चट्टान र लेदोले थुनिएको मर्स्याङ्दी खोल्न एक्साभेटर परिचालन

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

मनाङ १३ अशोज २०८३ – अविरल वर्षापछि घट्टेखोलामा आएको लेदोसहितको ढुंगा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्ने काम सुरु गरिएको छ। नदी थुनिएर बनेको तालबाट पानी आंशिक रूपमा बग्न थालेपछि उपलब्ध एक्साभेटरलगायतका साधन प्रयोग गरी नदीको बहाव थप सहज बनाउने काम थालिएको हो।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार नदीको धार परिवर्तन गरेर पानी आंशिक रूपमा बगिरहेको छ। सडक सम्पर्कसमेत अवरुद्ध रहेकाले स्थानीयस्तरमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर नदी खोल्ने काम अघि बढाइएको उनले बताए।

“धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ। यहाँ उपलब्ध एक्साभेटरलगायतका सामग्री उपयोग गरी केही मात्रामा काम सुरु भएको छ,” पौडेलले भने, “ठूला चट्टान फुटाउनुपर्ने देखिएको छ। यसका लागि तयारी पनि भइरहेको छ।”

पुलमाथिबाटै नदीले धार परिवर्तन गरेकाले आसपासका केही घर डुबानमा परेका छन्। चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार स्थानीय स्रोतसाधन प्रयोग गरेर नदीको बहाव खुलाउन सके प्रभावित बस्तीका स्थानीयलाई छिट्टै घर फर्काउन सकिने अवस्था बन्नेछ।

ठूला चट्टान फुटाउँदा नदीको तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले त्यसतर्फ पनि सावधानी अपनाउनुपर्ने उनले बताए। एक्साभेटरबाट नदीमा अड्किएका ढुंगा हटाउन सकिए तटीय क्षेत्रमा हुने क्षति घटाउन सकिने उनको भनाइ छ।

लमजुङ हिमालबाट आउने घट्टेखोलामा लेदोसहितका ठूला ढुंगा खसेपछि मर्स्याङ्दी नदी थुनिएको हो। नदीको बहावलाई पुरानै अवस्थामा फर्काउन आवश्यक परे सुरक्षित ढंगले चट्टान हटाउने विषयमा समेत अध्ययन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। यसअघि नदी थुनिएपछि सम्भावित जोखिमलाई ध्यान दिँदै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो।

बाढी र पहिरोका कारण मनाङमा विद्युत्, खानेपानी, टेलिफोन र इन्टरनेट सेवा प्रभावित भएका छन्। सडक सञ्जालसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। नासों गाउँपालिकाको हुम्दे क्षेत्रमा बाढी र पहिरोका कारण घर तथा बस्तीमा पानी र हिलो पसेको छ।

सब्जे खोलाबाट सञ्चालनमा रहेको लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति पुगेपछि विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण ठाडो खोला र घट्टेखोलामा आएको बाढीले आसपासका घर, पुल र सडकमा क्षति पुर्‍याएको छ।

यसअघि २०७८ सालमा पनि घट्टेखोला, ठाडो खोला र मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्‍याएको थियो। अहिले पनि नदीको बहाव पूर्ण रूपमा सामान्य नभएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

Advertisement