४ अर्ब ६० करोडको जाल्दीगाड जलविद्युतमा लगानी जुट्यो, ३ वर्षभित्र बिजुली बल्ने

Bizness Post बिजनेस पोष्ट
|
१३ घण्टा अगाडि

काठमाडौँ ०१ असोज २०८३-

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ। साङ्ग्रिला हाइड्रोपावरले प्रवर्द्धन गर्न लागेको यस आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी जुटेको हो।

३ अर्ब ३६ करोड ऋण र १ अर्ब २३ करोड स्वपुँजी

आयोजनामा राष्ट्रिय वाणिज्य बैङ्कको नेतृत्वमा नेपाल बैङ्क लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले सहवित्तीयकरण मार्फत ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन्। कुल लागतमध्ये बाँकी १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ भने प्रवर्द्धकहरूले स्वपुँजी मार्फत जुटाउनेछन्।

वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता पत्रमा साङ्ग्रिला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनालले हस्ताक्षर गरे। सम्झौता कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका सिइओ खनालले जलविद्युत आयोजना समयमै सम्पन्न हुनु नै सबैभन्दा ठुलो नाफा भएको बताए।

समयमै काम सक्नु नै सबैभन्दा ठूलो नाफा: सिइओ खनाल

समय र लागतको प्रत्यक्ष सम्बन्ध हुने भन्दै आयोजना छिटो सकिँदा बैङ्क, लगानीकर्ता र सर्वसाधारण सबैको विश्वास बढ्ने धारणा उनले राखे। प्रणाली र प्लेटफर्म बनाएर काम गर्दा त्यसले भावी पुस्तालाई समेत फाइदा पुग्ने उनको भनाइ थियो।

नेपालको सन्दर्भमा जलविद्युतमा लगानीको राम्रो सम्भावना रहेको र उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले किन्ने ग्यारेन्टी भएकाले सही व्यवस्थापनमा जोड दिन उनले आग्रह गरे। आयोजनाका प्रबन्ध सञ्चालक कृष्णप्रसाद घिमिरेले बैङ्क तथा लगानीकर्ताहरूलाई धन्यवाद दिँदै तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

आफ्नो समूहसँग यसअघि पनि समय अगावै आयोजना सम्पन्न गरेको सफल अनुभव रहेको दाबी उनले गरे। यसअघि विकास हाइड्रोपावर १८ महिनामै सम्पन्न गरेर दोस्रो वर्षमै सेयर धनीलाई १२.७३ प्रतिशत बोनस दिन सफल भएको उनले जानकारी दिए।

वाणिज्य बैंककै लगानी रहेको अर्को बूढीगण्डकी हाइड्रोपावरको काम पनि ७० प्रतिशत सकिसकेको र स्वीकृत ऋणको आधा भन्दा कम रकम प्रयोग गरेर काम भइरहेको उनले बताए। तेस्रो आयोजनाका रूपमा रहेको जाल्दीगाडमा लगानीकर्ताले कुनै चिन्ता लिनुनपर्ने उनले स्पष्ट पारे।

सुरुङमा आधारित रहेको यस आयोजनालाई ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। जाल्दीगाड नदीमा निर्माण हुने आयोजनाको निर्माण अवधि ३३ महिना तोकिएको छ भने यसबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ।

यस समूहले निर्माण गरेको गोरखाको ४.५५ मेगावाटको विकास हाइड्रोपावर हाल आईपीओमा सूचीकृत भइसकेको छ। गोरखामा नै निर्माणाधीन ४.६ मेगावाटको बूढीगण्डकी हाइड्रोपावर आगामी ६ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया