काठमाडौं ०४ साउन २०८३।
माछापुच्छ्रे बैंक लिमिटेडले उच्च व्यवस्थापन तहमा पदोन्नति गर्दै दुई वरिष्ठ अधिकारीलाई नयाँ जिम्मेवारी दिएको छ। बैंकको सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) प्रसिद्ध राज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (Senior DCEO) तथा नायब महाप्रबन्धक (DGM) सुभाष जमकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) मा पदोन्नति गर्ने निर्णय गरेको हो।
बैंकका अनुसार वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने अर्यालसँग दुई दशकभन्दा बढीको बैंकिङ अनुभव छ। काठमाडौँ विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका उनले कर्जा व्यवस्थापन, ट्रेजरी, करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायत विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
अर्यालले यसअघि सिभिल बैंक, सनराइज बैंक तथा नेपाल इन्भेस्टमेन्ट बैंकमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। बैंकिङ क्षेत्रमा उनको अनुभव र व्यवस्थापकीय क्षमताले संस्थाको व्यवसाय विस्तार तथा रणनीतिक व्यवस्थापनमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ।
त्यसैगरी, नायब प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति भएका सुभाष जमकटेल वित्तीय व्यवस्थापन र बैंकिङ क्षेत्रका अनुभवी चार्टर्ड एकाउन्टेन्ट हुन्। उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (ICAI) बाट चार्टर्ड एकाउन्टेन्सी पूरा गरेका छन्।
जमकटेलले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानून विषयमा स्नातक अध्ययन गरेका छन् भने थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) बाट बैंकिङ तथा फाइनान्समा प्रोफेशनल मास्टर्स डिग्री हासिल गरेका छन्।
बैंकले दुवै अधिकारीको व्यावसायिक अनुभव, नेतृत्व क्षमता र बैंकिङ क्षेत्रको विशेषज्ञताले संस्थाको दीर्घकालीन रणनीति, सुशासन र व्यवसाय विस्तारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।










तपाईको प्रतिक्रिया