काठमाण्डौ १४ माघ २०८२
नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन गुणाले बढेको छ।
यो अवधिमा बैंकले १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ४६ करोड १० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो। यसअनुसार खुद नाफा १८३.०४ प्रतिशत ले बढेको हो।
इम्पेरमेन्ट चार्ज कमीले नाफालाई बलियो बनाएको छ। इम्पेरमेन्ट चार्ज गत वर्षको २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँबाट घटेर ४७ करोड ९९ लाख रुपैयाँमा झरेको छ। यसकारण सञ्चालन मुनाफा ३९४.६४ प्रतिशत ले बढेर उल्लेख्य सुधार देखिएको छ।
बैंकको कुल सञ्चालन आम्दानी भने १.५९ प्रतिशतले घटेको छ। खुद ब्याज आम्दानी ३.९७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १७.१६ प्रतिशतले कमी आएको छ।
प्रतिशेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ। यो ११ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ७६ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५७ गुणा छ।
यद्यपि, वितरणयोग्य मुनाफा भने ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। यसले वितरणयोग्य प्रतिशेयर आम्दानी पनि १२ रुपैयाँ ४५ पैसा ऋणात्मक देखाएको छ।
बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ छ। जगेडा कोष ४.१२ प्रतिशतले बढेको छ। निक्षेप ९.८७ प्रतिशत र कर्जा तथा सापटी ४.४४ प्रतिशत ले वृद्धि भएको छ।










तपाईको प्रतिक्रिया