सरकारका १०० दिन : उखु किसानले १३ चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

काठमाडौं २१ असार २०८३।

चालु आर्थिक वर्षमा १३ चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँमध्ये करिब ९२ प्रतिशत रकम भुक्तानी भइसकेको सरकारले जनाएको छ ।

वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा शनिबार (असार २०) शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना गरेको पत्रकार सम्मेलनमा यसपटक आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने प्रभावकारी व्यवस्था गरिएको जानकारी दिए ।

सरकारका तर्फबाट दिइने प्रतिक्विन्टल ७० का दरको करिब एक अर्ब ५२ करोड रुपैयाँ अनुदान रकम सम्बन्धित निकायमा निकासा भई असार २५ गतेभित्र किसानको खातामा जम्मा हुने क्रममा रहेको उनले बताए ।
बैंक खाता र प्यानजस्ता प्राविधिक विवरण नमिलेका कारण रोकिएका केही किसानको बाँकी भुक्तानी समेत तत्काल हुने व्यवस्था मिलाइएको सरकारले जारी गरेको १०० दिनका उपलब्धि विवरणमा उल्लेख छ ।

कृषि बजार सूचना प्रणाली सञ्चालन एवं चिस्यान केन्द्रका निम्ति बजेट व्यवस्था गरिएको छ । कृषकलाई ‘स्वाइल हेल्थ कार्ड’ वितरण तथा माटो परीक्षणको कार्य अघि बढाइएको छ ।

कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्न तीन करोडसम्मको कृषि कर्जामा रहेको जोखिम भारलाई ७५ प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरिएको छ ।

मुलुकभरका किसानको आवश्यक विवरण संकलन गरी विद्युतीय प्रणालीमा आबद्धता गर्न कुल २५ लाख ५८ हजार १९८ संख्यामध्ये हालसम्म सात लाख ५० हजारको प्रमाणीकरण गरिएको छ ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न प्रभावित परिवारलाई राहत वितरणका साथै सोको अध्ययनको काम समेत सक्रिय रूपमा भइरहेको जनाइएको छ । रासस

तपाईको प्रतिक्रिया

Advertisement