काठमाण्डौमा घन्कियो वरिष्ठ कवि तथा साहित्यकार तीर्थ श्रेष्ठका एकल कविता वाचन

बिजनेस पोष्ट

जयराम बिडारी

चैत्र १० काठमाण्डौ ।

‘स्वेत शार्दूल एक यात्रा कविताको शिविरमा’ समाजसेवी,कुशल व्यवसायी तथा सुप्रसिद्ध कवि तीर्थ श्रेष्ठका एकल कविता वाचन समारोहमा करिव दुई दर्जन रचना प्रस्तुत गरिएका छन् ।

मदन भण्डारी फाउण्डेशन,कला तथा साहित्य प्रतिष्ठानको आयोजनामा राजस्थानीस्थित एलिस रिसेप्शन गैह्रीधारामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीको अध्यक्षतामा डा.विजय शुब्बा, लगायत तीनसयका हाराहारीमा उपस्थित भएका साहित्यानुरागी तथा लब्धप्रतिष्ठित साहित्यकार हरुको समुपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा अध्यक्षता गरेकी मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष समेत रहेकी उषाकिरण भण्डारीद्वारा स्वागत गरिएको थियो । स्वागत मन्तव्यका क्रममा उनले मदन भण्डारीको जीवनकालका साहित्यिक, राजनैतिक सामाजिक र शैक्षिक योगदानका पाटोलाई उजागर गर्नु नै कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताउँदै वरिष्ठ कवि तथा साहित्यकार तीर्थ श्रेष्ठको एकल कविता वाचन जस्ता कार्यक्रमले साहित्यिक ,सामाजिक गतिविधिले एउटा मात्रै भएपनि ईटा थप्ने विचार व्यक्त गरिन् ।साथै कविको आगामी साहित्यिक उन्नयनका लागि शुभकामना समेत व्यक्त गरिन् ।

उक्त कार्यक्रममा पूर्व राष्ट्रपति द्वारा पानसमा बत्ति बालेर तथा कविलाई माला लगाइदिएर कार्यक्रमको समुद्घाटन गरिएको थियो । सो अवसरमा वरिष्ठ कवि तीर्थ श्रेष्ठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पहिरिएको मालालाई सामान्य रुपमा नलिएको र यसलाई गहन जिम्मेवारीको रुपमा अनुभूत गरेको बताउँदै रचना वाचन गरेका थिए । रचना वाचनका क्रममा क्रममा श्रेष्ठले कविताहरुको रचनागर्भका प्रसंगहरु समेत सुनाएर स्रोताहरुको ध्यानाकर्षित गर्दै प्रेमको पुस्तक ,म मरेको रात,बोन्साइ,धर्मग्रन्थहरु,म मुक्तिनाथ ,लयमा,अन्नपूर्ण वरिपरि ,बाघ,भिक्षायाचक बालकको नाम,लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु,चराहरुले,लाशहरुको थानगन्ती ,असमर्थ राजधानी शहर,ओ काठमाडौ ,सर्पहरु र राजधानी ,काठमाडौ खाल्टो,एक दिन,हिउँमा लेखिएका नामहरु लगायत केही मुक्तक सुनाएर अभ्यागत हरुलाई मन्त्रमुग्ध बनाएका थिए ।

सो समारोहमा कविले आफ्ना गजलहरु प्रस्तुत गरिदिनका लागि संगीता थापा लाई अनुरोध गरेका थिए । उक्त अवसरमा गजल वाचनका लागि योग्य सम्झिएर जिम्मेवारी प्रदान गरिएकोमा थापाले भोजराज न्यौपाने, मदन भण्डारी फ़ाउण्डेशन तथा कवि तीर्थ श्रेष्ठ प्रति आभार व्यक्त गर्दै गजलको भावानुभूतिलाई न्याय गर्ने अधिकतम प्रयास गर्ने विचार व्यक्त गरिन् । साथै ‘आँसु अभाव र भोक भएको छ जीन्दगी’ ‘गुँडमा बचेरा,चरा चाराको खोजीमा,मान्छे ताराको खोजीमा’ ‘हिलोमा जो गाडिएको छ जो ,आज त्यहि आज पावन भयो’ ‘आफैसंग बात मार्न पनि बेफुर्सत छन् मान्छेहरु’ ‘शहरमा आफैंलाई चिमोटेर’ लगायत ‘आँखाबाट नीद हराएपछि कण्ठमा गीत कहाँ हुन्थ्यो’ ? जस्ता आधा दर्जन गजल प्रस्तुत गर्दै रोमाञ्चक माहौल बनाइन् ।

प्रमुख अतिथिको मन्तव्यका क्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कविसँग धेरै पटक भेटघाटको अवसर मिलेको भए तापनि कविता श्रवण गर्ने अवसर पहिलो पटक प्राप्त भएको बताउँदै कुनै बेला कलेज पढ्ने समयमा आफू पनि सिर्जनात्मक कर्ममा रहेको प्रसंग सुनाउँदै त्यसले निरन्तरता पाउन नसकेको बताउँदै तीर्थ श्रेष्ठका सरश र सुललित रुपमा काव्य सुधा रसपान गर्ने सुवर्ण अवसर प्रदान गर्ने आयोजक तथा सर्जक प्रति धन्यवाद व्यक्त गरिएको थियो ।

सो अवसरमा निकट भविष्यमा सार्वजानिकीकरण हुन लागेको कवि तीर्थ श्रेष्ठका ‘हिउँमा लेखिएका नामहरु’ कविता संग्रह तथा मायाको चिनो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रदान गरिएको थियो । भने कार्यक्रमको सहजीकरणको जिम्मेवारीमा समेत रहेका भोजराज न्यौपानेले २०३० को दशक देखि सिर्जनात्मक अभ्यासमा निरन्तर क्रियाशील कविनायक श्रेष्ठका व्यक्तित्व तथा कृतित्वमाथी प्रकाश पारेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया