्धमा मर्नु थियो । बाबा बित्नुभयो । तिमी सानो दुधे बालकलाई च्यापेर म एक्लै नाङ्गो खुट्टामा कति हिँड्यो । भोको पेटमा कति दिन बितायौ । त्यो त कसरी लेखाजोखा गर्न सक्छु र ? व्यथा र पीडाले छातीमा पोलेपछि जिन्दगी रुन बाहेक अरु के गर्न सकिन्छ र ? त्यसैले छोरो ! तिमीले लडाई गरेर दुश्मनलाई मार्ने कुरा नगर । तिम्रो बाबालाई मार्ने मान्छेलाई मार्छु नभन । किनकि ईष्र्या र प्रतिशोध आफै नराम्रो काम हो । यसलाई मनमा राखिराख्नु हुँदैन । यसले राम्रो भन्दा नराम्रो काम धेरै गर्छ । थाहा छ, म तिम्रो आमा हुँ । मलाई तिम्रो मनको कुरा सबै थाहा छ । तिमीलाई बाबाको मायाले पोलिरहेछ । बाबाबिना बाँच्नुपरेको व्यथा तिम्रो मनभित्र गडेर बसिरहेछ । छोरा ! तिमी अरु चिन्ता नलिनु । बाबाको नाम राख्न तिमीले आफ्नो भविष्य कोर्नुपर्छ । हत्या र हिंसा त राक्षसले गर्छ । तिमी त मानव हौ । मानव भएर दानवको सोच राख्नु हुँदैन । तिमीले हाम्रो गाउँको मात्र होइन नेपालको इज्जत राख्नुपर्छ ।
छोरा ःए मेरी आमा भन्नुस् न बिन्ती
मेरो बा कहाँ छ ?
म ठुलो भएँ खोजेर ल्याउँछु
मेरो बा जहाँ छ ।
आमाः हे मेरो छोरा, बिरानु देश
ऊ गएको गयै भो
लडाइँ गर्दै ऊ म¥यो त्यतै
जिन्दगी यस्तै भो ।
छोराः लडाइँ गर्न म पनि जान्छु
दुश्मन मार्दछु
मारेको जल्ले मेरो बालाई
उसलाई मार्दछु ।
छोरो हामीले अरुलाई कहिले पनि अन्याय गर्नु हुँदैन । अन्याय गर्नु भनेको ईश्वरको आज्ञा तोड्नु हो । त्यसैले हामीले कसैप्रति अन्याय गर्नु राक्षसको चाल हो । रगत खाने मान्छेहरुको विचार हो । विनाश चाहने मान्छेहरूको हतियार हो । त्यसैले मान्छेले मान्छेलाई सत्कार गर्नुपर्छ । एकले अर्कालाई आदर गर्नुपर्छ । हामीमा युद्ध होइन, युद्धको सधैं विरोध गर्नुपर्छ । हतियार बेचेर धनी हुने देशहरुलाई चिन्नुपर्छ । विनाश पार्ने हतियार थुपारेर राख्ने देशलाई धिक्कानु पर्छ । त्यसैले यो त मनुष्य जीवनलाई दुःख दिने खेल हो । आफू मात्रै रजाई गरी अरुलाई कुल्चिने चाल हो । सुन्दैमा उदेग लाग्दो, यो कस्तो अचाक्ली हो ? सृष्टिनै सबै विध्वंस पार्ने यो कस्तो रणनीति हो ? कति मान्छे मर्ने होला, कति मान्छे घाइते हुने होला, कति मान्छे टुहुरो हुने होला, कति मान्छे विधवा हुने होला । यो त वीरतापूर्ण काम भएन । यो त नरसंहार हो । यो त आतातायी हो ।
आमाः अन्यायमाथि विरोध गर्नु
ईश्वर आज्ञा हो
अन्यायमाथि अन्याय गर्नु
राक्षसको चाला हो ।
देशको देशै विनाश पार्ने
हतियार अनेक
राखेर बस्ने देश नै छन् रे
यो कस्तो उदेक ।
सुनेर यस्तो छियामा छिया
पर्दछ यो छाती
सृष्टि नै सब विध्वंस पार्ने
यो कस्तो अचाक्ली ।
म जस्तै अरु विधुवा पारी
टुहुरा तिमीझैँ
संसारलाई पार्दिनु मैलो
वीरता हैन क्यै ।
