काठमाडौँ ११ जेष्ठ २०८२।
नेपाल राष्ट बैकले सेयर धितो कर्जाको जोखिम १०० प्रतिशतमा झारेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको हो । सेयर लगानीकर्ता लामो समयदेखि राष्ट्र बैंकको नीतिका कारण प्रताडित थिए । नेपाल राष्ट्र बैंकले लिएको गलत नीतिको शिकार लगानीकर्ता भएका थिए । सेयर बजारप्रति नकारात्मक बनेकै कारण पूर्वगभर्नर महाप्रसाद अधिकारीले आफनो ५ बर्षे कार्यकालभरि आलोचना खेप्नु परेको थियो । महाप्रसाद अधिकारीपछि गभर्नर बनेका डा विश्व पौडेलले भने मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत लगानीकर्तामा आशा भर्ने काम गरिदिएका छन् । मौद्रिक नीतिको समिक्षालाई लिएर लगानीकर्ताहरुले सामाजिक सञ्जालभर समर्थन गरेका प्रतिक्रियाहरु जनाएका छन् ।
केहीदिन अघि मात्र गर्भनरमा नियुक्त डा विश्व पौडेलले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो समीक्षा मार्फत सेयरधितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झार्ने घोषणा गरेका हुन् । यो व्यवस्था कार्यान्वयनमा आएपछि लगानीकर्ताको मनोबल बढ्ने धेरैले विश्वास गरेका छन् । यस प्रोभिजनकै कारण आगामी दिनहरुमा बजारले सकारात्मक लय समात्ने आशा गरिएको छ ।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले लगानीकर्ताहरुको लामो समयदेखिको माग पूरा भएको प्रतिक्रिया दिएका छन् । बिस्तारै अन्य मागहरु पनि पूरा हुने आशा गर्न सकिने उनको भनाइ छ ।
राष्ट बैकले शेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशतमा झारेपनि १५ करोडको क्याप हटाएको छैन । शेयर धितो कर्जामा ब्यक्तिगत तर्फको मार्जिन कर्जामा १५ करोडको सिमा हटाउनुपर्ने लगानीकर्ताहरुको अर्को शसक्त माग रहँदै आएको छ । नवनियुक्त गर्भनरबाट अप्रत्याशित रुपमा जोखिम भार घटाएपछि लगानीकर्ताहरुले त्यसलाई सरप्राइज गिफ्ट मानेका छन् । अघिल्लो नेतृत्वले यो विषय सुनुवाइ गरेको थिएन । आगामी दिनहरुमा थप मागहरु पुरा हुने र शेयर बजारप्रति गर्भनर सकारात्मक रहने संकेत मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले गरेको छ ।












तपाईको प्रतिक्रिया