काठमाण्डौ ३२ असार २०८२
हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) सुरु गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने प्रावधानअनुसार यो निष्काशन गरिएको हो।
हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ छ, जसमा ७२.९९ प्रतिशत संस्थापक समूहको र २७.०१ प्रतिशत सर्वसाधारणको हिस्सा छ। सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँबराबरको ९२ लाख ५० हजार ४६९ कित्ता शेयर जारी गर्दैछ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा यो एफपीओ उपलब्ध हुनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा साउन ४ गते बन्द हुनेछ, तर पर्याप्त आवेदन नपरेमा यो अवधि असार १४ गतेसम्म लम्बिनेछ।
केयर रेटिङ्ग नेपालले एफपीओका लागि बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक, वित्तीय संस्था, तिनका शाखा कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयरमार्फत सि–आस्बा प्रणालीद्वारा आवेदन दिन सक्नेछन्।
एफपीओ निष्काशनपछि बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्नेछ।











तपाईको प्रतिक्रिया