सातै प्रदेश सरकारले आज बजेट ल्याउँदै

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

काठमाडौं १ असार २०८२,।

प्रदेश सरकारहरूले आज आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै छन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका आर्थिक मामिला मन्त्रीहरू आज प्रदेश सभामा आय–व्यय विवरणसहितको बजेट प्रस्तुत गर्दैछन् ।
संविधानअनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय तहहरूले असार १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/८२ मा प्रस्तुत गरेको २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट हाराहारीमै नयाँ बजेट ल्याउने तयारी गरेको छ । आज साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले नयाँ बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संघीय राजधानी रहेको बागमती प्रदेशमा भने आज दिउँसो ३ बजे बस्ने सभा बैठकमार्फत करिब ६८ अर्बको बजेट प्रस्तुत गरिने तयारी छ । अघिल्लो वर्ष बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड थियो ।

मधेश प्रदेशले गत आर्थिक वर्षमा ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । त्यस्तै कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख र लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट ल्याएका थिए ।

यसपटक अधिकांश प्रदेशले चालू बजेटकै हाराहारीमा बजेट ल्याउने संकेत देखिएको छ । संघीय सरकारको ढाँचाअनुसार बजेटको आकारमा सुधार, खर्चको प्रभावकारिता र आन्तरिक स्रोत परिचालन मुख्य प्राथमिकतामा रहने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया