आईपीओ निष्कासन गर्दै सोलु हाइड्रोपावर

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

काठमाण्डौ २८ कार्तिक २०८२

सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्कासनको अनुमति प्राप्त गरेको छ।

यसमध्ये १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता शेयर आयोजना प्रभावित सोलुखुम्बुका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। यसमा अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिकाको वडा नं. १ का बासिन्दालाई ४० लाख कित्ता र अन्य वडाका बासिन्दालाई ६० लाख कित्ता बाँडफाँट गरिनेछ।

साथै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन हुँदैछ। यो अवसरले विदेशमा रहेका नेपालीहरूलाई स्वदेशको जलविद्युत क्षेत्रमा लगानी गर्ने सुनौलो मौका प्रदान गरेको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि निष्कासन छिटोमा मंसिर २१ र ढिलोमा पुस ७ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छिटोमा मंसिर १० र ढिलोमा मंसिर २१ गते बन्द हुनेछ।

कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको कुल लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ अनुमान गरिएको छ। प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ रहेको यो आयोजनाको विद्युत अनुमतिपत्र २५ वर्ष बाँकी छ। लगानी फिर्ता अवधि साधारण रूपमा ७.६८ वर्ष र डिस्काउण्टमा १२.०९ वर्ष रहेको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

तपाईको प्रतिक्रिया

Advertisement