डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार बन्द

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

काठमाडौँ ५ आश्विन २०८३,।

नेपाली शेयर बजारमा आज नियमित कारोबार नहुने भएको छ। नेपाल स्टक एक्सचेन्जले डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान नभएपछि आजको कारोबार सत्र स्थगित गरेको हो।

नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा सार्वजनिक गरिएको बिदासम्बन्धी विवरणमा आजको दिन ‘आकस्मिक बजार बन्द’ उल्लेख गरिएको छ।

नेपाल स्टक एक्सचेन्जका ७२ कारोबार सदस्य कम्पनीका सर्भर रहेको डाटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि प्रयास जारी रहे पनि हालसम्म पूर्ण रूपमा समाधान हुन नसकेको जनाइएको छ।

यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेपाल स्टक एक्सचेन्जको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएपछि आजको नियमित कारोबार स्थगित गरिएको हो।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि डाटा सेन्टरको समस्या तत्काल समाधान नभएको अवस्थामा कारोबार सञ्चालन गर्दा थप प्राविधिक क्षति हुन सक्ने भन्दै आजको कारोबार सत्र स्थगित गर्न नेपाल स्टक एक्सचेन्जसमक्ष निवेदन दिएको थियो।

ब्रोकरको निवेदन तथा विद्यमान प्राविधिक अवस्थालाई ध्यानमा राख्दै नेपाल स्टक एक्सचेन्जले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ को उपनियम १ बमोजिम आजको कारोबार स्थगित गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया