विवेकको उज्यालोमा मापन हुने सफलता

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि
 तोमनाथ उप्रेती

मानव सभ्यताको इतिहास हेर्दा एउटा रोचक तथ्य देखिन्छ हरेक युगले सफलताको आफ्नै परिभाषा निर्माण गरेको छ। कुनै समय युद्ध जित्ने व्यक्ति सफल मानिन्थ्यो। कुनै समय विशाल साम्राज्य निर्माण गर्ने व्यक्ति सफल ठानिन्थ्यो। आधुनिक युगमा सफलता प्रायः धन, पद, शक्ति, प्रतिष्ठा र लोकप्रियतासँग जोडिएको छ। मानिसको मूल्य उसको बैंक खाताको आकार, उसको पदको उचाइ वा उसको सामाजिक प्रभावको आधारमा मापन गरिन्छ। तर प्रश्न उठ्छ के सफलता यति मात्र हो? के मानिसको सम्पूर्ण मूल्य बाह्य उपलब्धिहरूले निर्धारण गर्न सक्छन्?
दार्शनिक दृष्टिले हेर्दा सफलता कुनै बाह्य उपलब्धिको अन्तिम बिन्दु होइन। सफलता एउटा आन्तरिक अवस्था हो। यो मानिसले प्राप्त गरेको सम्पत्तिमा होइन, उसले विकास गरेको चेतनामा निहित हुन्छ। यही चेतनाको परिष्कृत रूप हो विवेक। विवेक त्यो प्रकाश हो, जसले सही र गलत, न्याय र अन्याय, आवश्यक र अनावश्यक, स्थायी र अस्थायीबीच भिन्नता छुट्याउन सिकाउँछ। त्यसैले वास्तविक सफलता धनको चमकमा होइन, विवेकको उज्यालोमा मापन हुन्छ।
धन जीवनका लागि आवश्यक छ। पद पनि आवश्यक हुन सक्छ। प्रतिष्ठाको पनि आफ्नै सामाजिक महत्त्व छ। तर यी सबै साधन हुन्, साध्य होइनन्। जब साधनलाई नै जीवनको अन्तिम लक्ष्य बनाइन्छ, तब मानिस बाह्य रूपमा सफल देखिए पनि भित्रबाट असन्तुष्ट हुन सक्छ। संसारमा यस्ता धेरै व्यक्तिहरू छन्, जसले अथाह सम्पत्ति कमाए, उच्च पद प्राप्त गरे, प्रसिद्धि हासिल गरे, तर अन्ततः मानसिक अशान्ति, एक्लोपन र आत्मिक रिक्तताबाट मुक्त हुन सकेनन्। यसको कारण उनीहरूले सफलता प्राप्त गरे, तर सफलताको अर्थ भने पाएनन्।
विवेक मानिसको भित्री कम्पास हो। समुद्रमा यात्रा गर्ने जहाजलाई दिशा देखाउन कम्पास आवश्यक भएझैँ जीवनको जटिल यात्रामा मानिसलाई सही मार्ग देखाउन विवेक आवश्यक हुन्छ। विवेक नभएको सफलता दिशाहीन जहाज जस्तै हो। त्यो केही समय अगाडि बढ्न सक्छ, तर अन्ततः दुर्घटनामा पर्न सक्छ। त्यसैले सफलताको पहिलो आधार नै विवेक हो।
पूर्वीय दर्शनले विवेकलाई जीवनको सर्वोच्च सम्पत्तिका रूपमा मानेको छ। उपनिषद्हरूले मानिसलाई बाह्य वस्तुहरूको मोहभन्दा माथि उठेर आत्मचिन्तन गर्न प्रेरित गर्छन्। भगवद्गीतामा पनि ज्ञान, संयम र विवेकलाई स्थायी सुखको आधार मानिएको छ। बुद्धले मानव दुःखको मूल कारण अज्ञानलाई मानेका थिए। अज्ञान हटेपछि विवेक जागृत हुन्छ र विवेक जागृत भएपछि मानिसले जीवनलाई सही दृष्टिले हेर्न सक्छ। यही दृष्टि नै सफलताको वास्तविक जग हो।
विवेकले मानिसलाई सामाजिक उत्तरदायित्वको बोध गराउँछ। धनवान हुनु ठूलो कुरा होइन धनलाई कसरी प्रयोग गरिन्छ भन्ने कुरा अझ ठूलो हो। शक्तिशाली हुनु महत्त्वपूर्ण हुन सक्छ तर त्यो शक्ति न्यायका लागि प्रयोग हुन्छ कि स्वार्थका लागि, त्यो अझ महत्त्वपूर्ण प्रश्न हो। विवेकले यही प्रश्न सोध्न सिकाउँछ। विवेकले मानिसलाई अधिकारसँगै कर्तव्यको पनि स्मरण गराउँछ।
आजको समाजमा सफलता प्रायः तुलना र प्रतिस्पर्धाको आधारमा मापन गरिन्छ। कसको घर ठूलो छ? कसको पद उच्च छ? कसको प्रभाव बढी छ? तर तुलना कहिल्यै समाप्त हुँदैन। तुलना बढ्दै जाँदा सन्तोष घट्दै जान्छ। यही कारण धेरै मानिस उपलब्धिका शिखरमा पुगेर पनि शान्ति पाउन सक्दैनन्। विवेकले भने मानिसलाई तुलना होइन, आत्ममूल्याङ्कन गर्न सिकाउँछ। यसले अरूसँग होइन, आफ्नै सम्भावनासँग प्रतिस्पर्धा गर्न प्रेरित गर्छ।
वास्तविक सफलता त्यो हो, जहाँ उपलब्धिसँगै नैतिकता पनि हुन्छ। जहाँ प्रगतिसँगै मानवता पनि हुन्छ। जहाँ शक्तिसँगै करुणा पनि हुन्छ। जहाँ ज्ञानसँगै विनम्रता पनि हुन्छ। विवेकले यी सबै गुणहरूलाई सन्तुलनमा राख्छ। विवेक बिना ज्ञान अहंकार बन्न सक्छ। विवेक बिना शक्ति दमन बन्न सक्छ। विवेक बिना सम्पत्ति शोषणको माध्यम बन्न सक्छ। त्यसैले सफलता सुरक्षित रहन पनि विवेक आवश्यक छ।
मानिसको जीवनको अन्तिम मूल्याङ्कन उसले कति कमायो भन्ने आधारमा हुँदैन। उसले कति सही निर्णय गर्‍यो, कति मानिसलाई प्रेरणा दियो, कति पीडितलाई सहारा दियो, कति न्यायको पक्षमा उभियो यिनै कुराले उसको जीवनको वास्तविक उचाइ निर्धारण गर्छन्। इतिहासले पनि अन्ततः त्यही मानिसलाई सम्झन्छ, जसले विवेकलाई धनभन्दा माथि राख्यो र सत्यलाई स्वार्थभन्दा ठूलो ठान्यो।
विवेकले मानिसलाई सीमित उपलब्धिहरूभन्दा माथि उठेर व्यापक मानवताको दृष्टि दिन्छ। विवेकवान मानिस आफूलाई मात्र सफल बनाउन चाहँदैन ऊ आफ्नो समाज, आफ्नो समुदाय र आफ्नो समयलाई पनि अर्थपूर्ण बनाउन चाहन्छ। उसको सफलता व्यक्तिगत विजयमा सीमित हुँदैन त्यो सामूहिक हितसँग जोडिन्छ। यही कारण विवेकमा आधारित सफलता दीर्घकालीन हुन्छ, जबकि बाह्य उपलब्धिमा आधारित सफलता क्षणिक हुन सक्छ।
जीवनको साँझमा पुग्दा मानिसले आफ्ना पदहरू गन्दैन। उसले आफ्नो बैंक खाताको अंक पनि गन्दैन। उसले सम्झन्छ उसले कस्तो जीवन जियो? उसले कसलाई प्रेम गर्‍यो? कसको लागि केही गर्‍यो? कस्ता मूल्यहरूको रक्षा गर्‍यो? यही प्रश्नहरूको उत्तरले उसको जीवनको वास्तविक मूल्य निर्धारण गर्छ। र यी प्रश्नहरूको सही उत्तर दिन सक्ने आधार विवेक नै हो।
आजको तीव्र गतिमा दौडिरहेको संसारलाई विवेकको झन् बढी आवश्यकता छ। प्रविधि बढेको छ, तर संवेदनशीलता घट्दै गएको छ। सूचना बढेका छन्, तर ज्ञानको गहिराइ कम हुँदै गएको छ। साधनहरू बढेका छन्, तर उद्देश्यहरू धमिला हुँदै गएका छन्।
मानव सभ्यताको इतिहास हेर्दा एउटा स्थायी सत्य प्रकट हुन्छ मानिसले बाहिरी संसारलाई जित्दै गयो, तर आफ्नो अन्तर–चेतनाको विजयमा सधैं अपूर्ण रह्यो। सम्पत्ति, पद, शक्ति र भोग–विलासले जीवनलाई क्षणिक आनन्द दिन सक्छ, तर यो तृष्णाको यात्रामा सन्तोष कहिल्यै भेटिँदैन। यही कारण शताब्दीयौँदेखि दार्शनिकहरूले भनेका छन्—सफलताको मूल आधार बाहिरी वैभव होइन, आन्तरिक विवेक हो।
समाजले सफलता भन्नासाथ पद, पैसा र लोकप्रियतालाई सम्झन्छ। करोडौँ कमाउने व्यवसायी, शक्तिशाली राजनीतिज्ञ वा चर्चित व्यक्तिलाई सफल भनिन्छ। तर यस्ता उपलब्धि समयसँगै मेटिँदै जान्छन्। पद आज छ, भोलि अरूको हातमा पर्छ। धन आज बढ्छ, भोलि नष्ट हुन्छ। लोकप्रियता त क्षणभंगुर छ एकै व्यक्तिलाई आज पूजिन्छ, भोलि आलोचना गरिन्छ।यो क्षणभंगुरता नै बाह्य सफलताको कमजोरी हो। बाहिर प्राप्त भएको शक्ति र सम्पत्तिले मानिसलाई स्थायी शान्ति दिन सक्दैन। मन अझै असन्तोषी रहन्छ, किनभने वास्तविक रिक्तता बाहिर नभई भित्र हुन्छ।
विवेक जीवनलाई ठिक र गलतबीच छुट्याउने आत्म–प्रकाश हो। उपनिषदहरूले भनेको विवेकानन्द यही हो जहाँ ज्ञानले आत्माको शुद्धता भेट्छ। विवेक भएको मानिस बाहिरी उपलब्धिले गर्व गर्दैन, न त विपत्तिले निराश हुन्छ। उसले जीवनलाई अस्थायी नभई शाश्वत दृष्टिले हेर्छ।
विवेक नै त्यो दीपक हो जसले भ्रमको अँध्यारो हटाउँछ। सम्पत्ति गुमे पनि विवेक भएको व्यक्तिको मन शान्त रहन्छ। पद खोसिए पनि उसको आत्मसम्मान डग्मगाउँदैन। बाहिरी संसारलाई विवेकले नियाल्ने हो भने सफलता भौतिक उपलब्धिमा होइन, आत्म–सन्तोषमा मापन हुन्छ।
हिन्दू दर्शनले बारम्बार चेतावनी दिएको छ धन, यश र पद क्षणिक छन् विवेक र आत्मज्ञान मात्र स्थायी छन्। भगवद्गीतामा कृष्णले अर्जुनलाई सम्झाउँछन् “कर्तव्यलाई विवेकपूर्वक गर, परिणामको मोह नगर।” यसैमा सफलता छ।बुद्धले पनि यही शिक्षा दिए मध्यमार्ग र विवेकपूर्ण दृष्टि बिना जीवन दुःखले भरिन्छ। बुद्धको त्याग बाह्य सुख–सुविधाको अस्वीकृति मात्र थिएन त्यो विवेकको खोज थियो।यसरी पूर्वीय दर्शनले हजारौँ वर्षअघि नै घोषणा गरिसकेको छ सत्य, शान्ति र सफलता विवेकमा निहित छ, धन र पदमा होइन।
आजको युग प्राविधिक चमत्कारले भरिएको छ। मानिसले चन्द्रमामा पाइला टेकेको छ, कृत्रिम बुद्धिमत्ताले अद्भुत सम्भावनाहरू खोलेको छ। तर मानिसभित्रको शान्ति भने हराउँदै गएको छ। तनाव, मानसिक अशान्ति, सामाजिक हिंसा र पर्यावरणीय संकटले जीवन असन्तुलित बनेको छ।यस असन्तुलनको कारण बाहिरी उपलब्धिको अन्धो दौड हो। सम्पत्ति र पदलाई मात्र सफलता मान्दा मानिसले विवेकको आवाज सुन्नै छाडेको छ। यसको परिणाम भ्रष्टाचार, अन्याय, आत्महत्या, नैतिक पतन बढ्दै गएको छ।
मानव जीवनको अन्तिम लक्ष्य भौतिक वैभव होइन। सम्पत्ति, पद र शक्ति जीवनलाई सजिलो बनाउन सक्छन्, तर आत्मालाई पूर्ण बनाउन सक्दैनन्। वास्तविक सफलता विवेकमा निहित छ—विवेक जसले हामीलाई असत्यभन्दा सत्य, मोहभन्दा शान्ति, अस्थायीभन्दा शाश्वततर्फ डोर्याउँछ।
त्यसैले जीवनलाई सार्थक बनाउन धन र पदभन्दा पर विवेकलाई अंगाल्नुपर्छ। विवेकको प्रकाशमा मात्र मानिसले आफूलाई, समाजलाई र सम्पूर्ण विश्वलाई नयाँ दिशा दिन सक्छ। आजको समाजमा सफलताको मापन प्रायः बाह्य वैभव — जस्तै धन, प्रतिष्ठा, पद वा सामाजिक हैसियत द्वारा गरिन्छ। महँगो गाडी, ठूला घर वा सामाजिक सञ्जालमा देखिने चकमक जीवनशैलीलाई मानिसहरूले सफलताको प्रतिमान ठान्न थालेका छन्। तर वास्तविक सफलता त्यो होइन जुन आँखाले देखिन्छ, बरु त्यो हो जुन हृदयले अनुभूति गर्छ जुन विवेक, सन्तुलन र आत्मिक परिपक्वताबाट उत्पन्न हुन्छ।
सच्चा सफलता तब प्राप्त हुन्छ जब मानिस आफूभित्रको अन्धकार चिन्दै आत्मज्ञानको प्रकाशतर्फ यात्रा गर्छ। बाह्य उपलब्धिहरू क्षणिक हुन्छन्; तिनीहरू समय, अवस्था र भाग्यसँग सँगै घटबढ हुन्छन्। तर आन्तरिक विवेक, धैर्य, क्षमा र करुणा स्थायी हुन्छन्। जब कोही व्यक्ति आलोचना, अपमान वा असफलताका बीच पनि आफ्नो मानसिक सन्तुलन गुमाउँदैन, तब ऊ साँच्चिकै सफल ठहरिन्छ।
भगवद्गीतामा श्रीकृष्णले भनेका छन् “स्थितप्रज्ञ व्यक्ति नै योगी हो।” अर्थात् जो बाह्य सुख-दुःख, जय-पराजय, वा निन्दा-प्रशंसामा एक समान रहन्छ, ऊ नै आध्यात्मिक रूपमा उन्नत हुन्छ। यस्तो विवेकबाट निर्देशित व्यक्ति आफ्ना कार्यहरूमा स्थिर, मर्यादित र उद्देश्ययुक्त हुन्छ।त्यसैले, जीवनको सार्थकता धनसञ्चयमा होइन, आत्मविकासमा छ। विवेकले भरिएको मन, सत्यप्रति अडिग आत्मा र प्रेमले भरिएको व्यवहारले मात्र साँचो सफलता प्राप्त हुन्छ। आन्तरिक दिव्यता सधैं झल्किरहन्छ यही नै सफलताको साँचो आधार हो।
आजको विश्व जहाँ भौतिक प्रगतिको दौड तीव्र हुँदै गएको छ, त्यहाँ आध्यात्मिक चेतनाको आवश्यकता झन् बढ्दो छ। मनोवैज्ञानिक अशान्ति, नैतिक पतन र सामाजिक तनावका बीचमा जब कोही व्यक्ति सच्चाइ, धैर्य र सहिष्णुताको बाटो समात्छ, तब उसले जीवनलाई केवल सफल मात्र होइन, सार्थक पनि बनाउँछ।
धेरै मानिसहरू आलोचना, अपमान वा अस्वीकारको सामना गर्दा मानसिक रूपमा विचलित हुन्छन्। आत्मसम्मानमा चोट पुग्दा उनीहरूको आत्मबल कमजोर हुन्छ र निराशा वा आक्रोश जन्मिन्छ। यो मानवीय स्वभाव हो, किनभने हाम्रो भावना अरूको व्यवहारसँग गाँसिएको हुन्छ। तर यस्ता अवस्था आत्मविकासको अवसर पनि हुन सक्छन्। आलोचनालाई आत्मसुधारको स्रोत बनाउन सक्ने व्यक्ति वास्तवमै आन्तरिक रूपमा बलियो बन्छ। अपमानले विनय सिकाउँछ, अस्वीकारले धैर्यको अभ्यास गराउँछ, र आलोचनाले आत्मनिरीक्षणको बाटो खोल्छ।
सफल मानिसहरू परिस्थिति वा प्रतिक्रियाबाट निर्देशित हुँदैनन्। उनीहरूले अपमानलाई रोकावट होइन, प्रेरणाको स्रोत बनाउँछन्। आलोचना तिनीहरूलाई भत्काउँदैन, बरु निर्माण गर्छ; अस्वीकारले उनीहरूको ध्येयलाई अझ दृढ बनाउँछ। यसरी नकारात्मक अनुभवले उनीहरूलाई आत्म–चिन्तन, सुधार र रूपान्तरणतर्फ डोर्याउँछ।
तर आधुनिक समाज प्रतिक्रिया प्रधान भएको छ। सामाजिक सञ्जाल र तिव्र सञ्चारका कारण सानो आलोचनाप्रति पनि आक्रोश बढ्छ। अहंकारमा बाँधिएको मानिस सानो असहमतिलाई आत्मआक्रमणजस्तै अनुभव गर्छ। यसले सहिष्णुता र संवादलाई ओझेल पार्छ। यथार्थमा, आलोचना ऐना हो जसले हाम्रो कमजोरी देखाउँछ। तर ईगोले आँखा बन्द गरिदियो भने त्यो ऐना चिन्न सकिँदैन। त्यसैले विनम्रता र विवेक आवश्यक हुन्छ।
आध्यात्मिक दृष्टिमा आलोचना आत्मपरिष्कारको साधन हो। श्रीकृष्णले गीता मार्फत भनेझैं, कर्म गर तर फलको मोह नगर। बुद्ध, गान्धी वा रामजस्ता व्यक्तित्वहरूले आलोचना र अपमानलाई आत्मशुद्धिको साधन बनाए। उनीहरूको सफलता बाहिरी प्रशंसा होइन, आन्तरिक सन्तुलनमा थियो।
साँचो आत्मसम्मान अहंकारमा होइन, आत्मबोधमा आधारित हुन्छ। जब निन्दाले आत्मनिरीक्षण बढाउँछ, अस्वीकारले विनय निर्माण गर्छ र अपमानले धैर्य सिकाउँछ त्यतिबेला आत्मिक जग बलियो हुन्छ। यही आधारमा बनेको जीवन स्थायी शान्ति, करुणा र सफलताको मन्दिर बन्छ।त्यसैले, बाहिरी वैभव वा प्रशंसाभन्दा पनि आलोचना र अपमानलाई आत्मविकासको अवसरका रूपमा ग्रहण गर्नेहरूसँग नै वास्तविक स्थायित्व हुन्छ। उनीहरूले सफलताको जग घमण्डका इँटाले होइन, चेतनाका शिलाले निर्माण गरेका हुन्छन्।
सफलता एउटा जीवनशैली हो। यस्तो जीवनशैली, जहाँ निर्णयहरू विवेकबाट निर्देशित हुन्छन्, जहाँ उपलब्धिहरू नैतिकताले सन्तुलित हुन्छन्, जहाँ महत्वाकांक्षा मानवताले मर्यादित हुन्छ, र जहाँ प्रगति आत्मिक शान्तिसँग जोडिएको हुन्छ।त्यसैले सफलताको वास्तविक मापन धन, पद वा प्रसिद्धिको तराजुमा हुँदैन। त्यो विवेकको उज्यालोमा हुन्छ। धन समयसँग हराउन सक्छ। पद परिवर्तन हुन सक्छ। प्रसिद्धि क्षणभंगुर हुन सक्छ। तर विवेकबाट निर्देशित जीवनको गरिमा कहिल्यै मर्दैन। यही गरिमा नै वास्तविक सफलता हो। यही सफलता मानिसको सबैभन्दा ठूलो उपलब्धि हो। यही सफलता जीवनलाई अर्थ, मूल्य र अमरता प्रदान गर्ने उज्यालो सत्य हो।

तपाईको प्रतिक्रिया

Advertisement