तिम्रो बा हाम्रो दुःख र पीडालाई कम गर्न विदेश गएको हो । ऊ खुसीले गरेको होइन । उसको मनमा धेरै व्यथा भनेर होला, ती व्यथाहरु मलाई पनि नभनी गएको हो । मान्छेले जेसुकै भनुन्, तिम्रो बाको मन सफा छ । दीन दुःखीहरुलाई सेवा गर्ने बानी छ । आफू थोरै खाएर भएपनि भोक लागेकाहरुलाई बाँधेर दिने मन छ । त्यसैले होला बाको विषयमा नानाथरी कुराहरु खेलाउनु आवश्यक छैन । तिम्रो बा त हाम्रोलाई ईश्वर हो । ईश्वरले कहिल्यै पनि नराम्रो गर्दैन । सबैको भलो चिताएर जयको कामना गर्नेछ । त्यसैले तिम्रो बाजस्तो मान्छे पाउँन गाह्रो छ । हामी गरिब छौ । गरिबीलाई हटाउन तिम्रो बा विदेश गएको हो । जसले जेसुकै भनुन्, पेटको ज्वालाले मान्छेलाई कहाँकहाँ पु¥र्याउने हो । थाहा छैन, त्यसैले हाम्रो भविष्यको निम्ति तिम्रो बाले यो काम गरेको हो । हामीलाई उज्यालो दिन्छु भनी गएको मान्छे आफै अँध्यारोमा परी मरेको हो । पानी पर्दा तपतप चुहिएको यो हाम्रो छाप्रो नयाँ बनाउन पैसा कमाउन गएको तिम्रो बा फेरि आउन नसकेको हो । छोरो ! बाको विषयमा नराम्रो कहिले नसोच्नु, हामीलाई पाप लाग्छ । ईश्वरले अब तिमी मेरो सहारा बनाइदियो । हिजो त के थियो र ? सबै भत्किसकेको थियो । टुक्राटुक्रा भएर चकनाचुर भइसकेको थियो । तर तिम्रो मायाले आज यस्तो अवस्थामा पुगेको हो । भोलि तिम्रो दुलही आएपछि अझ हामी कहाँ पुग्ने हो ? सुखको त्यो घडी कसरी हेर्ने हो ?
ए मेरो बाबु ! हुने र खाने भए यो संसार साँचै स्वर्गजस्तो हुनेछ । मेल र जोल आपसी बढ्दा आनन्दले हाँस्नेछ । गीत र नाच उम्लिएर आएपछि दुर्दिन सबै भाग्नेछन् । दुःखको हीन भएपछि सुखले सबै ठाउँमा भरिपूर्ण भएर संसार सुखमय् बन्नेछ । त्यसैले हाम्रो मनमा सबैको जय होस् भनी कामना मात्र राख्नुपर्छ । ईश्वरले सुदृष्टि खोलेर हामीलाई वरदान दिने छ । हामी मात्र होइन हामीजस्ता लाखौंलाख मान्छेहरु धन्य भएर बाँच्नेछ ।
आमाः विदेश जान करै है लाग्यो
खुसीले गएन
गरिब हुँदा विदेश गयो
पेटले मानेन ।
तिम्रो र मेरो उज्यालो मुख
पारुँला भनेर
बटुल्न धन विदेश गई
आएन फिरेर ।
यौटाको भोक अर्काेमा पुगी
अन्याय थप्दछ
अन्याय यस्तै बढेर धेरै
लडाइँ चल्दछ ।
ए मेरो बाबु ! हुने र खाने
भए त संसार
हुने हो साँच्चै स्वर्ग नै जस्तो
शान्तिको भण्डार ।
मेल र जोल आपस बढी
आनन्द हाँस्नेछ
गीत र नाच उम्लेर आई
दुर्दिन माझ्नेछ
दुःखले हीन सुखले पूर्ण
संसार हुनेछ ।
आमा ! हामी गरिब छौं । त्यसैले मलाई केही गर्न देऊ । मलाई केही सिक्न देऊ । ताकि हाम्रो गरिबमात्र होइन हामी जस्ता अरुलाई पनि म सेवा गरेर गरिबबाट मुक्त गर्न सकूँ । छोरो यो तिम्रो महान् विचार हो । तिमीमा यस्तै विचारहरु सधैं पलाइरहँुन् । हाम्रो गरिबी हामीले ल्याएको गरिबी होइन । यो त हाम्रो देशको अवस्था गतिलो र फुर्तिलो नभएको भएको हो । जताततै स्वाथैस्वार्थले आफू मात्र खाने विचारले भएको हो । त्यसैले देश गरिब भएपछि हामी पनि गरिब हुनु स्वाभाविक हो । एकमुठी मान्छे धनी होला । त्यो धन कति स्वच्छ छ, कति कालो छ । त्यो त पछि राज्यले हेर्नेछ ।
यो धरती हामी सबैको साझा हो । हामी सबैको हक लाग्ने हो । यो आकाश त हामी सबैको आफ्नो हो । त्यसैले हामी सबै मिलीजुली बस्यो भने यो सब हाम्रो हुनेछ । होइन भने एकआपसमा विवाद भई कचिङ्गल मात्र हुनेछ । विकासको नाउमा विनाश मात्र हुनेछ । मान्छेको नाउँमा दानवमात्र हुनेछ । लडाइँ झगडा गर्ने पापी मान्छेहरूको मात्र बस्ती हुनेछ । हामीलाई युद्ध मन पर्दैन । हामीलाई त यो संसारबाट युद्धलाई धपाउनु छ । मान्छेको नरसंहार गर्ने कलाकौशलको रणनीति भत्काउनु छ । तब मात्र मान्छे सुख र शान्तिले बाँच्न सकिन्छ । मान्छे भएर मान्छेजस्तो हुनेछ । सबै ठाउँमा उज्यालो भएर अँध्याराहरू सबै भाग्ने छन् । मनका कूचालहरू सबै सत्कर्मले बनाउनेछन् । त्यसैले हामी बुद्धभूमिमा जन्मेका शान्तिका प्रतीक हौ । हिंसा हाम्रो भागमा पर्दैन । हामीलाई शान्तिमात्र भए पुग्छ । शान्तिभित्र चेतना छ, अङ्कुर छ, मैत्री छ, त्याग छ, सेवा छ, करुणा छ । सबै कुराहरु अटिएको यो शान्तिभित्र समग्र मान्छे छ ।
आमाः गरिब किन भएको भन्ने
जवाफ देऊ के
व्यवस्था हाम्रो यस्तै छ बाबु
गरिबै नउठ्ने ।
साझा छ धर्र्ती साझा छ पानी
साझा छ आकाश
मिली र जुली बसेमा के छ
विकासै विकास ।
अरुको भाग अरुको घाँस खाँचो
दबाई सडाई
मान्छेले यहाँ ल्याएको हुन्छ
यो पापी लडाइँ ।
साँच्चै नै वीर त्यो नै हो बाबु
जसले लडाइँ
सधैँको निम्ति संसारबाट
गर्दछ बिदाइ ।
कान्छा ! घरगृहस्थी राम्रो पार्न गएको लाहुरे हो । ऊ लडाईको मैदानमा बैरीसँग लड्दालड्दै वीरगति प्राप्त भएको थियो । मन सिरिङ्ग भएपनि आफ्नो दायित्व राम्रैसँग निभाएको थियो । उसैले कहिल्यै पनि पछाडि फर्केर हेरेन । घरपरिवारलाई बिर्सेर आफ्नो रगत र पसिना त लाहुरे जीवनमा बिताए बिताए तर युद्धको मैदानमा पनि एक थोपा आँत गिराएनन् । हो, युद्ध आफैमै फोहरी चाल हो । जसरी भएपनि आफू मात्रै जित्नुपर्ने यो युद्धमा सर्वसाधारण जनतालाई कति गहिरो चोट पर्ने हो ? दुःख र हाहाकारले कति अत्यास लाग्ने हो । युगौँयुगदेखि मान्छेको सोचका कुराहरु क्षणभरमै बिलय हुने हो । केही बाँकी हुने छैन । नैराश्य, चिन्ता, दुःख र पीडा मात्रै बाँकी हुनेछ । तसर्थ यो मान्छेको रगत होली खेल्ने कुरुक्षेत्रमा रक्सी पिएर मात्तैजस्तै सबै योद्धाहरुले मान्छेको रगत र मासु खान खोज्दैछन् । आतंककारीले भूकम्प ल्याएजस्तै हावाहुरीले विनाश पार्दैछन् । देशमा आगो लगाएर मान्छेले मान्छेलाई मार्दैछन् । जिउँदो मान्छेलाई आगोमा पोलेर सेकुवा खाँदैछन् । यो कस्तो नरसंहार हो ? यो कस्तो पापी लडाई हो ? यो कस्तो प्रतिशोध हो ? यो कस्तो बैमनश्य हो ? बाघले मान्छेलाई लुछीचुली खाएजस्तो, बाघको आँखा टल्केजस्तो योे युद्ध भूमिमा सबै कुराहरु जायज छ । मान्छेले मान्छेलाई जे पनि गर्न छुट छ । होइन, यो त महाअपराध हो । नरसंहार गर्नु भनेको घनघोर पाप हो । यसलाई रोक्नुपर्छ, यसलाई छेक्नुपर्छ । नत्र यो सुन्दर संसार चाडै विनाश भएर जानेछ । भाँसिएर टेक्ने नसक्ने हुनेछ । हरिया वनपाखा तथा उब्जनीहरु एकै छिनमा खरानी बनेर युगौँयुगसम्म बाँझो हुनेछ । त्यसैले हामीले यसलाई रोक्नै पर्छ । जो जहाँ जसरी भएपनि यसलाई त प्रतिकार गर्नै पर्छ ।
मान्छेको रक्त, पिएर रक्सी
लडाइँ मातिन्छ
मान्छेको हाड खाएर खाना
लडाइँ गर्जिन्छ ।
लडाइँ नामै आतंककारी
भूकम्प मच्दछ
फिक्रीको आँघी चिन्ताको
हुरी हुरिँदै पस्दछ ।
मान्छेको रगत मासु र हाड
पिएर खाएर
अनर्थ धेर लडाइँ गर्छ
मात्तिई गर्जेर ।
अर्थले सुख्खा देशको आगो
मृत्युको लगाई
जिउँदै मान्छे पोलेर खाने
यो पापी लडाइँ ।
युद्धको आँखा बाघको जस्तो
टल्कने टलल
अगाडि पर्छ जेजति सारा
भत्कन्छ घरर ।
यसले पाउ हाल्दछ जहाँ
तुरुन्त भाँसिन्छ
हरियो खेत हरियो आशा
बाँझोमै नासिन्छ ।
युद्धले जे जति गर्छ खङ्ग्रङ्ग पार्ने भएकोले चाहे अमूल्य सुननै किन नहोस् अँगारझैँ बन्न पुग्छ । सृष्टि, निकृष्ट बनेर कहिलेसम्म विषको धारा पिलाउने हो ? रोगैरोग लागेर कहिल्यैसम्म बाढी आउने हो ? यो युद्धमा गिद्द र स्याललाई लिएर गएपछि, कान र आँखा बहिरो भएपछि, बुद्धिको भाँडोमा बिर्को लागेपछि, युद्ध त हुने नै भो । त्यसैले यो युद्धमा गरिबलाई उस्काउन पाइँदैन । लुटेर फुटेर कसैको हुर्मत लिन पाउँदैन । जीवजन्तु र वनस्पतिको ज्यान लिन पाउँदैन । सृष्टिकै मुटु तमाम मास्ने अणुबम हाल्न पाइँदैन । तैपनि शक्तिको आडमा बलिया देशले निर्धा देशलाई थिचोमिचो गरिरहेकै छ । यश, आराम र धन सम्पति देखाएर लोभ्याउने काम भइरहेकै छ । विवशतामा मान्छेलाई फाइदा उठाउने काम गर्दैछ । म खान लाउन दिन्छु भनी फकाउने काम हुँदैछ । युद्धको बेला आफ्नो देशको सैन्य भन्दा भर्तीका सैनिक पठाउने चलाखी काम गर्दैछन् । आफू बाँची अरुलाई मार्ने नियतको कुरा गर्दैछन् । त्यसैले यो भर्तीमा जाने कुरा राम्रो भएन । सुख सुविधा र धेरै पैसा पाएँ भनी ज्यान दिनु उचित होइन । उनीहरु त ज्यान दिनु पैसा लिनु भन्दैछ । यो कदापि राम्रो होइन । गरिबलाई मारी झन्झन् गरिब बनाउने खेल खेल्दैछ । त्यसैले यो विश्वको शान्ति संहार गर्ने चालमा किन बलिया राष्ट्रहरु एकछत्र शासन चलाउन खोज्दैछन् ? शस्त्रअस्त्रको होडमा मान्छे भएरपनि मान्छेलाई किन पशु बनाउन खोज्दैछन् ? धिक्कार छ त्यस्तो जन्म, जसले मान्छेलाई युद्धमा धकेलेर नरसंहार गर्दैछन् । धिक्कार छ त्यस्तो देश जसले एक दिन ईश्वरले प्रलय गर्नेछन् ।
मान्छेको सोझो विवशतामा
फाइदा उठाई
म खान दिन्छु लाउन दिन्छु
भनेर फकाई ।
युद्धमा झोस्ने नराम्रो चाला
आजको चलाखी
कसरी अन्त हुने हो बाबु
यो चाल जाला कि ?
गरिब भई गरिब मारी
नथपौँ गरिबी
विश्वको शान्ति संहार गर्ने
नगरौं खराबी ।
मान्छेले त ढुङ्गालाई पनि देवता बनाउन सक्छ । दिनदिनै पूजा गरेर आफ्नो प्रार्थना सुनाउन सक्छ । हे ईश्वर ! यो संसार प्रभुकै हो । हामी त अनगिन्ती कण हौ । आउँछ, जान्छ यो क्रम संसार रहुन्जेलसम्म चलिरहन्छ । हे ईश्वर ! मान्छेको दिलमा कालो अँध्यारो होइन, राक्षसको गुण होइन, लोभ र लालच होइन, तिमीले त बगैंचा बनाइदिनुपर्छ । जहाँ रङ्गीबिरङ्गी फूलहरू फुल्न सकोस् । जहाँ हरियालीले लिपेको होस् । जहाँ हेर्दा मन लोभ्याउन सकोस् । जहाँ एकक्षण बस्दा पनि स्वर्गीय आनन्दको आभास होस् । तिमीले त त्यस्तो बनाइदिनुपर्छ । झिलमिली सहरजस्तै मनमा सबै अटाउने बनाइदिनुपर्छ । हो, हामी गरिब भएपनि मनको धनी छौँ । त्यो पहाडमाथि राम्रो चिटिक्क परेको घर हाम्रै हो । जहाँ हामी चेनसँग सुतिरहेका छौं । तहतह त्यो खेत पनि हाम्रै हो । जहाँ धानका बालाहरु हाँसिरहेका छन् । बाटो गोरेटो भएर के भो, मन फराकिलो हुनुपर्छ । बाटो चिप्लो भएर के भो, मन चिप्लो नहुनुपर्छ । हामी त दुई दिनको पाहुना न हो । अन्नपानीको शरीरमा भोलि के हुने हो ? मन आनन्द भए सबै कुराहरु ठिक भएर जानेछ । मन चोखो भए छलकपटहरू पाखा लागेर जानेछन् । आमा ! मलाई धेरै माया गर । म हाम्रै गाउँघरमा बसेर केही काम गर्न चाहन्छु । मैले जतिसक्यो त्यति काम गरेर भविष्यका लागि छोडेर जानेछु । मैले सबै कुराहरु बुझिसके आमा ! तपाईंका मनका कथाहरू पनि पढिसकेँ । बाबाको दिलको व्यथा पनि बुझिसकेँ । हिजो के भएको हो भनी आज म अतीतका कुरालाई कोट्याएर तपाईंलाई रुवाउन चाहन्न । हिजो हामी गरिब भएकोले दुःख धेरै भयो । मान्छेहरूले हँेला गर्नुसम्म गर्याे । तर के गर्नु त्यो बाहेक हामीसँग अरु केही छैन । हिजो मेरो बाबा र आमालाई कति चोट परेको थियो होला । व्यर्थैव्यथामा कति रात बिताउन गाह्रो भएको होला । आँखामा धुलो परेर कति दिन खोल्न नसकेको होला । त्यसैले लेखजोखा म अहिले गर्दिन आमा ! गरिब दन्केपछि लडाईको जगजग चल्नेछ । मात्तिएर रन्केपछि गरिबको अन्त्य हुनेछ । त्यसैले हामीलाई अब पसिनाको आवश्यकता छ । आफ्नो निम्ति आफैले गर्नुपर्ने सोचको जरुरी छ । अर्काको निम्ति रगत र पसिना नबगाई आफ्नै निम्ति बगाउनु छ । जहाँ जे चाहियो त्यही दिएर अब देशको माटोलाई सबैले माया गर्नुछ ।
छोराः ए आमा बुझेँ बल्ल यो मैले
गरिबी दन्केर
लडाइँ यहाँ जगजगी गर्छ
मात्तिई रन्केर ।
यसको अन्त गर्नको लागि
गरिबी उखेन
पहिलो काम बुझेँ यो मैले
गर्दछु प्रयत्न ।
अर्काको निम्ति रगत दियौं
सहेर संकष्ट
पसिना खाली चाहियो अब
आफ्नै नै निमित ।
भनेको अर्थ छर्लङ्ग खुल्यो
राष्ट्रको आह्वान
विश्वमा शान्ति ल्याउनको लाई
देशको निर्माण ।
लाहुरे, नेपाल र भारतको ऐतिहासिक शब्द हो । यो शब्द लाहोर (आजको पाकिस्तान) मा गएका नेपाली गोर्खा सैनिकहरूसँग जोडिएको छ । पछि यो शब्दले बेलायतमा जागिर खान गएका नेपाली सैनिकहरुसँग पनि जोडिएको थियो । नेपाल अंग्रेजी युद्ध (१८१४–१८१६ ) पछि भएको सुगौली सन्धि (१८१६) अनुसार गोर्खाली सैनिकहरुलाई ईष्ट इन्डिया कम्पनीले भर्ना गर्न थाले । यसैबाट नेपाली गोर्खा भर्तीको परम्परा थालनी भएको देखिन्छ । बेलायत, भारतबाट बाहिरिदा गोर्खा सैनिकको साहस र युद्ध कौशल देखेर ब्रिटिशहरू प्रभावित भएका थिए । तसर्थ नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौता (१९४७) अनुसार बेलायतले पनि नेपालीहरुलाई गोर्खा भर्ती गर्न थालेको हो ।
इतिहास साक्षी छ, प्रथम विश्वयुद्ध (१९१४–१९२८) मा झण्डै दुई लाख नेपाली गोर्खा भर्ती भएर विभिन्न मोर्चामा लडेका थिए भने दोस्रो विश्वयुद्ध (१९३९–१९४५) मा करिब दुई लाख पचास हजार भन्दा बढी गोर्खा भर्ती लडाईमा सहभागी भएका थिए । हजारौं गोर्खाली मारिए । हजारौं अङ्गभङ्ग भए । उनीहरुको बहादुर, इमान्दार र अनुशासनले विश्वभर ‘गोर्खा’ शब्द अमर बन्न पुगेको थियो ।
गोखा भर्ती आफैमा विवादित भएकोले नेपालमा लामो समयदेखि बहसगर्दै आएको विषय हो । अर्थतन्त्र, कुटनीतिक, समाज र प्रतिष्ठाजस्ता विषयहरूमा फाइदा भएपनि देशभित्र रोजगारी सिर्जना गरी सक्षम जनशक्तिको उत्पादन, सार्वभौमिकता र राष्ट्रिय गरिमा, श्रम शोषणबाट उन्मुक्ति, सक्षम जनशक्ति बाहिर नपठाउने, परिवार तथा सामाजिक समस्याको समाधान र सुरक्षा सन्तुलनको दृष्टिकोणबाट सुरक्षित गर्नुपर्ने जस्ता थुप्रै विषयहरुमा युवाहरुले आवाज उठाएको विषय हो ।
युगकवि सिद्धिचरण त्यस्तो कवि हुन्, जसले “युद्ध र शान्ति” नामक खण्डकाव्य २००४ सालमा रचना गरी गोर्खा भर्तीका विषयमा पहिलो आवाज बुलन्द गरेका थिए । पहाडमा जन्मेका सोझो र छलकपट गर्न नजानेका कान्छा र कान्छीलाई नायक र नायिकाको रुपमा उभ्याई गोर्खा भर्तीमा गएका परिवारहरूको मनोदशालाई अत्यन्तै सुक्ष्म र सजीवपूर्ण तरिकाबाट यस खण्डकाव्यमा प्रस्तुत गर्न सफल भएका छन् ।
“ तिमी ज्यान देउ म पैसा दिन्छु ” मूल विषयमा कान्छा र कान्छीका बीच गहिरो सम्वाद भएको देखिन्छ । गरिबीका कारण कान्छा गोर्खा भर्ती भई युद्धमा वीरगति प्राप्त गरेको कुरा प्रस्तुत खण्डकाव्यमा उल्लेख गरिएको छ । देशबाट गरिब हटाउन सके पारिवारिक जीवन कष्टकर र पीडादायीको अन्त्य भई गोर्खा भर्ती केन्द्रको समेत कुनै औचित्य नहुने र नेपालीहरुले ज्यान गुमाउनु नपर्ने जस्ता कुराहरुको उजागरगर्दै शान्तिले देश चाँडै निर्माण हुने भएकोले परिवार जनमा परेको शोक र घाइतेहरूको जीवनगाथालाई समेत युगकविले मार्मिक ढङ्गबाट प्रस्तुतिकरण गर्नुभएको छ ।
शान्तिनै जीवनको उद्देश्य हो । जसबाट दिव्य संसार निर्माण हुन्छ । तसर्थ यस काव्यमा भौतिक दुःखको चर्चागर्दै यो मायावी संसारमा वेदान्त दर्शन र कर्मवादी चिन्तन प्रस्तुत गरिएको छ । ज्ञान, बुद्धि र विवेकलाई बिर्काे लगायो भने लोभ र लालसाको जन्म भई हत्या, हिंसा र आतंक जस्ता वर्गीय द्घन्द्घहरूमा फस्ने भएकोले रोजगारीको माध्यमद्वारा आर्थिक असमानता हटाउनुपर्ने मागराख्दै मानवतावादी तथा विद्रोही भावनाको वैचारिक चिन्तन गरेको पाइन्छ ।
जीवन, धनले मात्रै सुखमय् हुदैन । प्रेम, माया र स्नेहको पनि उत्तिकै भूमिका हुने भएकोले प्रस्तुत काव्यमा प्रेमभावलाई जागृत गरी सत्कर्मको माध्यमद्वारा उत्तम जीवन बिताउन सकिन्छ भन्ने धारणा व्यक्त गर्नुभएको छ । तसर्थ युद्ध, मानवका निम्ति स्वीकार्य हुन सक्दैन भनी लोक छन्दमा लेखिएको सात सर्गमा विभाजित करुणा रसयुक्त प्रस्तुत काव्य २०७४ सालमा प्रकाशित गरिएको मानवतावादी खण्डकाव्य हो ।
युगबोध र युगचेतनाका संवाहक युगकवि सिद्धिचरण भाव, भाषा र कलाका कुशल शिल्पकार हुन् । त्यसैले उनी अमर र अजर छन् । विचार, विश्लेषण र समीक्षा गर्न सक्ने देशभक्त, राष्ट्रप्रेमी र स्वतन्त्रतावादी कवि हुन् । राणा शासनकालमा आफ्नो जीऊ, धनसम्पतिको समेत प्रवाह नगरी अठार वर्षको उमेरमा “हडताल” र “क्रान्ति” शब्दको पहिलो शङ्खघोषगर्दै कविताको माध्यमद्वारा आगो ओकले बापत सर्वस्व सहित अठार वर्षको कैद सजायलाई सहर्ष स्वीकार गरी नेपाली जनतालाई प्रजातान्त्रिक हक र अधिकार स्थापना गर्नका लागि आफ्नो अमूल्य योगदान दिनुभएकोले उहाँका साहित्यिक कृतिहरु युगौँयुगसम्म रहिरहनेछन् । युगौँयुगसम्म सम्झिरहनेछन् ।
प्रकासित मिति २०८२-१२-१२











तपाईको प्रतिक्रिया