काठमाडौं, २०८३ साउन १८
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत दृष्टिविहीन महिला सङ्घ नेपालका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। रोटरी क्लब अफ हिमालयन गल्फर्ससँगको सहकार्यमा शनिबार एक कार्यक्रमबिच उक्त सामग्री हस्तान्तरण गरिएको हो।
शिक्षा तथा सामाजिक उत्थानमा योगदान पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यको विशेष उपस्थिति थियो। कार्यक्रममा दृष्टिविहीन महिला सङ्घ नेपालका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रत्यक्ष रूपमा उपलब्ध गराइएको छ।
उक्त अवसरमा आचार्यले शिक्षा नै समाज रूपान्तरणको मुख्य आधार भएको बताइन्। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनले उल्लेख गरिन्।
कार्यक्रममा रोटरी क्लब अफ हिमालयन गल्फर्सका पदाधिकारी, दृष्टिविहीन महिला सङ्घका प्रतिनिधि तथा विद्यार्थीको सहभागिता थियो। सहयोग प्राप्त गरेपछि विद्यार्थीले अध्ययन सामग्रीले आफ्नो पढाइलाई सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने भन्दै खुसी व्यक्त गरे।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र समुदायको समग्र विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम चलाउँदै आएको छ।












तपाईको प्रतिक्रिया