शिखर इन्स्योरेन्सकाे बीमाशुल्क संकलन बढ्यो

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाडौं २९ माघ २०८२- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिमा  इन्स्योरेन्सले ७८ करोड रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको जनाएको छ।

कम्पनीका अनुसार पुस मसान्तसम्म खुद बीमाशुल्क ७८ करोड ५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६३ करोड ७६ लाख रुपैयाँको तुलनामा २२.४१ प्रतिशतले बढी हो।

व्यवसाय विस्तार भए पनि बीमा दाबी भुक्तानी भने बढेको छ। भदौमा भएको जेन–जी आन्दोलन र असोज महिनामा आएको बाढीपहिरोका कारण ठूलो परिमाणमा दाबी परेपछि कम्पनीको वित्तीय परिणाम प्रभावित भएको हो। 

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब १६ करोड ३३ लाख रुपैयाँबाट बढेर १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ पुगेको छ। कुल खर्च भने उल्लेखनीय रूपमा बढेर ७९ करोड ७८ लाख रुपैयाँबाट १ अर्ब २९ करोड ९३ लाख रुपैयाँ पुगेको छ। अभिकर्ता कमिशन खर्च पनि बढेर ३ करोड २२ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९.३९ रुपैयाँबाट घटेर ३.०६ रुपैयाँ ऋणात्मक भएको छ भने सोल्भेन्सी अनुपात ४.७४ प्रतिशत कायम भएको छ। प्रतिशेयर नेटवर्थ १९६.६४ रुपैयाँ रहेको छ।

२ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ। पुस मसान्तसम्म कम्पनीले ४ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ लगानी गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया