काठमाडौं १७ कार्तिक, २०८३।
बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीको नेतृत्वमा पछिल्ला चार वर्षमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र सार्वजनिक सेवा सुधारका क्षेत्रमा विभिन्न महत्वपूर्ण काम अघि बढेका छन्। योजनाबद्ध सहरी विकास र नागरिकमुखी सेवालाई प्राथमिकता दिँदै नगरपालिकाले आफ्नो कार्यसम्पादनमा सुधार ल्याउने प्रयास गरेको छ।
नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सुरु गरेको शिक्षक बैंक कार्यक्रमलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। शिक्षक अभाव भएका विद्यालयमा आवश्यक जनशक्ति उपलब्ध गराउने यस कार्यक्रमबाट शैक्षिक गुणस्तरमा १४ प्रतिशत सुधार आएको नगरप्रमुख अधिकारीले बताएका छन्। त्यस्तै, शिक्षा क्षेत्रमा बजेट वृद्धि, कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था र उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिएको छ।
स्वास्थ्य सेवातर्फ बुढानीलकण्ठ नगर अस्पतालबाट दैनिक ३०० भन्दा बढी बिरामीले सेवा प्राप्त गरिरहेको नगरपालिकाले जनाएको छ। स्वास्थ्य संस्थाहरूमा सेवा विस्तार तथा विशेषज्ञ सेवाको पहुँच बढाउने प्रयाससमेत अघि बढाइएको छ।
भौतिक पूर्वाधारतर्फ सडक स्तरोन्नति, खानेपानी तथा ढल व्यवस्थापन, सार्वजनिक भवन निर्माण र हरियाली प्रवर्द्धनका कार्यक्रम सञ्चालन भएका छन्। साथै, सार्वजनिक जग्गा संरक्षण, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियालाई सहज बनाउने पहलले नगरपालिकाको संस्थागत विकासमा योगदान पुर्याएको छ।
यसैबीच, नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनका आधारमा बुढानीलकण्ठ नगरपालिकालाई ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्रदान गरेको छ। व्यवस्थित सहरी विकास, पूर्वाधार विस्तार, वातावरण संरक्षण र सेवा प्रवाह सुधारलाई पुरस्कारको आधार मानिएको थियो।
धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउने पहल र सार्वजनिक जग्गा संरक्षणको अभियानलाई पनि नगर नेतृत्वले प्राथमिकतामा राखेको छ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार र संस्थागत सुधारलाई एकसाथ अघि बढाउने प्रयासले बुढानीलकण्ठको विकास यात्रामा नयाँ आधार तयार गरेको छ। आगामी दिनमा यी पहललाई थप प्रभावकारी बनाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाम हासिल गर्नु नगर नेतृत्वको मुख्य चुनौती र अवसर दुवै बनेको छ।











तपाईको प्रतिक्रिया