काठमाडौं ५ साउन २०८३– लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले वार्षिक ७ प्रतिशत ब्याजदर भएको १० वर्ष अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो । प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई ऋणपत्रमार्फत बैंकले ३ अर्ब रुपैयाँ बराबरको रकम उठाउने लक्ष्य राखेको छ।
कुल निष्काशनमध्ये ६० प्रतिशत अर्थात् १८ लाख इकाई (१ अर्ब ८० करोड रुपैयाँ) व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी १२ लाख इकाई (१ अर्ब २० करोड रुपैयाँ) सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फको निष्काशनमध्ये ६० हजार इकाई अर्थात् ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण उपलब्ध इकाईका लागि आवेदन दिन सक्नेछन् । निष्काशन छिटोमा साउन १९ गते बन्द हुनेछ। आवश्यक आवेदन नपरेमा बिक्री अवधि साउन २८ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सकिने बैंकले जनाएको छ।










तपाईको प्रतिक्रिया