लौ, फेरि पानी पर्यो (कविता)

बिजनेस पोष्ट

कुशल सापकोटा ‘राग

लौ, फेरि पानी पर्यो—
र सबै मान्छे हतारिन थाले,
छाता खोल्दै, गन्तव्यतिर दौडिँदै,
कोही काममा ढिलो हुन्छन् भनेर,
कोही आफ्नै सोचभित्र गुम्सिँदै।

सडक बगिरहेको छ,
पानीसँगै मान्छेका पाइला पनि।
छप्किएर उडेका थोपा
कसैका कपडामा टाँसिन्छन्,
कसैका सपना चिसो पार्छन्।

बादल बोल्दैन,
तर गर्जन सुनिन्छ
जसरी भीड बोल्दैन,
तर हतारले सबथोक बताउँछ।

त्यही भीडको छेउ उभिएर
म हेर्छु
सबैजना आफ्नो बाटोमा लागेका छन्,
कसैसँग कुरा गर्ने समय छैन,
कसैसँग भिज्ने चाहना पनि छैन।

शहर झन गम्भीर लाग्छ
जब झरीले सबै कुरा ढाकिदिन्छ।
त्यो ओसिलो हावा,
चिसो छाती,
अनि भीडभित्रको एकान्त
सबै थिचिन्छन्,
तर कसैले केही भन्दैनन्।

लौ, फेरि पानी पर्यो
तर आज यो वर्षा
सिर्फ मौसमको मात्र होइन,
यो एक मौनताको कथा हो
जहाँ सबैजना हिँडिरहेका छन्,
तर कोही रोकिँदैनन्

फेसबुकबाट तपाईको प्रतिक्रिया