काठमाडौँ १६ कार्तिक, २०८३।
नबिल बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको खुद नाफा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानीमा भएको सुधारले पनि साथ दिएको छ । चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २१.४ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब २६ करोड ४६ लाख रुपैयाँ रहेको छ । उक्त वितरणयोग्य नाफाका आधारमा बैंकको लाभांश वितरण क्षमता २२.०८ प्रतिशत कायम भएको छ ।
बैंकले निक्षेप संकलन र कर्जा विस्तारमा समेत वृद्धि गरेको छ । असोज मसान्तसम्म बैंकको कुल निक्षेप ४.६ प्रतिशतले बढेर ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तको तुलनामा कर्जा प्रवाह पनि ३.४ प्रतिशतले विस्तार भई ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप र कर्जाबीचको अनुपात (सीडी रेसियो) ८०.०१ प्रतिशत रहेको छ ।
नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि सुधार देखिएको छ । अघिल्लो वर्ष २५.४९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ३३.८९ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने २३३.९० रुपैयाँ कायम भएको छ ।
यता, बैंकले खराब कर्जा नियन्त्रणमा पनि सुधार गरेको छ । गत आर्थिक वर्षको असोज मसान्तमा ४.३१ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा घटेर ४.०६ प्रतिशतमा झरेको छ ।










तपाईको प्रतिक्रिया