काठमाडौँ १५ असोज २०८३
असोज १७ गते नेपालमा ठूलो पानी पर्ने भन्दै सामाजिक सञ्जाल र विभिन्न माध्यममा फैलिएको खबर केवल भ्रामक र निराधार रहेको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाले यस्तो कुनै पनि चेतावनी वा सूचना जारी नगरेको जनाउँदै आगामी तीन दिनसम्म भीषण वर्षाको कुनै सम्भावना नरहेको जानकारी दिएको हो।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आगामी केही दिन देशभर मौसमी प्रणाली सामान्य रहनेछ। मौसम विभागको चेतावनी नक्सामा आगामी तीन दिनका लागि देशभर नै हरियो रङ राखिएको छ, जसको अर्थ कुनै ठूलो मौसमी जोखिम छैन।
विगत २४ घण्टामा मकवानपुर वरपरका केही स्थानमा हल्का छिटपुट वर्षाबाहेक अन्यत्र पानी परेको छैन। अहिले देशभरका तराई र उपत्यका क्षेत्रमा घाम लाग्दा दिउँसो गर्मी बढ्न थालेको छ भने हिमाली तथा पहाडी भेगमा बिहान-साँझ चिसो महसुस हुन थालेको छ।
आगामी दिनको मौसमबारे जानकारी दिँदै मौसमविद् लामिछानेले कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने बताए। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा अपराह्न वा साँझतिर छोटो समयका लागि मात्रै छिटपुट पानी पर्ने सम्भावना छ।
रातिको समयमा वर्षा अझ कम हुनेछ भने तराईका धेरैजसो भागमा आकाश खुला रहनेछ। उपत्यका र तराईका खोँचहरूमा बिहानपख हल्का हुस्सु वा तुवाँलो लागे पनि घाम लाग्दै गएपछि मौसम सफा हुने महाशाखाले जनाएको छ।
अहिले देशैभर धान बाली भित्र्याउने र काट्ने मौसम सुरु भएकाले किसानहरू मौसमी अवस्थालाई लिएर चिन्तित बनेका छन्। तर आगामी केही दिनसम्म कुनै पनि ठूलो मौसमी प्रणालीले असर नगर्ने भएकाले किसानहरूलाई नधियाई र ढुक्क भएर धान काट्न मौसमविद्ले आग्रह गरेका छन्।
हल्लाको पछि नलाग्न अनुरोध गर्दै मौसमसम्बन्धी तथ्यपरक र आधिकारिक जानकारी चाहिएमा मौसम पूर्वानुमान महाशाखामा सिधै सम्पर्क गर्न वा महाशाखाको सूचना हेर्न पनि उहाँले सुझाव दिए।











तपाईको प्रतिक्रिया