काठमाडौं१८ भाद्र २०८३-नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ‘५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३’ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
यससम्बन्धी सम्झौतामा मंगलबार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेका छन्।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ५.५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।
कुल ४० लाख कित्तामध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निजी तवरबाट बिक्री गरिनेछ।
बाँकी १६ लाख कित्ता अर्थात् १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्कासनमार्फत बिक्री गरिने बैंकले जनाएको छ। सार्वजनिक निष्कासनका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
ऋणपत्रबाट उठेको रकम बैंकको दीर्घकालीन स्रोत व्यवस्थापनमा प्रयोग हुनेछ।











तपाईको प्रतिक्रिया