२३ करोडको ‘फर्जी’ खेल: हिमालयन रि-इन्स्योरेन्स प्रकरणमा २० जनामाथि मुद्दा

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको कोष अपचलन गरी ८ वटा जटिल चरणमार्फत २३ करोड रुपैयाँभन्दा बढी अवैध रकम शुद्धीकरण गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २० जना व्यक्ति तथा संस्थालाई प्रतिवादी बनाउँदै कुल २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो कायम गरी सोको दोब्बर जरिवाना, कैद सजाय र गैरकानुनी सम्पत्ति जफतको मागदाबी गरेको छ।
​यस प्रकरणका मुख्य अभियुक्त व्यवसायी दीपक भट्टले आफ्नै मुख्य सेयर स्वामित्व रहेको हिमालयन रि-इन्स्योरेन्सबाट सासू अन्जना नेपालको नाममा ‘एलियन्ट इन्स्योरेन्स ब्रोकर्स’ नामक फर्जी कम्पनी खडा गरी २८ करोड रुपैयाँ पेस्की निकालेका थिए। त्यसमध्ये ४ करोड रुपैयाँ फिर्ता देखाएर बाँकी रकम फर्छ्यौट गर्न उनले देशका २० वटा जीवन बीमा कम्पनीको व्यवसाय एलियन्टमार्फत आएको भन्दै नक्कली ‘ब्रोकर कमिसन खर्च’ लेखांकन गराए। तर, नेपाल लाइफ, एसियन लाइफ, सिटिजन लाइफ र आइएमई लाइफसहितका २० वटै बीमा कम्पनीका प्रमुखहरूले एलियन्टसँग कुनै सम्झौता वा कारोबार नभएको लिखित बयान दिएपछि सिङ्गो कारोबार फर्जी भएको खुलेको हो।
​अवैध रकमलाई वैध बनाउन अभियुक्तहरूले एलियन्टबाट कर तिरेर अन्जना नेपाललाई लाभांशका रूपमा रकम हस्तान्तरण गरे। त्यसपछि उक्त रकम अन्जनाको खाताबाट दीपक भट्टकी पत्नी आयुष्मा नेपाल भट्ट हुँदै दीपक भट्टको व्यक्तिगत खातामा २१ करोड १५ लाख रुपैयाँ पुर्‍याइयो। अन्त्यमा, भट्टले सो रकम शंकरलाल अग्रवाल, साहिल अग्रवाल र जगदम्बा स्टिलको खातामा भुक्तानी गरी आफ्ना बैंकिङ ऋण तथा दायित्व साटफेर गर्दै वित्तीय प्रणालीमा मिसाएका थिए।
​यस ग्रान्ड डिजाइनमा हिमालयन रि-इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छासहित सञ्चालकहरू रोहित गुप्ता, साहिल अग्रवाल, अमित मोर, सुभाष कुमार झुनझुनवाला, शुभेच्छा खरेल, राजिव मोर र साक्षी बंसल गोयलले सञ्चालक समितिबाट फर्जी कारोबार अनुमोदन गरी अपराध ढाकछोप गरेकाले उनीहरूमाथि पनि पूर्ण बिगो र सजायको माग गरिएको छ। साथै, आधारविना पेस्की स्वीकृत गर्ने तत्कालीन सीईओद्वय चन्द्रशेखरन रामामूर्ति र उपासना पौडेल तथा कार्यकारी निर्देशक मनिष कुमारविरुद्ध पनि सोही बराबरको बिगो र कैद सजाय मागदाबी छ। यता निर्देशिका विपरीत नक्कली कम्पनी एलियन्टलाई ब्रोकरको लाइसेन्स दिएर अपराधमा सघाएको भन्दै नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २ करोड ४० लाख रुपैयाँ बिगोसहित कैद र जरिवानाको माग गरिएको छ।

तपाईको प्रतिक्रिया

Advertisement