तीन महिनामै १६ अर्ब १५ करोडको विद्युत् निर्यात

Bizness Post बिजनेस पोष्ट
|
३ हप्ता अगाडि

काठमाडौँ १७ कार्तिक, २०८३

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै विद्युत् निर्यातबाट १६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो १५ दिनको कार्यप्रगति सार्वजनिक गर्दै साउन, भदौ र असोजमा कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको जनाएको छ।

अघिल्लो महिना असोजमा मात्रै नेपालले भारततर्फ ६३ करोड ३९ लाख युनिट विद्युत् बिक्री गरी ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ।

नेपालले भारतको प्रतिस्पर्धी बजारमा थप विद्युत् पठाउने अनुमति पाएको छ। भारतबाट थप ३१ मेगावाट विद्युत् निर्यातको स्वीकृति प्राप्त भएसँगै अब भारततर्फको कुल निर्यात क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।

यसैबीच केही समयअघि आएको बाढीका कारण संरचनामा क्षति पुगेर अवरुद्ध बनेको बङ्गलादेशतर्फको विद्युत् निर्यात पनि फेरि सुरु भएको छ। बाढीका कारण रोकिएको बङ्गलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात प्रक्रिया पुनः सुचारु गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

Advertisement