लुप्राङमा अङ्गुरखेती : वार्षिक १२ लाख रुपैयाँसम्म बचत गर्दै ताराकुमारी

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

पर्वत २ असार २०८३।

पर्वतको जलजला गाउँपालिका–८ लुप्राङमा व्यावसायिक रूपमा गरिएको अङ्गुरखेतीको परीक्षण सफल भएको छ। समुद्री सतहदेखि करिब १ हजार ८ सय मिटर उचाइमा रहेको यो गाउँमा स्थानीय कृषकले नयाँ सम्भावनाको खोजी गरेका हुन्।

लुप्राङस्थित श्रीहरी कृषि तथा पशुपन्छी फार्मकी सञ्चालक ताराकुमारी रेग्मीले ४ वर्षअघि भारतबाट ल्याएर प्लास्टिक टनेलभित्र अङ्गुरका दुई बोट रोपेकी थिइन्। ती बोटले उत्पादन दिन थालेपछि उनी अहिले खेती विस्तार गर्ने योजनामा जुटेकी छन्।

विगत वर्षमा घरैबाट प्रतिकिलो ४ सय ५० देखि ५ सय रुपैयाँका दरले ३५ हजार रुपैयाँको अङ्गुर बिक्री भएको थियो। यसपालि बोटमा दाना बढी लागेकाले उत्पादन अझै बढ्ने अनुमान रेग्मीले गरेकी छन्।

अङ्गुरको दाना पाक्ने समयसम्म बोटमै टिकेमा कृषि प्राविधिकहरूसँग सल्लाह गरेर थप जमिनमा खेती फैलाउने उनको सोच छ। दुई छोरालाई उच्च शिक्षाका लागि काठमाडौँ पठाएपछि उनी गाउँमै कृषि उद्यममा होमिएकी हुन्।

धानखेती हुने खेतमा सुन्तलाका बिरुवा लगाउँदा सुरुमा छिमेकीहरूले असफलताको शङ्का गरेका थिए। अहिले उनको बगैँचामा ७ सय ५० सुन्तला र कागतीका बोट हुर्किएका छन्।

गएको वर्ष मात्रै ४ लाख ८० हजार रुपैयाँको सुन्तला बिक्री भएको उनले बताइन्। रेग्मीले प्लास्टिक टनेल भित्र अङ्गुरसँगै टमाटर र सुन्तला बगैँचाभित्र सिमीखेती समेत गरेकी छन्।

कृषि फार्मबाट वार्षिक १० देखि १२ लाख रुपैयाँ बचत हुन थालेपछि विगतमा आलोचना गर्नेहरू अचेल दङ्ग परेका छन्। रेग्मीकै सिको गरेर अहिले धेरैजसो लुप्राङवासीले परम्परागत खाद्यान्न बालीको विकल्पमा सुन्तलाखेती सुरु गरेका छन्।

उनको यो व्यावसायिक यात्रामा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र जलजला गाउँपालिका लगायतका निकायले प्रविधि तथा तालिममा सहयोग गरेका छन्। वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रमले व्यावसायिक योजना बनाउन र प्रदर्शनीमा समेत सघाएको छ।

उत्पादित अङ्गुर गाउँमै खपत भए पनि सुन्तला पोखरा र तरकारी कुश्माको बजारमा पठाउने गरिएको छ। नाग्लिवाङ हुँदै लुप्राङ जोड्ने सडक स्तरोन्नति नहुँदा उपज बजार पुर्‍याउन निकै समस्या भएको रेग्मीले गुनासो गरिन्।

सडकको असुविधासँगै गाउँमा बाँदरको आतङ्क कृषि क्षेत्रको अर्को ठुलो चुनौती बनेको छ। त्यस्तै गत जेठ १२ गते परेको असिनापानीले खाद्यान्न, सुन्तला र तरकारी बालीमा ठुलो क्षति पुर्‍याउँदा किसानहरू चिन्तित बनेका छन्।

तपाईको प्रतिक्रिया

Advertisement