‘हेमबहादुर मल्ल सम्मान २०८२’ बाट पूर्व प्रधानन्यायाधीश श्रेष्ठ सम्मानित

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाडौं, २७ असार २०८२

हेमबहादुर मल्ल सम्मान यस बर्ष पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ प्रदान गरिएको छ । नेपाल जन–प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा प्रदान हुँदै आएको सो सम्मान बिहिबार आयोजित विशेष समारोहमा पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई नगद दुई लाख रुपैयाँसहितको प्रदान गरिएको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सो सम्मान पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान गर्नुभएको हो ।

प्रधानन्यायाधीश राउतले समारोहलाई सम्बोधन गर्दै कल्याण श्रेष्ठको न्यायिक योगदानलाई ‘स्वतन्त्र न्यायपालिकाका गौरवशाली स्तम्भ’ का रूपमा व्याख्या गर्नुभयो। उहाँले सेवानिवृत्त भएपनि पूर्व प्रशासकहरूको अनुभव, विज्ञता र विवेक राष्ट्रका लागि अमूल्य पूँजी रहेको बताउनु भयो ।

सम्मान ग्रहणपछि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आफूलाई दिइएको सम्मानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले समाजमा व्याप्त नकारात्मकता हटाउन सबैले आ–आफ्नो स्थानबाट प्रयास गर्नुपर्नेमा जोड दिनुभयो। स्वर्गीय हेमबहादुर मल्लजस्ता रोल मोडलहरूको खोजी गर्नु आजको आवश्यकता भएको बताउनु भयो । उहाँले सुशासन कायम गर्नका लागि नेतृत्वदायी पद्धति र पात्रबीचको समन्वय आवश्यक भएको औंल्याउनुहुँदै लोकका लागि जीवन अर्पण गर्नेहरूलाई सम्झना र सम्मान गर्नु प्रेरणादायी काम भएको बताउनुभयो ।

सम्मान छनोट समितिका अध्यक्ष उमेश प्रसाद मैनालीले प्रक्रियागत रुपमा निर्धारित कार्यविधि अनुसार विभिन्न चरण पार गरेर उत्कृष्ट व्यक्तित्वको चयन गरिएको बताउनु भयो ।

साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले ‘हेमबहादुर मल्ल सम्मान’को गरिमा र प्रभावलाई स्मरण गर्दै, न्यायिक क्षेत्रमा कल्याण श्रेष्ठको योगदान अविस्मरणीय रहेको बताउनुभयो।

कार्यक्रममा नेपाल जन–प्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले सार्वजनिक प्रशासन, न्यायिक नेतृत्व र संस्थागत विकासमा श्रेष्ठको विशिष्ट योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको जानकारी दिनुभयो।

सो अवसरमा नेपाल जन–प्रशासन संघका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटाले सम्मानित व्यक्तित्व श्रेष्ठ र हेम बहादुर मल्लको व्यक्तित्व बारे प्रकाश पार्नुभएको थियो ।

श्रेष्ठको छनोट लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले गरेको हो। समितिमा नेपाल जन–प्रशासन संघका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले, पूर्व सहसचिव जीवराज कोईराला तथा संघका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा आमन्त्रित सदस्यका रूपमा सहभागी हुनुहुन्थ्यो ।

कल्याण श्रेष्ठले कानुन र राजनीतिशास्त्रमा औपचारिक शिक्षा हासिल गरी जिल्ला अदालत, पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतसम्म न्यायिक सेवा प्रदान गर्नुभएको थियो। उहाँ नेपालका २५औँ प्रधानन्यायाधीश हुनुहुन्थ्यो। द्वन्द्वपछिको संक्रमणकाल, बृहत् शान्ति सम्झौता तथा संविधानसभाको निर्वाचनजस्ता ऐतिहासिक घटनाक्रममा उहाँको न्यायिक नेतृत्व विशिष्ट मानिन्छ। संक्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरणीय न्यायलगायत विषयमा उहाँले प्रस्तुत गरेका विचार, अडान र ऐतिहासिक फैसलाहरूको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको हो।

वि।सं। २०५७ सालदेखि हरेक वर्ष प्रदान हुँदै आएको यो सम्मान २१औँ पटक प्रदान गरिएको हो। यसअघि केदारभक्त माथेमा, डा भगवान कोईराला, महावीर पुन, कुलमान घिसिङ, डा। सन्दुक रुइत, डा। देवेन्द्रराज पाण्डे, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधानलगायत विशिष्ट व्यक्तित्वहरू सम्मानित भइसकेका छन्।

यो सम्मान साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संस्थापक प्रमुख तथा ख्यातिप्राप्त प्रशासक स्वर्गीय हेमबहादुर मल्लको स्मृतिमा स्थापना गरिएको हो। मल्लले सार्वजनिक सेवा वितरण र व्यवस्थापनमा पुर्‍याएको योगदानको कदर गर्दै वि।सं। २०५७ मा उक्त सम्मान स्थापना गरिएको हो।

तपाईको प्रतिक्रिया