बाढी प्रभावित बीमितलाई राहत, दाबी भुक्तानी प्रक्रिया सहज बनाइने, यस्तो छ ८ बुँदे निर्देशन

Bizness Post बिजनेस पोष्ट
|
३ हप्ता अगाडि

काठमाडौं  १८ कार्तिक, २०८३।

नेपाल बीमा प्राधिकरणले रसुवामा बाढीबाट प्रभावित बीमितहरूको बीमा दाबी भुक्तानीलाई सहज र छरितो बनाउन जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले आठ बुँदे परिपत्र जारी गर्दै प्रभावित बीमितलाई दाबी भुक्तानीमा सहजीकरण गर्न तथा बीमाशुल्क र कर्जाको किस्ता बुझाउन थप ६ महिनाको समय दिन भनेको हो।

गत भदौ १० गते भोटेकोशी, त्रिशूली र नारायणी नदीमा आएको बाढीका कारण प्रभावित भएका बीमितहरूको हितलाई मध्यनजर गर्दै प्राधिकरणले यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्थाअनुसार मृत्यु दाबी, बीमालेख समर्पण, बीमालेख धितोमा कर्जा र परिपक्व भएको रकम भुक्तानी गर्ने प्रक्रियालाई सरल बनाइएको छ।

अब मृत्यु दाबीका लागि बीमितको नाम, मृत्यु भएको मिति र कारण, बीमालेख नम्बर तथा दाबी गर्ने व्यक्तिसँगको नाता उल्लेख गरी सामान्य निवेदन दिए पुग्नेछ। दाबीकर्ताको पहिचान र नाता प्रमाणित गर्न नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी वा जग्गाधनी प्रमाणपुर्जामध्ये उपलब्ध कागजात पेस गर्न सकिने व्यवस्था गरिएको छ।

बाढीका कारण बीमितको मृत्यु भएको वा बेपत्ता भएको पुष्टि गर्न सम्बन्धित स्थानीय तहको सिफारिस अथवा अदालतबाट भएको न्यायिक घोषणालाई मान्यता दिनुपर्नेछ। त्यस्तै, बाढीमा सक्कली बीमालेख हराए वा नष्ट भएमा कम्पनीमा सुरक्षित रहेको अभिलेखका आधारमा दाबी प्रक्रिया अघि बढाउनुपर्नेछ। बीमितले माग गरेमा बीमालेखको प्रतिलिपिसमेत निःशुल्क उपलब्ध गराउन कम्पनीहरूलाई निर्देशन दिइएको छ।

बाढीका कारण बीमा कम्पनीकै कागजात तथा अभिलेख नष्ट भएको अवस्थामा बीमित र सम्बन्धित अभिकर्ताले उपलब्ध गराएका विवरणका आधारमा अभिलेख पुनः अद्यावधिक गर्न सकिने व्यवस्था पनि गरिएको छ।

प्राधिकरणले प्रभावित बीमितलाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले बीमाशुल्क तथा बीमालेख कर्जाको किस्ता भुक्तानीमा समेत सहुलियत दिएको छ। किस्ता तिर्न नसक्ने बीमितलाई थप ६ महिनाको समय दिनुपर्ने र उक्त अवधिमा कुनै ब्याज वा जरिवाना लिन नपाइने व्यवस्था गरिएको छ।

त्यस्तै, बाढीका कारण बेपत्ता भएका बीमितको हकमा पनि दाबी भुक्तानीको बाटो सहज बनाइएको छ। हकवालाले बेपत्ता व्यक्ति पछि जीवित अवस्थामा फेला परेमा प्रचलित कानुनअनुसार हुने सजाय स्वीकार गर्ने स्वघोषणा गरेपछि मृत्यु दाबी भुक्तानी दिनुपर्ने व्यवस्था परिपत्रमा उल्लेख छ।

प्राधिकरणको यो निर्णयले बाढीबाट प्रभावित बीमित तथा उनीहरूका परिवारलाई आर्थिक राहत पुग्नुका साथै प्राकृतिक विपत्तिका कारण अवरुद्ध भएका बीमा सेवा र दाबी भुक्तानी प्रक्रिया पुनः सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया