एभरेष्ट बैंकको नाफा ४.७५ प्रतिशतले बढ्यो, लाभांश क्षमता ३८.३२ प्रतिशत

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौं २० श्रावण २०८३।

एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ५ अर्बभन्दा बढी खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ४.७५ प्रतिशतले वृद्धि भएर ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ पुगेको हो।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा भने सामान्य वृद्धि भएको छ। गत असार मसान्तसम्म यस्तो आम्दानी ०.९६ प्रतिशतले बढेर ९ अर्ब १९ करोड ४ लाख ५९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १० करोड २३ लाख २४ हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिसनबाट १ अर्ब ९४ करोड ७२ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी ११ अर्ब ८६ करोड ४६ लाख २५ हजार रुपैयाँ र सञ्चालन नाफा ७ अर्ब ३८ करोड ४४ लाख ५२ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो आर्थिक वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५३ करोड ४ लाख ९७ हजार रुपैयाँ रहेको थियो। सो अवधिमा कुल सञ्चालन आम्दानी ११ अर्ब १७ करोड ६ लाख १७ हजार रुपैयाँ र सञ्चालन नाफा ७ अर्ब ३४ करोड ८४ लाख १७ हजार रुपैयाँ थियो।

लाभांश क्षमता ३८.३२ प्रतिशत

एभरेष्ट बैंकको वितरणयोग्य नाफा गत आर्थिक वर्षमा ५ अर्ब २५ करोड ७८ लाख १५ हजार रुपैयाँ पुगेको छ। यसले बैंकको लाभांश वितरण क्षमता ३८.३२ प्रतिशत रहेको देखाउँछ।

बैंकको चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ रहेको छ। यस्तै, जगेडा कोषमा १५ अर्ब ७२ करोड ७८ लाख २५ हजार रुपैयाँ सञ्चित रहेको छ।

निक्षेप र कर्जा दुवै बढ्यो

बैंकले गत आर्थिक वर्षमा निक्षेप तथा कर्जा लगानी दुवै विस्तार गरेको छ। असार मसान्तसम्म बैंकको निक्षेप संकलन ५.७५ प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब १ लाख ८५ हजार रुपैयाँ पुगेको छ।

यसैगरी कर्जा लगानी १०.३६ प्रतिशतले वृद्धि भएर २ खर्ब ३५ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंकसँग २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप थियो भने कर्जा लगानी २ खर्ब १३ अर्ब ४३ करोड ८४ लाख रुपैयाँ रहेको थियो।

गत असारसम्म बैंकको निक्षेप–कर्जा अनुपात ७७.५७ प्रतिशत कायम भएको छ।

ईपीएसमा भने सामान्य गिरावट

खुद नाफा वृद्धि भए पनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा भने केही कमी आएको छ। अघिल्लो आर्थिक वर्षमा ३७.३९ रुपैयाँ रहेको ईपीएस गत आर्थिक वर्षमा ३६.९५ रुपैयाँमा झरेको छ।

बैंकको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १८.८१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २५६.४७ रुपैयाँ कायम भएको छ।

यता, बैंकको खराब कर्जा (एनपीएल) भने बढेको छ। अघिल्लो आर्थिक वर्षको ०.३८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर गत असार मसान्तमा ०.४९ प्रतिशत पुगेको वित्तीय विवरणले देखाएको छ।

तपाईको प्रतिक्रिया

Advertisement